गृहपृष्ठ सम्झना हत्या प्रकरणमा निर्मला पन्तको झझल्को

सम्झना हत्या प्रकरणमा निर्मला पन्तको झझल्को

२०७५ साल साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको हत्या भएको दुई वर्ष बितिसकेको छ तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । निर्मलाको घटनाले देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमै चर्चा पायो । सबै मानव अधिकारकर्मी सो घटनामा केन्द्रित भएका थिए । अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गएको थियो । निर्मलाको न्यायका लागि दबाब र आन्दोलनका कार्यक्रमहरु अझै पनि भइरहेका छन् ।

निर्मलाझैं सुदूरपश्चिममा फेरि अर्को दर्दनाक घटना घटेको छ । एक बालिकाको बलात्कारपछि विभत्स हत्या भएको छ । बझाङको मष्टा गाउँपालिका- २, खिकालाकी १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि हत्या गरिएको घटनाले संघीय संसदमा समेत बलात्कारसम्बन्धी कानुन कमजोर भएकोबारे बहस सुरु भएको छ । असोज ७ गते (बुधबार) दिउँसो ५ बजे भैंसीगोठ हिँडेकी सम्झनाको आधा बाटोमै बलात्कारपछि हत्या भएको थियो ।

घरबाट आधा घण्टाको दूरीमा रहेको भैंसीगोठ जाने क्रममा नजिकै रहेको (सिममाडौं) मन्दिरभित्र सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । घटनामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय बझाङले स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ । प्रहरी नायव निरीक्षक (डीएसपी) रुपक खड्काका अनुसार आइतबार पक्राउ गरिएका बोहरालाई सार्वजनिक गरिएको र थप कानुनी प्रक्रियाका लागि अदालत पेस गरिएको छ ।

पीडित परिवारसँग छलफल भइरहेको र मृतक बालिकाको शव उठाउने तयारी भइरहेको डीएसपी खड्काले बताए । सम्झना गाउँकै मष्टा निमाविमा ६ कक्षामा अध्ययनरत थिइन् । उनका आमाबुवा बिजुली कामी र आमा धैली कामी रोजगारीका लागि चार वर्षदेखि भारतमा थिए । सम्झना बाजेसँगै बस्दै आएकी थिइन् ।

उनको हत्यापछि कानमा भएको सुनसमेत लुटिएको छ । जिल्ला अस्पताल बझाङले सम्झनाको बलात्कारपछि हत्या भएको पुष्टि गरेको छ । घटनाको वास्तविकता तत्काल पत्ता लगाइ दोषीलाई कारबाहीका लागि प्रहरीलाई दबाब दिन देशभर विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्तिसमेत निकालेका छन् ।

प्रहरीले सार्वजनिक गरेका राजेन्द्र बोहोरामाथि बलात्कारको अर्को मुद्दा पनि दर्ता भएको छ । बोहोरामाथि १३ वर्षीया बालिकाले जाहेरी दिएकी हुन् । उनले आफूमाथि बोहराले गत २९ साउन बेलुकी जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी हुन् । हत्या गरिएकी बालिकाका बाजेले ८ असोजमै जिल्ला प्रहरी कार्यालयमा जबरर्जस्ती करणी गरी कर्तव्य ज्यान मुद्दा शिर्षकमा किटानी जाहेरी दिएका थिए । घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका बोहोरालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु