गृहपृष्ठ समुदायमै कोरोना संक्रमितको मृत्यु

समुदायमै कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा समुदायमै कोरोना संक्रमितको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका १ स्थायी घर भएकी ३५ वर्षीया महिलाको बुधबार वीरेन्द्रनगर ११ पिपिरामा कोठा भाडाको घरमा उनको मृत्यु भएको हो ।

श्रीमानसँगै वीरेन्द्रनगर ११ पिपिरामा बसी मजदुर गर्दै आएकी महिलाको गत १३ गते कोठामा मृत्यु भएको अवस्थामा नेपाल प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पु¥याएको थियो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुुसार कोरोनाभाइरस (कोभिड–१९) को परीक्षण नगरी स्वास्थ्यकर्मीले शवको पोस्टमार्टम नगर्ने भनेपछि उनको स्वाब परीक्षण गरिएको थियो । बुधबार उनको रिपोर्ट पोजेटिभ आएपछि जिल्ला कोरोना बिपत् व्यवस्थापन समिति तोकेको स्थान सुर्खेतको गिरीघाटमा उनको अन्तिम दाहसंस्कार गरेको वाग्लेले जानकारी दिए ।

१३ गते नै उनका ६० वर्षीय श्रीमान एक्कासि बिरामी परेर स्थानीय देउती अस्पताल सुर्खेत ल्याइएको र पुनः प्रदेश अस्पतालसमेत लगिएको अवस्थामा अस्पतालमा मृत्यु भएको प्रमुख वाग्लेले बताए । ‘श्रीमान्को मृत्यु शंकास्पद भयो,’ उनले भने, ‘मृत्यु घोषणा भएपछि आफन्तले दाहसंस्कारसमेत गरिसके ।’ श्रीमान्–श्रीमतीको एकैदिन मृत्यु भएको भए पनि आफन्तहरुले भने शंकास्पद मृत्यु भएको भन्दै ती महिलाका शव पोस्टमार्टमका गर्ने अडान लिएको वाग्लेले बताए ।

कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा पहिलोपटक जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको दुल्लु नगरपालिका ७ स्थित क्वारेन्टिनमा रहेकै बेला मृत्यु भएको हो । यस्तै जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनी होम क्वारेन्टिनमा थिए ।

जेठ २२ गते सुर्खेतको पञ्चपुरी नगरपालिका १ का १८ वर्षीय युवकको मृत्यु भयो । क्वारेन्टिनबाट घर फर्केकै बेलुका ती युवकको मृत्यु भएको थियो । असार १ गते सुर्खेतकै सिम्ता गाउँपालिका ८ की २५ वर्षीया महिलाको मृत्यु भयो । आत्महत्या गरेकी महिलाको पछि स्वाब परीक्षण गर्दा कोरोना फेलापरेको थियो । असार ८ गते दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भयो । उनको कर्णाली प्रदेश अस्पताल कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो भने असार ९ गते दुल्लु नगरपालिका १० का २१ वर्षीय पुरुषको मृत्यु भयो ।

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु