गृहपृष्ठ कोरोना महामारीमा अनलाइन शिक्षा : नयाँ अनुभवमा रमाउँदै विद्यार्थी
कोरोना महामारीमा अनलाइन शिक्षा : नयाँ अनुभवमा रमाउँदै विद्यार्थी
अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई सहयोग गर्दै
अभिभावक । (फाइल तस्बिर)
वीरेन्द्रनगर नगरपालिका- १६, गर्पन सुर्खेतकी गंगा आचार्य मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकाय सुर्खेतमा स्नातक तह तेस्रो समेष्टरमा अध्ययनरत छिन् । गत भदौमा विद्यालयले लिएको मिडट्रम परीक्षामा उनले घरमै बसेर सहभागिता जनाइन् । विद्युतको पहुँच नभएको नगरको वडामा बसेर उनले महिनाभरिको लागि ३ सय रुपैयाँको इन्टरनेट डाटा खर्च गरेर नियमित कक्षासमेत लिने गरेकी छन् । ‘मलाई नयाँ प्रविधिबाट परीक्षामा सहभागी हुन पाउँदा नयाँ अनुभव भएको छ,’ उनले भनिन्, ‘परीक्षाको सफलता एकातिर होला तर इमेल चलाउन, पीडीएफ फाइल बनाउन सिकियो ।’ उनले कोरोनाभाइरस (कोभिड- १९) को संक्रमण जोखिमका बेलामा पनि विद्यालयले विद्यार्थीहरुलाई अनलाइनमार्फत कक्षा दिएकोमा खुसी व्यक्त गरिन् ।
वीरेन्द्रनगर १ का मदन कार्कीलाई समेत विद्युतीय माध्यमबाट परीक्षा दिन पाउँदा नयाँ अनुभव भयो । अपांगता भएका उनी हिव्लचियर गुडाउँदै कक्षा लिन जान पाउँदैनथे तर अनलाइनबाटै उनले अहिले नियमित कक्षा लिएका छन् । ‘मैले कहिल्यै नियमित कक्षा लिन सकिनँ,’ उनले भने ‘घरदेखि कलेज टाढा भएकाले परीक्षाको समयमा मात्रै म सहभागी हुन्थेँ ।’ कोरोना भाइरसको जोखिमका कारण विद्यालयले अनलाइनबाटै नियमित कक्षा सञ्चालन गरेपछि आफूँलाई हुनसम्म सहज भएको कार्कीले अनुभव सुनाए । विश्वविद्यालयमा शिक्षा शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह पहिलो सेमेष्टरमा अध्ययन गर्ने उनले गत भदौमा मिडट्रम परीक्षा दिएर अन्तिम परीक्षाको तयारीमा जुटेका छन् ।
कोहलपुर नगरपालिका १० बाँकेका संगिन शर्मा पत्रकारिता गर्छन् । उनी मध्यपश्चिमाञ्च विश्वविद्यालय सुर्खेतमा पत्रकारिता विषय लिएर अध्ययनरत छन् । बाँकेबाट सुर्खेतसम्म परीक्षा दिन आउनुपर्ने झन्झटबाट मुक्ति पाएको उनको अनुभव छ । ‘प्रश्नपत्र नै प्रयोगात्मक थिए । यसले परीक्षार्थीले हलमै उपस्थित भएर लेखेकोभन्दा बढी ज्ञान दिन्छ,’ उनको बुझाइ छ । समयको मागअनुसार खुल्ला विश्वविद्यालयमा अध्ययन गरेको अनुभव आफूलाई भएको शर्माले सुनाए ।

शिक्षाविद् विद्यानाथ कोइरालाले विश्वविद्यालयले नै मान्यता दिएर अनलाइन कक्षामार्फत परीक्षा लिने भएपछि विश्वसनीयताको प्रश्न नउठ्ने बताए । ‘मनोवैज्ञानिक रुपमा विद्यार्थीहरु तयारी हुनुपर्यो,’ उनले भने, ‘पढ्नै नपाएको अवस्थामा परीक्षा कसरी दिने भन्ने समस्या त विद्यार्थीलाई हुन्छ ।’ नियमित कक्षा लिन पाएको खण्डमा यो प्रणाली राम्रो भएको उनले बताए । कोइरालाले प्रविधिमैत्री शिक्षा एकदमै राम्रो भए पनि परीक्षा लिनलाई भने तत्काल नहतारिनुपर्ने सुझाए । महामारीको समयमा विद्यार्थीहरु परीक्षा दिने मनस्थितीमा नहुन पनि सक्ने उनको भनाइ छ । ‘विश्वविद्यालयहरुले एक-दुई महिनापछि परीक्षा लिने तयारी गरेकोे भए पनि खासै केही समस्था हुने थिएन,’ उनी थप्छन्, ‘कोरोना भाइरसको संक्रमण कम भएपछि परीक्षा लिएको भए अझै राम्रो हुने थियो । ’
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले गत भदौमा अनलाइनमार्फत मिडट्रम परीक्षा लिएको थियो । विद्यालयले अन्तिम परीक्षा पनि अनलाइनमार्फत नै लिने भएको छ । विश्वविद्यालयले पहिलो चरणमा स्नातकोत्तरको तेस्रो सेमेस्टर र स्नातक तहको सातौं सेमेस्टरको परीक्षा अनलाइनबाट लिने भएको हो । परीक्षा व्यवस्थापन कार्यालयले मानविकी र सामाजिक शास्त्र संकाय, इन्जिनियरिङ संकाय, विज्ञान तथा प्रविधि संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायको तेस्रो र सातौं समेस्टरको परीक्षा अनलाइनमार्फत लिने तयारी गरेको विश्वविद्यालयका परीक्षा व्यवस्थापन कार्यालयका प्रमुुख आनन्दप्रसाद सुवेदीले जानकारी दिए । ‘विश्वविद्यालयले परीक्षाको समय तालिकासमेत प्रकाशित गरिसकेको छ । यो प्रणालीमा गत भदौ महिनामा लिइएको मिडट्रम परीक्षामा समेत सबै विद्यार्थी सहभागी भएका थिए,’ उनले भने । उनका अनुसार असोज १७ देखि कात्तिक ६ गतेसम्म परीक्षा सञ्चालनको तयारी भएको छ ।
उनले अहिले पहिलो चरणमा तेस्रो र सातौं सेमेस्टरको तह पार गर्नुपर्ने तथा शैक्षिक वर्ष पुस मसान्तमा सकिने हुँदा अनलाइनमार्फत परीक्षा लिन लागिएको बताए । अन्य सेमेस्टरको पनि मंसिर मसान्तभित्र परीक्षा लिइसक्ने गरी कार्यालयले तयारी गरेको सुवेदीले जनाए । ‘परीक्षार्थीलाई आठ घण्टाको समय दिइनेछ,’ उनले थपे, ‘बिहान ८ बजे इमेलमार्फत विद्यार्थीहरूलाई प्रश्न-पत्र पठाइनेछ । विद्यार्थीहरूले उत्तरपुस्तिका इमेलमार्फत दिउँसो ४ बजे पठाइसक्नुपर्ने व्यवस्था छ ।’ विद्यार्थीहरूले उत्तर अनिवार्य सादा कागज वा सोही साइज लाइनिङको कागजमा लेखेर कापीको स्क्यान गरी पीडीएफ फाइल पठाउनुपर्ने पहिलो चरणको परीक्षामा करिब एक हजार परीक्षार्थी सहभागी हुने बताइएको छ । यसले विद्यार्थीहरुलाई नयाँ प्रविधिसँग जोडेको छ ।
प्रकाशित समय १९:४४ बजे

















