गृहपृष्ठ अर्थशास्त्रमा ‘कुलमान’ बहस

अर्थशास्त्रमा ‘कुलमान’ बहस

कक्षा कोठामा प्रवेश गर्नेबित्तिकै म आजको विषयवस्तु ‘अर्थशास्त्रको प्रकृति’ मा व्याख्यान गर्न लागेँ । अर्थशास्त्र कस्तो प्रकृतिको विषय हो भन्ने बहसमा अर्थशास्त्रीबीच एकमत छैन । केही अर्थशास्त्रीले यसलाई एउटा विशुद्ध विज्ञानको रुपमा मात्र व्याख्या गरेका छन् भने केहीले अर्थशास्त्र विज्ञानमात्र नभएर कला पनि हो भनेर आफ्नो तर्क पेस गरेका छन ।

यति मात्र के भन्दै थिएँ, एक जना विद्यार्थीले सोधे- ‘ सर ! कला भनेको के हो र अर्थशास्त्रलाई कसरी कला हो भन्न सकिन्छ ?’

मैले भनेँ, ‘कला’लाई रचनात्मक गतिविधिसँग तुलना गर्न सकिन्छ । जब हामीले प्राप्त गरेको ज्ञानलाई व्यावहारिक रुपमा कुनै समस्या समाधान गर्नमा प्रयोग गरिन्छ भने त्यो नै ‘कला’ हो । यो एउटा नयाँ सिर्जना अर्थात् रचना हो, जसले कुनै पनि समस्या समाधान गर्न मद्दत गर्छ र हरेकलाई नयाँ अनुभूतिको आभाष गराउँछ । कुनै पनि मुलुकको अर्थतन्त्रमा विभिन्न प्रकारका आर्थिक समस्या देखा पर्न सक्छन् जस्तै: गरिबी, बेरोजगारी, असमनता, मन्दी आदि । यी समस्याको समाधान विश्वव्यापी रुपमा प्रयोग भएका नीति र योजनाबाट मात्र सम्भव नहुन सक्छ । तसर्थ, यस्ता आर्थिक समस्या समाधान गर्न, आफ्नै माटो सुहाउँदो नयाँ योजनाको सिर्जना गर्नुपर्ने हुनसक्छ । जब कुनै समस्या समाधान गर्न नयाँ रचनात्मक सिर्जना गरिन्छ, त्यसलाई ‘कला’ भनिन्छ ।’

यत्तिकैमा अर्का विद्यार्थीले प्रश्न गरे- ‘सर ! हाम्रो देशमा लोडसेडिङ हटाउन जुन भूमिका कुलमान घिसिङले खेल्नुभयो, के त्यो पनि अर्थशास्त्रमा भनिएको जस्तै ‘कला’ हो ?’

मैले अप्रत्यासित प्रश्नको सामना गर्नुपर्‍यो । तत्काल उत्तर दिनु थियो । भनेँ- ‘अँ त्यस्तै-त्यस्तै हो ।’

आफैँले आफैँलाई मनमनै प्रश्न गरेँ– ‘के कुलमानले देखाएको कार्यक्षमतालाई अर्थशास्त्रसँग सम्बन्धित ‘कला’ को रुपमा परिभाषित गर्न सकिन्छ त ! के गरेका थिए त कुलमानले ?’

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा चार वर्षे कार्यकाल सकिएपछि भदौ ३१ गते अवकास पाए । कार्यकारी निर्देशक पदमा चार वर्ष बिताएका घिसिङले प्राधिकरणमा भने २६ वर्ष सेवा गरे । नेपालीहरुले झेल्दै आएको लोडसेडिङ समस्याको अन्त्य गर्नमा सबैभन्दा धेरै जस उनलाई नै दिइन्छ । नेपालको इतिहासमा एउटा सरकारी कर्मचारीले अवकास प्राप्त गर्दा यति धेरै चर्चा सायदै कसैको भएको थियो होला । उनले आफ्नो कार्यकाल सुरु गर्नुअघि प्राधिकरणको आव २०७२/७३ सम्ममा सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक आक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनतामात्रै ग्रिडको विद्युत पहुँचमा थिए ।

अर्थशास्त्री टिके मेहेताका अनुसार ज्ञान विज्ञान हो, कार्य कला हो । आफूले प्राप्त गरेको ज्ञानलाई सही तरिकाले व्यवहारमा उतार्न सक्ने क्षमता नै ‘कला’ हो । कुलमानले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो । त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो । दोस्रो वर्ष २ अर्ब ८५ करोड, तेस्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वर्षमा नाफा बढेर ११ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

कुनै बेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकरण सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्थान बनेर इतिहास बनाउन सफल भयो । चालू आवको बजेटमा प्राधिकरणको नाफा ११ अर्बभन्दा बढी रहने प्रक्षेपण गरिएको छ । ऋणात्मक रहेको सञ्चित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेकोमा आव ०७६/ ७७मा प्राधिकरणले सम्पूर्ण सञ्चित नोक्सानीलाई शून्यमा झार्दै करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भयो । सरकारको नीति तथा कार्यक्रमअनुसार प्राधिकरणले इतिहासमा पहिलोपटक उपभोक्ताको महसुल घटायो । अर्कोतर्फ वर्षौंदेखि करोडौँ रुपैयाँ खर्च गरी खरिद गर्ने गरिएका इन्भर्टर, जेनेरेटर, डिजेल तथा अन्य विद्दुतीय सामग्रीको आयात लगभग ठप्प भयो । यसले गर्दा देशको व्यापार घाटा केही हदसम्म न्यूनीकरण भयो । यी आर्थिक पाटाहरुबाहेक मानव जीवनका मानसिक, सामाजिक, सांस्कृतिक, राजनीतिक आदि पक्षमा समेत सकारात्मक छाप छोड्न सफल भयो ।

नव-शास्त्रीय अर्थशास्त्रीहरू मार्सल, पिगु आदिले अर्थशास्त्रमा ‘कला’ पक्षलाई बढी जोड दिएका छन् ।

नव-शास्त्रीय अर्थशास्त्रीहरू मार्सल, पिगु आदिले अर्थशास्त्रमा ‘कला’ पक्षलाई बढी जोड दिएका छन् । उनीहरुले कुनै उद्देश्य प्रप्तिका लागि ज्ञानको व्यावहारिक प्रयोगलाई ‘कला’को रुपमा परिभाषित गरेका छन् । वास्तविक मानव जीवनको कल्याणमा यसले महत्वपूर्ण भूमिका खेल्छ भन्ने उनीहरुको धारणा छ । अर्थशास्त्र हरपल एउटा कुरामा चिन्तित रहन्छ, त्यो हो सीमित स्रोत र साधन तथा यसको प्रयोग ।

मानिसका आवश्यकताहरुको तुलनामा, यसलाई परिपूर्ति गर्न चाहिने स्रोत तथा साधनको उपलब्धता सीमित छ । तसर्थ, सीमित स्रोत तथा साधनको प्रयोग आदर्शतम हुनुपर्छ भन्ने अर्थशास्त्रको मान्यता हुन्छ । विभिन्न समयमा विभिन्न अर्थशास्त्रीहरु कौटिल्यदेखि एडम स्मिथ, मार्सल, रविन्स, जेएम किन्स, स्यामुल्सन, हेरोड-डोमार आदिले प्रतिपादन गरेका अर्थशास्त्रका नियम तथा सिद्धान्तहरुको मूल उद्देश्य नै सीमित साधनहरुको उचित प्रयोगबाट कसरी धेरैभन्दा धेरैले अधिकतम लाभ लिन सक्छन् भन्ने नै हो । यसका लागि ज्ञानको व्यावहारिक प्रयोगले महत्त्वपूर्ण भूमिका खेल्छ । छिमिकी राष्ट्र भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री नितिश कुमार छोटो समयमै बिहारको अर्थतन्त्रमा नाटकीय रुपमा सकारात्मक परिवर्तन ल्याउन सफल भएका थिए । यसको जस उनले प्रयोग गरेको व्यावहारिक ज्ञानलाई नै दिने गरिन्छ ।

सरकारले २०७३ साल भदौ २९ गते कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभन्दा पहिले वर्षातको समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनुपरेको र हिउँदमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । यस्तो हुनुको पछाडि प्राधिकरणको सजिलो उत्तर के थियो भने- ‘हाम्रो देशमा कुल विद्युतको माग १२०० मेगावाट छ तर आपूर्ति अधिकतम् ६५० मेगावाट छ । यसरी माग र पूर्तिबीचको असन्तुलनले गर्दा हामी लोडसेडिङ भोग्न बाध्य छौँ ।’ यही कुरामा सबै जनता सहमत भएर चुपचाप अँध्यारो खरिद गरिरहेका थिए भने सरकार अँध्यारो बेचिरहेको थियो । एकातर्फ बाट हेर्दा उनीहरुको तर्क ठिकै पनि हो किनकि तथ्यमा कुरा गर्दा समस्याको समाधान त्यो बेलामात्र हुनसक्छ, जति बेला माग र पूर्तिबीच सन्तुलन हुन्छ । नेपाली जनता यही घडीको प्रतीक्षामा अन्धकारमा दिन बिताइरहेका थिए ।

कुलमान घिसिङ प्राधिकरणमा प्रवेश गरेकै वर्ष २०७३ को लक्ष्मीपूजाको दिन नेपाली जनताले नयाँ अनुभूति गर्न पाए । यसरी दुई-तीन महिनाकै अन्तरमा हरेक नेपालीको भान्सासँग जोडिएको समस्या समाधान उन्मुखतिर लग्नु र कसैले कल्पना पनि नगरेको नयाँ अनुभूति दिलाउन सक्नुमा उहाँकै शब्दमा ‘इमानदारीपूर्वक समग्र व्यवस्थापन’ (Integrated resource management with integrity) लाई मान्न सकिन्छ । यसरी सीमित स्रोत तथा साधनको आदर्शतम् प्रयोगबाट समस्याको समाधान गरी धेरैभन्दा धेरैको हित एवं कल्याणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको काविल व्यवस्थापनलाई ‘कला’को रुपमा व्याख्या गर्न कुनै कन्जुस्याइँ गर्न हुँदैन जस्तो लाग्छ ।

यो पनि पढ्नुहोस्

कृषिमा पैंचोनीति

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु