गृहपृष्ठ जलविद्युतमा लगानी गर्ने अस्ट्रेलियन कम्पनीको प्रस्ताव
जलविद्युतमा लगानी गर्ने अस्ट्रेलियन कम्पनीको प्रस्ताव
अस्ट्रेलियाको एक कम्पनीले नेपालमा ५०० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । फोर्टेस्क्यु मेटल ग्रुप लिमिटेडले कम्तीमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेको हो । त्यस सम्बन्धमा ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच श्रव्य‑दृश्य माध्यमबाट द्विपक्षीय छलफलसमेत भइसकेको छ ।
ऊर्जामन्त्री वर्षमान पुनसँग उनको कार्यकक्षमा बिदाइ भेटका लागि पुगेका नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडलाई सरकारले सो प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताएका थिए । अस्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गरिने प्रतिबद्धता जनाए ।
कम्पनीका अध्यक्ष एन्ड्रयु फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली असोज २६ गते नेपाल आउन लागेका छन् । फोर्टेस्क्यु मेटल ग्रुप अस्ट्रेलियाको १० ठूला कम्पनीमध्ये एक हो ।
‘नेपालको जलविद्युत् क्षेत्रमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ,’ मन्त्री पुनले भने, ‘उहाँहरु आएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं ।’ (रासस)
प्रकाशित समय २१:०१ बजे

















