गृहपृष्ठ कोरोनाले हुनेखाने र हुँदाखाने विद्यार्थीबीचको खाडल झन् गहिरियो : भीमप्रसाद पोखरेल
कोरोनाले हुनेखाने र हुँदाखाने विद्यार्थीबीचको खाडल झन् गहिरियो : भीमप्रसाद पोखरेल
कोरोनाभाइरस महामारीका कारण चैत ११ गतेयता अन्य क्षेत्रहरुजस्तै शिक्षा क्षेत्र पनि ठप्प छ । ६ महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको सर्वांगीण विकास प्रभावित बनेको छ । निजी विद्यालयहरुले अनलाइन शिक्षा दिइरहे पनि सरकारी विद्यालयको स्थिति नाजुक बनेको देखिन्छ । सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी प्राविधिक र आर्थिक हिसाबले कमजोर हुने तथा विद्यालय प्राविधिक हिसाबले कमजोर हुने भएकाले सबैभन्दा बढी कोभिड १९ को चपेटामा कमजोर आय भएको वर्ग नै परेको छ । काठमाडौँको बालुवाटारमा रहेको सरकारी विद्यालय महेन्द्र उच्च मावि यतिबेला के गरिरहेको छ ? त्यहाँका विद्यार्थीको स्थिति कस्तो छ ? बालबालिकाहरु विद्यालयको सम्पर्कमा त छन् ? विद्यालयका सहायक प्रधानाध्यापक भीमप्रसाद पोखरेलसँग यी र यस्तै विषयमा केन्द्रित रहेर डीआर आचार्यले गरेको कुराकानी :
कोरोनाभाइरस महामारीका कारण शिक्षा क्षेत्र अस्तव्यस्त बनेको छ, विद्यार्थी कहाँ, के गर्दै छन् हिजोआज ?
कोभिड १९ का कारण लकडाउन भएयता कक्षा १ देखि ५ सम्मका धेरै विद्यार्थी सम्पर्कमा छैनन् । यसमा दुईवटा कुरा छन् । एउटा बालुवाटारमा धेरै भिआईपीहरुका घर छन् । हाम्रो विद्यालयका स्रोत विद्यार्थी भनेका तिनै घर हेरचाह गर्ने बाआमाका बच्चा हुन् । कोरोनाको कारण यहाँ बस्न अफ्ठ्यारो भएपछि उहाँहरु गाउँ जानुभयो । त्यसयता उहाँहरुसँग हामीले सम्पर्क गर्न सकेका छैनौँ । अर्को, हाम्रो विद्यालयमा दुईवटा धारमा पढाइ हुन्छ– साधारण धार र प्राविधिक धार । साधारण धारतर्फका ८, ९ र १० कक्षाका विद्यार्थी सम्पर्कमा छन् । हामीले अनलाइनमार्फत ६० प्रतिशत विद्यार्थीलाई जोडेका छौँ । ४० प्रतिशत विद्यार्थी यो पहुँचभन्दा बाहिर छन् । प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङका कक्षा ९ देखि १२ सम्म अध्ययनरत ८० प्रतिशत विद्यार्थी पढिरहेकै छन्, २० प्रतिशत सम्पर्कमा छैनन् ।
माथिल्लो कक्षाका अरु विद्यार्थीलाई किन अनलाइन कक्षामा जोड्न सकिएन ?
हामीले जतिसुकै पद्धति निर्माण गरे पनि शतप्रतिशत विद्यार्थीलाई प्रविधिमा जोड्न गाह्रो छ । यसमा दुई–तीनवटा कुरा छन्– अभिभावकको आर्थिक स्थिति, सामाजिक स्थिति र भौगोलिक विकटता । प्राविधिक धारमा मध्यम परिवारका बच्चा पढ्छन् । जो निजी विद्यालय छाडेर आएका छन् । साधारण धारमा अत्यन्तै कमजोर खालका दैनिक गुजारा चलाउन गाह्रो हुने बाआमाका बालबालिका पढ्छन् । जसका कारण पारिवारिक आर्थिक असमानताले गर्दा कम्युनेसन मिलेको छैन र पद्धतिमा हामीले लैजान खोज्दा पनि त्यो वर्गका बच्चालाई ल्याउन सकेका छैनौँ ।
शैक्षिक सत्र आधा बितिसक्यो, सम्पर्कमै नरहेका कक्षा १ देखि ५ सम्मका बालबालिकालाई कसरी समेट्नुहुन्छ ?
लामो समयदेखि सम्पर्कबाहिर रहेका अभिभावकलाई सम्पर्कमा ल्याउन प्रयासरत छौँ । भदौ अन्तिम सातादेखि काठमाडौंमा उपलब्ध अभिभावकलाई कापीकलमसहित विद्यालयमा बोलाउने र पढाउने सामग्री घरमै पठाइदिने गरेका छौं । त्यसमा पनि कक्षा १ लाई तत्काल समट्न सक्ने स्थिति छैन । कक्षा २ भन्दा माथि ५ कक्षासम्मको विद्यार्थीलाई चित्रकला बनाउन, स्मार्ट मोबाइल छ भने वक्तृत्वकला रेकर्ड गरेर पठाउन लगाउने गरेका छौं । घरमा बालबालिकाले के–के गर्छन्, के काम सघाउँछन्, त्यसको रेकर्ड गरेर ल्याउन लगाउने गरेका छौं । घर सफा गर्ने, भाँडा माझ्नेलगायतका कामलाई शैक्षिक सत्रमा जोड्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ । राज्यले पनि त्यो खालको ‘होम स्कुलिङ’को व्यवस्था गरेको छ ।
‘होम स्कुलिङ’लाई शैक्षिक सत्रमा जोड्न कस्ता प्रयास भइरहेका छन् ?
‘होम स्कुलिङ’ भनेको बालबालिकाले घरमा गरेका क्रियाकलापलाई शिक्षाको मूलधारमा ल्याउने भन्ने हो । गाउँघरमा पनि शिक्षामा लाग्ने साथीहरुले मुभमेन्ट नै चलाउनुभएको छ । हामी परम्परागत कृषिमा आधारित जनता हौँ । उहाँहरुले गाउँमा परम्परागत कृषिमा बालबालिकाको सहयोग, तिनीहरुको आनीबानीलगायतका कुरालाई शिक्षासँग जोड्ने गर्नुभएको छ । सहरका बच्चालाई गाईको बारेमा निबन्ध लेख्न लगाइन्छ । निबन्ध त लेख्छन् तर उनीहरुले गाई नै देखेको हुँदैन । शिक्षकले पढाएको र घोकाएको आधारमा लेख्छन्, गाई देख्दा चिन्दैनन् ।
सहरका बच्चालाई गाईको बारेमा निबन्ध लेख्न लगाइन्छ । निबन्ध त लेख्छन् तर उनीहरुले गाई नै देखेको हुँदैन । शिक्षकले पढाएको र घोकाएको आधारमा लेख्छन्, गाई देख्दा चिन्दैनन् ।
त्यसकारण अबको शिक्षा भनेको नेपालको माटो सुहाउँदो ‘लर्निङ बाइ डुइङ’ का लागि प्रेरित गर्नेखालको हुनुपर्छ । बच्चाले पहाड देखेको छ भने पहाडको बारेमा वर्णन लगाउनुपर्छ, जहाज देखेको छ भने जहाजको बारेमा लेख्न लगाउनुपर्छ । सरकारले कोभिडकै बीचमा वैकल्पिक शिक्षाअन्तर्गत वैकल्पिक सिकाइ पद्धति ल्याएको हो । हामी अभियन्ताले त्यसलाई प्रयोगमा ल्याउनुपर्छ । त्यसले शैक्षिक सत्रलाई खेर जान दिँदैन ।
अनलाइनबाट कसरी पढाउँदै हुनुहुन्छ ?
हामीले यो क्षेत्रका सांसदहरुको सहयोगबाट आइसीटी ल्याब तयार गरेका छौँ । अहिले पनि हामी विद्यार्थीलाई त्यसकै सहयोगमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छौँ । हामीले ‘माइक्रोसफ्ट टिम’बाट पढाइरहेका छौँ । हामीले लकडाउनको समयमा वेबसाइट बनायौँ, सबै शिक्षकलाई तालिम दियौँ र ‘टिम’ सञ्चालन गर्यौँ । अहिले कक्षा निरन्तर सञ्चालन भइरहेको छ । वैशाख १० पछि विद्यार्थीलाई आह्वान गरेर सुरुमा जुम मिटिङबाट पढायौँ । अहिले माइक्रोसफ्ट टिमबाटै हाजिरी, होमवर्क, जाँच गराउने गरिरहेका छौँ ।
कोभिड १९ ले बालबालिकाको मनोविज्ञान र व्यवहारमा कस्तो प्रभाव परेको पाउनुहुन्छ ?
कोभिडका कारणले शिक्षामा दुई खालको भिन्नता ल्यायो । एउटा हुने खाने, अर्को हुँदा खानेबीचको भिन्नता । कोभिडकै बीच पनि हुनेखाने वर्गको पहुँच र गुणस्तर राम्रो भएर गएको छ किनकि उनीहरुलाई खासै समस्याले छोएको छैन । बालबालिकाले घरमै बसेर अनलाइन पढेका छन् । अर्कोतर्फ सरकारी विद्यालय र गाउँघरमा पढ्नेहरुको गुणस्तर कमजोर भएको छ । अबको शिक्षा र जनशक्ति प्राविधिक रुपमा सक्षम हुनुपर्छ । सरकारी विद्यालय र गाउँघरका बालबालिका प्राविधिक रुपमा बलियो हुन नसक्ने स्थितिमा छन् । त्यसले विद्यार्थीको क्षमतागत दूरी झनै बढाएको छ । यसलाई शिक्षाविद्हरुले, राज्यसत्ता सञ्चालन गर्नेहरुले र विभिन्न समाजका तहतप्काले नजिक ल्याउनुपर्छ, जो छुटे तिनीहरुलाई लगानी गर्नुपर्छ ।
तपाईं दुई दशकदेखि शैक्षिक क्षेत्रमा सम्बद्ध हुनुहुन्छ, २० वर्षअघिको र अहिलेको शिक्षाको गुणस्तरमा कति फरक छ ?
शिक्षाको गुणस्तर शिक्षा नीतिले फरक पार्छ । राजा महेन्द्रले राज्य सत्ता ‘कु’ गरिसकेपछि शिक्षा नीतिमा जुन खालको अवधारणा २०१७ सालमा ल्याउनुभयो त्यही शिक्षा नीतिको आधारमा हामी २०७७ सालसम्म छौँ । लगभग ६० वर्षको दौरानमा शिक्षा नीतिमा उल्लेखनीय परिर्वतन केही भएको छैन । यसको अर्थ हामी परम्परागत शिक्षा नीतिकै जगमा उभिएका छौँ । राजा महेन्द्रको राज्य सत्ता ३०–३५ वर्ष किन टिक्यो भन्दा उनले शिक्षामा लगानी गरे । तर, त्यसयताका राजनीतिज्ञले शिक्षामा लगानी गर्नुपर्छ भनेर बुझेनन् । राजनीतिक पार्टी र राजनीतिक नेतृत्वले के बुझ्नुपर्छ भने आर्थिक रुपमा सबल बनाइदिए १०० वर्ष वर्चश्व राख्न सकिएला, हजारौँ वर्ष टिक्ने हो भने शिक्षामा लगानी गर्नुपर्छ ।
राजा महेन्द्रले राज्य सत्ता ‘कु’ गरिसकेपछि शिक्षा नीतिमा जुन खालको अवधारणा २०१७ सालमा ल्याउनुभयो त्यही शिक्षा नीतिको आधारमा हामी २०७७ सालसम्म छौँ ।
२०४६ यताको ३० वर्षे अवधिमा राजनीतिक इतिहासमा थुप्रै पटक प्रगतिशील, प्रजातान्त्रिक, क्रान्तिकारी साथीहरु सत्तामा आउनुभयो तर उहाँहरुले कहीँ पनि शिक्षामा लगानी गर्नुभएन, महेन्द्रकालीन शिक्षालाई आधार मानेर राज्य सत्ता चलाउनुभयो । त्यसले जनतामा एक खालको वितृष्ण पैदा गर्यो । शिक्षाको लागि जनताको छोराछोरी बिदेसिएका छन्, ब्रेनड्रेन भइरहेको छ । राज्यले शिक्षा क्षेत्रमा खर्च गरेको छ तर नीति परिवर्तन गरेको छैन । जसका कारण नेपालमा उच्च शिक्षा हासिल गरेकाहरु विदेश गएर तल्लो स्तरको काम गर्न बाध्य छन् । नेपालमा स्नातकोत्तर गरेका मानिस विदेश गएर निम्नस्तरको काम गर्नुका पछाडि हाम्रो शिक्षा नीतिको दोष छ । विदेश नजाने भन्ने हुँदैन तर हाम्रो उत्पादनले समकक्षता बराबरको काम किन पाउँदैन, प्रश्न यो हो । अव्यावहारिक शिक्षा नीतिका कारण विदेशी बजारमा हाम्रो जनशक्ति एकदमै तल्लो स्तरमा र लज्जित भएर काम गर्नुपर्ने अवस्थामा छ । अहिले हामीलाई कोभिडका कारण ती नेपाली फर्किन्छन् भन्ने डर छ । आफ्नो देशको नागरिक फर्किंदा सामाजिक, राजनीतिक हरेक हिसाबले खुसी हुनुपर्ने तर हामी डराइरहेका छौँ किनकि निम्नस्तरमा रहेर काम गरेर उसले कमाएर पठाएको पैसाले हामी देश चलाइरहेका छौँ । ऊ फर्किंदा देश चलाउन घाटा लाग्छ कि हामी सक्दैनौँ कि भनेर डराएका हौँ । त्यसको पछाडि पनि हाम्रो परम्पारगत शिक्षा नीति दोषी छ । यो ३० वर्षमा शिक्षा पद्धति र जनशक्ति उत्पादनमा कुनै फेरबदल छैन ।
तपाईंको विद्यालयले स्मार्ट कक्षा पनि सुरु गरेको छ ?
हो । हामीले कक्षा १ देखि ५ कक्षासम्मलाई विस्तारै स्मार्ट कक्षा बनाएर लैजाने सोचमा छौँ । सुरु भइसकेको छ । कक्षालाई पूर्ण प्राविधिक बनाउने तयारी छ । कक्षा कोठामा स्मार्ट बोर्ड राख्ने, कम्प्युटरबाट अध्यापन गराउने र विद्यार्थी संख्या पनि निश्चित ३५ जना मात्र राख्ने योजना छ । त्यसका लागि राज्यले लगानी गरोस् भन्ने हाम्रो अपेक्षा छ । राज्यले कम्प्युटर ल्याब बनाउन लगानी गरेको छ । त्यो ल्याबमा साना बच्चा ल्याउन गाह्रो हुन्छ । साना बच्चालाई डेस्कटपमा ल्याएर राख्न पनि सकिन्न । त्यसकारण १ देखि ५ सम्म पढ्ने बच्चाहरुको कक्षालाई स्मार्ट बनाउनुपर्छ । त्यसलाई स्मार्ट बनाइसकेपछि प्राविधिक रुपमा अडियो–भिडियोदेखि सबै कुरा पूरा हुन्छ । बच्चाले त्यसरी नै राम्रो सिक्छन् । यसलाई देशैभरि लान आवश्यक छ । त्यसो भएमा हामी विभिन्न एप्स र प्रविधिको प्रयोग गरेर पढाउन पनि सक्छौँ । यसबारे हामीले स्थानीय तहमा पनि छलफल चलाएका छौँ ।
पठनपाठनको अवस्था कस्तो छ ?
महेन्द्र मावि ५८ वर्षअघि २०१९ सालमा यहाँका टोलबासीले स्थापना गरेका हुन् । त्यसबेला कक्षा १ देखि ३ सम्म थियो । मलाई २०५७ सालमा माध्यमिक तह सञ्चालनका लागि यहाँ ल्याइएको हो । त्यसपछि २०६८ सालमा कक्षा ११ र १२ सुरु भयो । हाम्रो विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्म र ९ देखि १२ सम्म गरी दुईवटा धार छन्– साधारण र प्रावधिक धार । कक्षा १ देखि ९ सम्म एउटा धार छ र ९ देखि १२ सम्म दुईवटा धार छ । प्राविधिक धारतर्फ हामीले सिभिल इन्जिनियरङको कक्षा सञ्चालन गरेका छौं । अर्को साधारण धार भने १ देखि १२ सम्म नै हुन्छ ।
अतिरिक्त क्रियाकलाप पनि गराउनुहुन्छ ?
हाम्रो विद्यालयमा त्यस्तो अवसर प्रशस्त छ । निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता तथा वक्तृत्वकला प्रतियोगिता, खेलकुद सबै रुटिनमा हुन्छ । प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापका कार्यक्रम हुन्छन् । शैक्षिक भ्रमण नियमित हुन्छ । प्राविधिक धारका विद्यार्थीका लागि औद्योगिक भिजिट, साइटहरु भिजिट, रोड, कन्ट्रक्सन भिजिट गर्न लैजान्छौँ ।
सरकारले आधारभूत शिक्षा निःशुल्क र माध्यमिक शिक्षा अनिवार्य भनेको छ, विद्यार्थीले पैसा तिर्नुपर्छ कि पर्दैन ?
हामी कक्षा १ देखि ५ सम्मका विद्यार्थीबाट वार्षिक ५ सय रुपैयाँ लिन्छौँ । त्यहाँभन्दा माथिका विद्यार्थीबाट १ हजार रुपैयाँ लिने गरेका छौँ । सामान्य मर्मतसम्भार र सरसफाइका लागि सहयोग स्वरुप लिने गरेका हौँ ।
मर्मतसम्भारका लागि सरकारले खर्च दिँदैन ?
सरकारले वर्षभरिका लागि १० हजारदेखि १५ हजारजति दिन्छ । विद्यालय सहयोगीका लागि मासिक जम्मा ६ हजार रुपैयाँ दिन्छ । चौकीदारका लागि पैसा आउँदैन । सरसफाइको काममा विद्यार्थीलाई लगाउनु उचित हुँदैन, त्यसका लागि पनि खर्च हुन्छ ।
शिक्षक कति हुनुहुन्छ ?
शिक्षक ३२ जना छौँ । प्राथमिक तहमा ९, निम्नमावि तहमा ७ र बाँकी माध्यमिक तहका छौं । दुई जना सिभिल इन्जिनियरिङ र ६ जना कक्षा ९ र १० का गरी प्राविधिकतर्फ ८ जना शिक्षक हुनुहुन्छ ।
सबै जना स्थायी हुनुहुन्छ ?
प्राविधिक धारका बाहेकका सबै स्थायी हुनुहुन्छ ।
विद्यार्थी कति छन् ?
गत शैक्षिक सत्रमा ७ सयभन्दा बढी थिए ।
छात्राको संख्या कति थियो ?
छात्रा ६० प्रतिशतभन्दा बढी छन् ।
शिक्षकमा ?
शिक्षकमा महिला ६० प्रतिशत र पुरुष ४० प्रतिशत छौँ । साना कक्षामा महिला शिक्षक बढी हुनुहुन्छ । जुनसुकै सामुदायिक विद्यालयमा तल्लो तहमा महिला शिक्षक नै बढी हुन्छन् । देशभरको तथ्यांक हेर्दा ४२ प्रतिशत महिला शिक्षक हुनुहुन्छ ।
प्रकाशित समय १३:४३ बजे


















