गृहपृष्ठ देउराली-जनताले उत्पादन गर्यो कोरोनाको उपचारमा प्रयोग हुने औषधि
देउराली-जनताले उत्पादन गर्यो कोरोनाको उपचारमा प्रयोग हुने औषधि
क्लिनिकल टेस्टका लागि सरकारबाट स्वीकृति प्राप्त
देउराली-जनता फर्मास्युटिकल्स प्रालिले कोरोनाभाइरस (कोभिड १९) संक्रमितको उपचारमा प्रयोग हुने फाभिर-२०० औषधि उत्पादन गरेको छ । कम्पनीले विश्वका धेरै देशले कोभिड(१९ संक्रमितको उपचारमा अत्यावश्यक प्रयोग गर्न सकिने फाभिर-२०० उत्पादन गरेको हो ।
औषधी व्यवस्था विभागबाट अनुमति लिएर औषधि उत्पादन गरेको देउराली-जनताले कोभिड १९ संक्रमतिको उपचारमा क्लिनिकल अध्ययन प्रयोजनका लागि उपलब्ध गराउने गरी विभागबाट असोज ६ गते स्वीकृति पाइसकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तत्वावधानमा कोभिड-१९ संक्रमितको उपचारका लागि फाभिर-२०० औषधीलाई ‘इन्भेस्टिगेसनल ड्रग फर इमर्जेन्सी युज’का लागि क्लिनिकल अध्ययन गरी नेपाली बिरामीमै त्यसको प्रभावकारिता अध्ययन गर्न सहकार्य गर्ने तयारी भइसकेको कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिए । औषधी कोभिड-१९ का बिरामीको उपचारका लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ उपलब्ध हुनेगरी विभागबाट स्वीकृति प्राप्त भएको हो ।
कम्पनीमा कार्यरत स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकको ६ महिनादेखिको निरन्तरको मेहनतबाट औषधी उत्पादन सम्भव भएको कम्पनीले जनाएको छ ।
हालसम्म जापान, चीन, रुस, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशले कोभिड १९ का बिरामीको उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन् ।
प्रकाशित समय १८:२९ बजे

















