गृहपृष्ठ चिकित्सकलाई मापदण्डविपरीत प्राध्यापकमा नियुक्त गरिएको भन्दै खारेजीको माग
चिकित्सकलाई मापदण्डविपरीत प्राध्यापकमा नियुक्त गरिएको भन्दै खारेजीको माग
गण्डकी मेडिकल कलेजमा दुई जना चिकित्सकलाई मापदण्डविपरीत प्राध्यापकमा नियुक्ति गरेको पाइएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)बाट सम्बन्धन प्राप्त चिकित्सा विषयका दुई शिक्षकलाई अनुभव र योग्यताबिना नै प्राध्यापक बनाइएको पाइएको हो ।
शिक्षकहरुलाई मापदण्डविपरीत प्राध्यापक बनाइएपछि डक्टर्स सोसाइटी अफ नेपालले पद खारेजीको माग राख्दै विरोध गरिरहेको छ । कलेजका उप-प्राध्यापक अर्थोपेडिक चिकित्सक डा. रविन्द्रप्रसाद श्रेष्ठलाई १४ महिनामै र एनेस्थेसिया चिकित्सक डा. टुमाया घलेलाई १३ महिनामै उप-प्राध्यापकबाट प्राध्यापकमा नियुक्त गरिएको सोसाइटीले जनाएको छ । प्राध्यापक नियुक्त गरिँदा त्रिभुवन विश्वविद्यालय शिक्षक नियुक्तिका आधार कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता अंक विभाजन तथा सिफरिससम्बन्धी प्रक्रिया २०५२ को उल्लंघन भएको सोसाइटीका विकास नेपालले बताए ।
एसोसिएसनले नियमविपरीत प्राध्यापक पद दिइएका दुवै जनाको पद खारेज गर्न चिकित्साशास्त्र अध्ययन संस्थान डिन कार्यालयमा माग गरेको छ । प्राध्यापक नियुक्तिमा त्रिभुवन विश्वविद्यालय शिक्षक नियुक्ति आधार कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता अंक विभाजन तथा सिफरिससम्बन्धी प्रक्रिया २०५२ को प्रावधानलाई पूर्णतः बेवास्ता गरिएको चिकित्सक नेपालले बताए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको सोसाइटीले जनाएको छ ।
प्रकाशित समय १७:५५ बजे

















