गृहपृष्ठ मध्यपुर थिमि नगरपालिकाबाट अत्यावश्यकबाहेकका सबै सेवा एक साता बन्द
मध्यपुर थिमि नगरपालिकाबाट अत्यावश्यकबाहेकका सबै सेवा एक साता बन्द
कोरोनाका विषयमा लापर्बाही भयो : जनस्वास्थ्य अधिकृत
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा एक साताका लागि बन्द गरेको छ । नगरपालिका क्षेत्रभित्र कोरोनाभाइरस संक्रमण लगातार बढ्दै गएको जनाउँदै नगरपालिकाले सूचना जारी गरी एक साताका लागि कार्यालयअन्तर्गतका सबै सेवा बन्द गरेको हो ।
नगरपालिका कार्यालयका अनुसार असोज १ गतेदेखि ७ गतेसम्म नगरपालिकाका अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने महाशाखा प्रमुख वरिष्ठ कानुन अधिकृत केशव सिलवालले जानकारी दिए । हालसम्म मध्यपुर थिमि नगरपालिकामा ४७३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । तीमध्ये १० जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये १९३ जना रिलिज (ठिक) भएका छन् भने २७० जना उपचाररत रहेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत भागिरथ अधिकारीले जानकारी दिए । नगरपालिकाले २ हजार ५४९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गराएको उनले बताए ।
लापर्बाही भयो : जनस्वास्थ्य अधिकृत
जनस्वास्थ्य अधिकृत अधिकारीका अनुसार स्थानीय बासिन्दाको लापर्बाहीका कारण कोरोना संक्रमण थप भयावह हुनसक्ने स्थिति आएको भन्दै सतर्क रहन नगरबासीलाई आग्रह पनि गरे । ‘संक्रमितसँग कन्ट्याक्टमा आएका व्यक्तिहरु भोलिपल्टै परीक्षण गराउने र रिपोर्ट नेगेटिभ आउनेबित्तिकै बेपर्वाह हिँड्ने गरेका छन्,’ उनले भने, ‘यो सबैभन्दा खतरनाक छ, किनभने संक्रमितसँग सम्पर्क भएको व्यक्ति भोलिपल्टै परीक्षण गराएर पर्सिपल्टै नेगेटिभ रिपोर्ट आए पनि १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नैपर्छ ।’
पाँच दिनपछि टेस्ट गराए पनि नेगेटिभ आयो भने जथाभावी हिँडिहाल्न नमिल्ने जनस्वास्थ्य अधिकृत अधिकारीले जानकारी दिए । ‘परीक्षणपछि नेगेटिभ देखिएकाहरूमध्ये पनि करिब ३० प्रतिशतमा पुनः पोजेटिभ देखिन सक्ने भएकाले कन्ट्याक्टमा आएकाहरु सबै हिसाबले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नैपर्छ,’ उनले भने, ‘यसलाई गम्भीर हिसाबले नलिने हो भने स्थिति भयावह हुनसक्छ ।’
प्रकाशित समय १६:४३ बजे

















