गृहपृष्ठ महानगरपालिकाले विकास बजेट पठाएको छैन : भाइराम खड्गी
महानगरपालिकाले विकास बजेट पठाएको छैन : भाइराम खड्गी
नेपाल यतिखेर विश्वव्यापी कोरोनाभाइरस संक्रमणको सामना गरिरहेको छ । चैत ११ गतेदेखिको लकडाउनको चपेटामा परेको नेपालको आर्थिक क्षेत्र असोज १ देखि बल्ल स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा आउँदै छ । ६ महिनादेखि घरमा थन्किनुपर्दा जीविकोपार्जन कष्टकर बन्दै गएको छ । सरकारले लकडाउन र निषेधाज्ञा खुला गर्दै लामो दूरीका सवारीसाधन सञ्चालनको निर्णय गर्दै गर्दा काठमाडौं जस्ता ठूला र बढी जनघनत्व भएका सहरमा कोरोना जोखिम अझै बढ्ने देखिएको छ । यस परिप्रेक्ष्यमा स्थानीय जनप्रतिनिधिको भूमिका निकै सशक्त देखिएको छ । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालसम्म गरिएका प्रयास, संक्रमितको व्यवस्थापनलगायतका विषयमा काठमाडौं महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीसँग भूमिराज पिठातोलीले गरेको कुराकानी :
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा नम्बर २८ ले कसरी काम गरिरहेको छ ?
अहिले वडामा हामीले सबै निकायसँग समन्वयगरेर काम गरिरहेका छौं । कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिनेबित्तिकै हामी पीसीआर परीक्षण गराउँछौं । अहिलेसम्म आशंकित सबै वडाबासीको परीक्षण गराएका छौं । परीक्षणमा पोजेटिभ देखिनेबित्तिकै मानसिक परामर्श दिने र उपचारमा पठाउने गरेका छौं । कोरोना देखिनेबित्तिकै धेरै आत्तिएको पाइन्छ । उहाँहरुलाई उच्च मनोबलका साथ उपचार गराइरहेका छौं । साथै सचेतनाका अभियान पनि सञ्चालन गरिरहेका छौं ।
संक्रमितको व्यवस्थापन र उपचार कसरी गरिरहनुभएको छ ?
कोरोना संक्रमितको व्यवस्थापन हामीले सक्दो गरिरहेका छौं । महानगरको स्वास्थ्य विभागबाट आएकोटोलीलाई तीन पटकसम्म श्वासप्रश्वास परीक्षण गराइसकेका छौं । परीक्षण गर्दा १३५जनामा लक्षण देखियो ।सबैको पीसीआर परीक्षण गर्यौं । त्यसमा ३५ जनालाई कोरोना पोजेटिभ देखियो र उहाँहरुलाई होम क्वारेन्टिनमा राखेर उपचार गराइरहेका छौं ।कोरोना उपचारका लागि महानगरबाट आएको दुई लाख रुपैयाँले उहाँहरुको उपचार तथा खानाको व्यवस्थापन गरिहरेका छौं । उहाँहरुलाई भएको समस्याबारे तुरुन्तै हामीलाई खबर आउँछ । हामी सक्दो चाँडो सबै निकायसँग समन्वय गरेर व्यवस्थापन गर्ने गरेका छौं ।
सम्भावित संक्रमितहरु कसरी छनौट गर्नुहुन्छ ?
वडा नम्बर २८ मा कोरोना संक्रमितलाई छनौट गर्न पनि सजिलो भएको छ । महानगरपालिकाले स्वास्थ्यकर्मी खटाएको छ । उहाँहरु आउनुहुन्छ र सबैको सामान्य स्वास्थ्य परीक्षण गर्नुहुन्छ ।परीक्षणका क्रममा सम्भावित संक्रमित फेला परेपछि उहाँहरुको पीसीआर जाँच गर्नुहुन्छ । पीसीआरको रिपोर्ट मोबाइलमै आउने व्यवस्था गरेका छौं । रिपोर्ट उहाँहरुकै मोबाइलमा म्यासेज पठाइन्छ । पोजेटिभ आएमा उहाँहरुलाई होम क्वारेन्टिनमै बस्ने व्यवस्था गरिन्छ र स्वास्थ्यकर्मीको निगरानीमा राखिन्छ । त्यसरीनै उपचार भइरहेको छ ।
होम क्वारेन्टिनमा रहेरउपचार कतिसम्भव भइरहेको छ ?
अहिले कोरोना संक्रमितको उपचारमा चारैतिर समस्या देखिएको छ । हामीले गरेको व्यवस्थापनभन्दा बढी व्यक्तिमा संक्रमण देखिएपछि हाम्रा स्वास्थ्य संस्थाले थेग्न सक्दैन । त्यसैले होम क्वारेन्टिनको व्यवस्था गरेका छौं । यो वडामा भएका अधिकांशलाई अलग्गै बस्ने व्यवस्था पनि भएकाले घरमै बसेर उपचार पनि गराइरहेका छौं । हामी पनि होम क्वारेन्टिनमै छौं । केही संक्रमितलाई वडा नम्बर १६ को छाउनीमा बनाइएको आइसोलेसनमा पनि राखेका छौं ।
कोरोनाको कहरमा जनतासामु कसरी गइरहनुभएको छ ? के सन्देश दिइरहनुभएको छ ?
हामी अहिले जनताको घरदैलोमा जाँदा स्वास्थ्य सामग्रीको प्रयोग र दूरी कायम गरेर गइरहेका छौं । हामी वडा नम्बर २८ मा हप्तामा तीन पटक माइकिङ गर्छौं । कतिपय वडाबासी आवश्यक कामबाहेक पनि बाहिर निस्किरहनुभएको छ । उहाँहरुलाई कोरोनाबारे सचेतनाका कुरा सुनाइरहेका छौं । त्यस्तै केही समयअगाडि पसलहरु नखोल्न अनुरोध गर्दा पनि पसलहरु खुलेकै देखिएका थिए । उहाँहरुलाई पनि माइकिङ गरेर ‘आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश फैलाएर उहाँहरुलाई पनि सचेत गराएका छौं । केही समययता सामुदायिक प्रहरीमार्फत् वडाकार्यालयसहित गएर घरघरमा किटनासक औषधि छर्कने काम भइरहेको छ ।
वडाबासीबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
अहिले वडाबासीपनि हामीप्रति सकारात्मक हुनुभएको छ । कहिलेकाहीँ हामीले गाडी नै लिएर किटनासकऔषधिछर्कने र कहिले सामुदायिक प्रहरीले टोलटोलमा औषधि छर्किरहने हुँदा पनि उहाँहरु हामीप्रति खुसी हुनुहुन्छ । अहिले कतिपय वडाबासी आफैं पनि कोरोना नियन्त्रणका लागि यो काम गरौं, त्यो गरौं र सुरक्षित होऔं भनिरहनुभएको छ । अहिले वडाबासीहरु आफैं सचेत भएर पर्याप्तस्वास्थ्य सामग्री प्रयोग गरिरहनुभएको पनि पाइन्छ । वडा कार्यालयबाट पनि अहिले जनप्रतिनिधिलगायत १२-१३ जना कर्मचारीले सेवा दिइरहनुभएको छ ।
फरक प्रसंगमा जाऔंं, स्थानीय तहमा जनप्रतिनिधि भएर आएको तीन वर्ष भयो । कसरी जनताका चाहना पूरा गरिरहनुभएको छ ?
तत्कालको यो समयमाहामीलाई काम गर्न असहज भएको छ । ६ महिना भइसक्यो, कोरोनाले कामै गर्न दिएको छैन । तर, पनि विकासनिर्माणका काम हामीले सँगै अगाडि बढाइरहेका छौं ।तत्कालका लागि त विकास निर्माणभन्दा पनि कोरोना नियन्त्रणतिर लागेका छौं । हामी सबै सुरक्षित भए पो अरु काम गर्न सक्छौं भनेर कोरोना नियन्त्रणतर्फ लागेका हौं । बाँकी सेवाग्राहीलाई वडा कार्यालयबाट पनि सेवा दिइरहेका छौं ।
विकासका काममा महानगरपालिका, प्रदेश र संघीय सरकारसँग कसरी समन्वय गरिरहनुभएको छ ?
कोरोना महामारीको बेला अहिले महानगरपालिकाले विकास बजेट हामीकहाँ पठाएको छैन । अहिले भर्खर हामीलाई आएको बजेट भनेको पाँच लाख हो । प्रशासन चलाउनका लागि तीन लाख र कोरोना नियन्त्रण तथा संक्रमितको औषधिपोचारका लागि दुई लाख पठाएको छ ।कोरोना नियन्त्रणका लागि आएको त्यो दुई लाखमध्ये यहाँका कुचिकारहरुका लागि पन्जा, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गरेका छौं । बाँकी कोरोना संक्रमित बसेको होम क्वारेन्टिनका लागि खाना र उपचारमा खर्च गरिरहेका छौं ।
तपाईंहरु जिम्मेवारीमा आइसकेपछि के-के काम गर्नुभयो अहिलेसम्म ?
हामी जनप्रतिनिधि आइसकेपछि हामीले सात-आठ करोडको काम गरिसकेका छौं । ठूलो काम भनेको उपप्रमुख हरिप्रभा खड्गीको पहलमा एकदमै जाम भइरहने ढल निकास गरिसकेका छौं । ढल, बाटो र कालोपत्रेका विषयमा हामीले उपप्रमुखको पहलमा करिब ६ करोडको काम गरेका छौं । त्यसपछि फोहोर र पानीको समस्या पनि उस्तै छ । यसको व्यवस्थापनका लागि हाम्रा वडासदस्यहरु दिनहुँ खटिरहनुभएको छ ।
तीन वर्षमा मतदाताको घर कतिपटक पुग्नुभयो ?
हामी बढीभन्दा बढी समय मतदातासँगै हुन्छौँ । प्रत्येक दिन बिहान दुई घण्टा कुनै न कुनै कामले उहाँहरुसम्म पुग्नैपर्छ । उहाँहरुसँग बाटो, ढल, पानीको समस्याबारे सधैं कुराकानी भइरहन्छ । उहाँहरुले खानेपानीमा समस्या छ भन्नासाथ हामी तुरुन्त खानेपानीको कार्यालयमा निवेदन दिन्छौं । के कसरी हुन्छ जनताको चाहनाअनुसार काम गरिरहेका छौं । वडामा सामान्य केही समस्या परेमा पनि उहाँहरुले हामीलाई खबर गर्नुहुन्छ । हामी समाधानका लागि जुटिहाल्छौं ।
स्वास्थ्य निकायहरुसँग कसरी समन्वय गरिरहनुभएको छ ?
हामीले नजिकैका स्वास्थ्यसंस्थाहरुसँग समन्वय गरिहरेका छौं । नजिकै रहेको वीर अस्पतालका चिकित्सकसँग पनि छलफल हुन्छ । त्यस्तै मोडेल अस्पतालले पनि हामीलाई सहयोग गरिरहेको छ । हामीलाई यो समस्या भयो भन्नेबित्तिकै हामीलाई मोडेल अस्पतालले सहयोग गर्छ । हाम्रो वडाअन्तर्गतको पनि एउटै मोडल अस्पताल हो ।
प्रकाशित समय १४:४० बजे

















