गृहपृष्ठ ‘प्रधानमन्त्रीज्यू ! हेक्का रहोस्, नेकपाको सचिवालय संवैधानिक परिषद् होइन’
‘प्रधानमन्त्रीज्यू ! हेक्का रहोस्, नेकपाको सचिवालय संवैधानिक परिषद् होइन’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । ‘लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मूल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन,’ कांग्रेसको धारणा छ ।
बिहीबार कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिम भनिएको छ, ‘संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरियो । अध्यादेशमार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरियो । नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रूपमा आफुलाई संलग्न गरायो, त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ ।’
संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई सजग गराउँदै नेपाली कांग्रेसले सार्वजनिक रुपले अपील र आग्रह गरेको छ ।
प्रकाशित समय १८:४१ बजे

















