गृहपृष्ठ नेपालको निकुञ्ज पर्यटन र रौनकविहीन विश्व पर्यटन दिवस
नेपालको निकुञ्ज पर्यटन र रौनकविहीन विश्व पर्यटन दिवस
विश्वमा समयको गतिसँगै विभिन्न सेवामुलक क्षेत्रमा विविधीकरणले व्यापक रुप लिएको छ । त्यस्तै नेपालमा पनि हाल आएर पर्यटन क्षेत्रमा विविधीकरण भएको मान्न सकिन्छ । यसले हाल व्यापक रुपसमेत लिएको छ भन्दा फरक पर्दैन । पर्यटनमा विविधीकरणको प्रसंगमा भन्ने हो भने, मरुभूमिको देश युनाइटेड अरब इमिरेट्स (युएई)जस्तो देशमा कृत्रिम हिऊँको ढिस्को निर्माण गरेर स्की पर्यटनलाई व्यापक रुपमा फैलाइएको छ/प्रचारप्रसार गरिएको छ । खास गरी यो काम युनाइटेड अरब इमिरेट्स (युएई)को पनि दुबई स्टेट (राज्य)ले गरेको छ । यसरी हेर्दा मरुभूमिको देशमा कृत्रिम हिऊँको ढिस्को नै सही, त्यहाँ स्की गर्न/खेल्न युरोपीय देशहरुबाट समेत स्की खेलमा सौख भएकाहरुको भीड लाग्ने गरेको छ ।
यसरी मरुभूमिको देशमा समेत स्की पर्यटनले गति लिएको देख्दा हामीले (कम्तीमा यो पंक्तिकारले) इष्र्या गर्न नै त भनी नहालौं तर हाम्रोजस्तो भूपरिवेष्ठित देश नेपालमा पनि युएईमा जस्तै कृत्रिम समुन्द्र बनाएर नांगा-भुतुंगा पर्यटकहरुको भीड लगाउन पाए कस्तो हुँदो हो ? तर नेपालमा हालसम्म त्यस्तो सम्भावनाका बारेमा कसैले अध्ययन-अनुसन्धान गरेको देखिएको/सुनेको छैन ।
जे होस्, नेपाल पनि पर्यटनका लागि अनेकौं सम्भावना भएका विश्वका केही देशहरु मध्येमा पर्छ । चाहे त्यो भौगोलिक हिसाबले होस्, चाहे त्यो जातीय विविधताको हिसाबले होस् । वा, चाहे त्यो भाषिक विविधताको हिसाबले नै किन नहोस । सांस्कृतिक, जैविक, हावापानीलगायत अनेक विविधतायुक्त हाम्रो देश नेपालमा पर्यटकीय सम्भावना प्रचुर छ ।
विश्वका एकसे एक देशसँग दाँज्न सकिने सम्पदा र सम्भावनाहरु हाम्रो देश नेपालमा छ । यसरी पर्यटन क्षेत्रमा आएको विविधीकरण सँगसँगै आएको पर्यटकहरुलाई नयाँपन दिने लहरले गर्दा हाल विश्वका सौखिन पर्यटकहरु रोजी-छानी आफ्नो गन्तव्य फेर्न थालेका छन् । त्यसैले त विश्वका अनेकौं देशहरुले पर्यटकहरुलाई अनेकौं खालका सेवा सुविधाहरु दिइरहेका छन् । पर्यटन व्यवसाय गरिहेका छन् । र, विविधखाले पर्यटनले फस्टाउने अवसर पाएको छ ।
त्यस्तै नेपालमा पनि हिमाल आरोहण, बन्जी जम्प, साइक्लिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ हाइकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वास्थ्य उपचार पर्यटन (उपचार गर्न नेपाल आउने विदेशीहरु), सिटी टुर, सांस्कृतिक अध्ययन, सामाजिक अध्ययन, जातजाति विशेषको धर्म र संस्कृति, भाषा आदिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, शिकार पर्यटन, चरा पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन, सफारी पर्यटन, वन्यजन्तु अध्ययन-अनुसन्धान पर्यटन आदि इत्यादिको सम्भावना धेरै नै छ । यहाँ चर्चा गर्न खोजिएको विषयचाहिँ विश्व पर्यटन दिवस र निकुञ्ज पर्यटनका बारेमा हो ।
मान्छेहरुले स्वीकारे पनि नस्वीकारे पनि वास्तवमा निकुञ्ज पर्यटन पनि हामी नेपालीहरुका लागि अझ खासगरी ग्रामीण भेगका नेपालीहरुका लागि आर्थिक आधार स्तम्भको रुपमा रहेको छ भन्दा अत्युक्ति हुँदैन । किनभने अधिकांश निकुञ्जहरु गाउँघरका आसपासमा छन् । जे होस्, हालसम्म नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज , शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज लगायतका लगभग एक दर्जनको हाराहारीमा राष्ट्रिय निकुञ्जहरु भए तापनि आम्दानी र पर्यटकहरुले भ्रमण गर्ने गरेको संख्याको हिसाबले हेर्दा सगरमाथा राष्टिय निकुन्ज, लाङटाङ राष्टिय निकुन्ज र, चितवन राष्टिय निकुन्जलाई नै निकुञ्ज पर्यटनको आधारस्तम्भ मान्नु पर्ने हुन्छ ।
हुन त नेपालको सन्दर्भमा पर्यटनको बारेमा कुरो गर्दा हरेक क्षेत्रमा विदेशीहरुको सुरुवाती योगदान रहेको देखिन्छ । चाहे त्यो आधुनिक होटल व्यवसाय होस् वा पदयात्रा पर्यटन होस् अथवा हिमाल आरोहण नै किन नहोस् । आधुनिक र सुविधा सम्पन्न होटलको सन्दर्भमा भन्नु पर्दा तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचले काठमाडौंमा अहिले निर्वाचन आयोग भएको बहादुर भवनमा पहिलोपटक ‘रोयल होटल’ नामक होटल खोलेपछि नेपाल आउने विदेशी पर्यटकहरुले आधुनिक होटलको सेवा लिने आधारस्तम्भ खडा भएको मानिन्छ । वास्तवमा तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचलाई नेपालको पर्यटन क्षेत्रको पनि विशेषतः होटल व्यवसायमा नेपालीहरुलाई कखरा सिकाउने पहिलो व्यक्ति हुन् ।
त्यस्तै नेपालमा निकुञ्ज पर्यटनको आधारस्तम्भ खडा हुनुमा पनि विदेशी नागरिककै हात छ । सन् १९६० को दशकमा बेलायतका नागरिक जिम एडवर्डसले पहिलोपटक चितवनमा ‘टाइगर टप्स’ नामक होटल खोलेर निकुञ्ज क्षेत्रमा होटल खोलेर व्यवसायको थालनी गरेका थिए । वास्तवमा हाल आएर चितवन जिल्लाको सौराहा क्षेत्र र वरिपरि देशकै एउटा उदाहरणीय निकुञ्ज पर्यटनस्थल हुनुमा उनै जिम एडवर्डसको ठूलो वा महत्वपूर्ण योगदान छ भन्दा कसैले नकार्न सक्दैन । भलै वातावरणको नाममा ‘डलर हजम’ गर्न पल्केका कथित् वातावरणविदहरुले बिना विकल्प त्यहाँ रहेका होटलहरु बन्द गर्नु पर्ने भनी केही वर्षअघि रडाको मच्चाएका थिए । अझै पनि मसिनो गरी यो स्वर सुनिने गरेको छ । हुन पनि हाल आएर केवल विदेशी पर्यटकहरु मात्रै नभएर उच्चमध्यम स्तरका आय भएका नेपालीहरु पनि त्यहाँ आन्तरिक पर्यटकका रुपमा प्रशस्तै जान थालेका छन् । तर पनि नेपाल सरकारको तर्फबाट निकुञ्ज पर्यटनका लागि चाहे जति सरसहयोग छैन, राष्ट्रले दिन सक्ने योगदान दिन सकेको छैन ।
एक किसिमले भन्ने हो भने नेपाल सरकार व्यवसायीहरुबाट मनग्गे कर लिन तयार छ । तर, राज्यको तर्फबाट व्यवसायीहरुलाई दिनु पर्ने न्युनतम सेवा सुविधा दिन भने ‘दाँतबाट पसिना झार्ने लोभी मानिस’जस्तै भएको छ । यस मामिलामा कुरा नचपाई भन्ने हो भने, वास्तविक सरकार भन्नु नै नेपालका निजामती कर्मचारीहरु हुन् । उनीहरु स्थायी सरकार पनि हुन् । त्यसैले नीति नियम, विनियमहरु बनाउनमा मुख्यतया कर्मचारीतन्त्रको ठूलो हात रहेको हुन्छ । किनभने, सरकार भनेको त आज एउटा राजनीतिक पार्टीको सरकार आउँछ, त्यो सरकारले आफ्नो सरकारको मन्त्रिमण्डल पूर्णरुपले गठन गर्न नपाउँदै भोलि अर्को पार्टीको सरकार आउन सक्छ । त्यसैले नेपाली कर्मचारीहरुले आत्मा साक्षी राखेर देश र जनताको हितलाई सर्वोपरि हित ठानेर काम गरेमा निकुञ्ज पर्यटनले मात्रै होइन, समग्रमा देशले गति लिन पनि खासै समय लाग्ने थिएन कि ?
हुन त सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण-पूर्वी प्रान्त हुवेइको राजधानी सहर वुहानबाट फैलिन सुरु भएको कोरोनाभाइरस (कोभिड- १९) महामारीको कारणले गर्दा यो वर्षको ‘विश्व पर्यटन दिवस’ नेपालमा मात्रै नभएर विश्वभरि नै रौनकविहीन भएको छ ।
प्रकाशित समय १३:१२ बजे

















