गृहपृष्ठ ललितपुर, गोदावरी र महालक्ष्मी नगरपालिका प्रमुखलाई कोरोना
ललितपुर, गोदावरी र महालक्ष्मी नगरपालिका प्रमुखलाई कोरोना
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि दिनुभएकामा आज कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । नगर प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेसनमा छन् । उनको परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ ।
आजै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनका पत्नी गंगामायालाई कोरोना संक्रमण पुष्टि भएको छ । असोज ६ गते उनीहरुले स्वाब संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाइएकोमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल महर्जन दम्पती होम आइसोलेसनमा छन् । गाह्रो भयो भने मात्र अस्पताल जाने उनले बताए । ‘मसँग सम्पर्कमा रहेर शंका लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध भनेको छु,’ उनले भने ।
यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना संक्रमण पुष्टिसहित नतिजा आएको छ । उनीहरु हाल दुवैले ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका छन् । (रासस)
प्रकाशित समय १८:५६ बजे

















