गृहपृष्ठ ट्रम्प शक्तिशाली कि कोरोना ?

ट्रम्प शक्तिशाली कि कोरोना ?

कोरोनाभाइरस (कोभिड- १९)को महामारी फैलँदै गर्दा भाइरल रोग विज्ञहरुले फेस मास्क लगाउन अनुरोध गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘कोरोनाभाइरस केही पनि होइन, केही दिनमै आफैँ हराउँछ’ भन्थे । कोरोनाभाइरसलाई इंगित गरेर प्रश्न गर्ने पत्रकारहरुलाई हप्काउनसमेत उनी पछि पर्दैन थिए । तर, कोरोनाभाइरसले अमेरिकाका कतिपय राज्यमा आफ्नो साम्राज्य चलाउन थालेपछि ती राज्यका गभर्नरहरुले बेला छँदै कोरोनाभाइरसविरुद्घ प्रभावकारी ढंगले काम गर्न खोज्दा (खासगरी न्यूयोर्कका गभर्नर एन्ड्र कुमोले) ट्रम्पले रोक्न खोजे । कतिपय अवस्थामा त अवरोध नै सिर्जना गरे । ट्रम्पले कोरोनाभाइरस अरु बेलाको जस्तै सामान्य रुघाखोकी हो, मार्च अन्तिम वा अप्रिल सुरुतिर (गर्मी लागेसँगै) आफैँ ठीक हुने र ‘इष्टर’समेत मनाउन सकिने बताएका थिए । साथै उनले कोरोनाभाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै गिज्याउने/खिसीटिउरी पनि गर्ने गर्थे ।

ट्रम्प मात्रै होइन, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो पनि कोरोनाभाइरसलाई केही होइन भन्ने गर्थे । भलै, बोल्सोनारोले कोरोनाभाइरसलाई ‘चाइनिज भाइरस’ चाहिँ भनेका छैनन् । राष्ट्रपति बोल्सोनारो गत जुलाईमै कोरोनाभाइरसको आक्रमणमा परिसकेका छन् । संयोगले उनी खासै सिकिस्त बिरामी नभई निको भए । यसरी हेर्दा कोरोनाभाइरसलाई हातहतियारले ठीक पार्न सकिने भए ट्रम्प महोदयले उहिल्यै ! ठीक पारिसक्ने थिए । त्यसैले अत्याधुनिक हातहतियारले सुसज्जित विश्वकै शक्तिशाली देशको राष्ट्रपति भएर पनि ट्रम्प महोदयले कोरोनाभाइरससँग हार खानु परेको छ ।

त्यसैले त ‘विश्वको मै हुँ’ भन्ने वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि गत अक्टोबर १ का दिन कोरोनाभाइरस पोजिटिभ देखियो । स्मरणीय के छ भने, राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै खिसीटिउरी गर्ने गर्थे । ‘पातालको राहू, आकाशको केतु, एकपटक नपरी कसरी चेतुँ’ भन्ने उखान ट्रम्पका हकमा चरितार्थ भएको छ । किनभने, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लगायत बेला छँदै दिएको सजग हुने सुझाव र चेतावनी तथा भाइरल रोग विज्ञहरुको कोरोनाभाइरसले पार्ने असर बारेको भनाइलाई ट्रम्प खिल्ली उडाउँथे । तर, उनै ट्रम्पलाई पनि आखिरमा कोरोनाभाइरसले बाँकी राखेन । अझ ट्रम्प महोदयलाई मात्रै नभएर उनकी श्रीमती अर्थात् प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोनाभाइरसले छाडेन । अर्थात् मेलानिया ट्रम्प महोदयलाई पनि कोरोनाभाइरस पोजिटिभ’ देखियो । मेलानिया ट्रम्पलाई कोरोनाभाइरस पोजिटिभ देखिएपछि कहाँ उपचार गरिदैछ ? भन्नेबारे केही नखुलाइए तापनि राष्ट्रपति ट्रम्पलाई भने मेरिल्यान्डको बेथेस्डतस्थित वाल्टर रिड नेसनल मिलिटीरी मेडिकल सेन्टरमा थप उपचारका लागि भर्ना गरिएको थियो । हुन पनि हाल अमेरिकामा आजका मिति (अक्टोबर ४) सम्म ७७ लाख मानिसहरु कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने २ लाख १४ हजार २ सय ७७ जनाले आफ्नो अमूल्य ज्यान गुमाइसकेका छन् । त्यस्तै संक्रमितमध्ये ४८ लाख १८ हजार ५ सय मानिस निको भएर घर फर्केका छन् ।

यसअघि विभिन्न विदेशी न्युज एजेन्सीहरुले प्रकाशित गरेको समाचारअनुसार अमेरिको न्यूयोर्कको ब्रोंकस चिडियाखानाको बघिनी (पोथी बाघ)मा समेत (कोभिड- १९) को संक्रामक भाइरस देखा परेको थियो । सो समाचारमा जनाइएअनुसार ४ वर्षीया सो बघिनीले लगातार सुक्खा खोकी खोक्न थालेपछि पशु चिकित्सकहरुले सो बघिनीको स्वास्थ्य परीक्षण गरेका थिए । बघिनीमा (कोभिड- १९) को संक्रामक भाइरस छ कि ? भनी शंकाकै भरमा जाँच गर्दा अनपेक्षित रुपमा सो बघिनीमा समेत (कोभिड- १९) को संक्रामक भाइरस देखा परेपछि चिडियाखानामा रहेका अन्य बाघ र सिंहको पनि नमूना परीक्षण लिइएको थियो । यसरी हेर्दा घटना सामान्यझैँ लागे पनि (कोभिड- १९)को संक्रामक कोरोनाभाइरसले अमेरिकामा बाघ, बिरालो र कुकुरलाई समेत छाडेन भने राष्ट्रपति ट्रम्पलाई मात्र छाड्ला त ? भनी यो पंक्तिकारले त्यो बेला नै एक लेख लेखेको थियो ।

अहिले विश्वभर फैलिएको कोरोना महामारी चीनको दक्षिण–पूर्वी प्रान्त हुवेइको राजधानी वुहानबाट फैलँदै गर्दा ट्रम्प महोदय भने चाइनिज भाइरस ! भन्दै ख्यालठट्टाका रुपमा लिदै हाँसीमजाक गर्दै थिए । जे भए पनि यो भाइरसको संक्रमण अहिलेसम्म २१५ देशमा फैलिएको छ भने संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड- १९ लाई महामारी (प्यान्डेमिक) भनी गएको मार्च महिनाको सुरुमै घोषण गरेको हो ।

यसरी हेर्दा नोबेल कोरोनाभाइरस (कोरोनाभाइरस डिजिज- १९/कोभिड- १९) नामक संक्रामक रोगले विश्वका ३ करोड ५१ लाख ६२ हजार ६०० भन्दा बढीलाई आक्रमण गरेको छ भने (कोभिड- १९)कै कारण हालसम्म विश्वका विभिन्न देशका लगभग १० लाख ३८ हजार ३ सय ११ मान्छेले आफ्नो अमूल्य जीवन गुमाएका छन् । त्यस्तै २ करोड ६१ लाख ५३ हजारभन्दा बढी मान्छेहरु पूर्ण रुपमा निको भएका छन् । यो तथ्यांक सन् २०२०, अक्टोबर ४ सम्मको हो ।

स्मरणीय छ, सन् २०२०, मार्च २७, ग्रिनविच मिन टाइम (जीएमटी) ०२:०२ बजेसम्म विश्वका विभिन्न देशमा ५ लाख ३१ हजार ८ सय मानिसहरु मात्रै बिरामी भएका थिए । सुरुमा चीनमा मात्रै ‘नोबेल कोरोनाभाइरस रोग फैलँदा केही देशले ‘खुच्चिङ’ भनेझैँ गरेका थिए । तर, आज तिनै देशहरुलाई नै कोरोना महामारीले बढी ग्रस्त बनाएको छ, जनधनको बढी क्षति गराएको छ । अझ अमेरिकामा त विषय विज्ञहरुले आँकलन गरेकोभन्दा बढी मानिसहरु बिरामी भएका छन्, मरेका छन् । गएको अप्रिल मध्य-अन्त्यदेखि नै (कोभिड- १९)को संक्रामक भाइरसको महामारीले आक्रमण गरेको देशहरुमध्ये अमेरिका विश्वकै पहिलो हुँ आएको छ ।

तर, केही देशहरुले भने, आफ्नो देशमा (कोभिड- १९) को महामारी सकेसम्म नफैलियोस् भनी लक्षण देखा पर्नेबित्तिकै सक्दो सावधानी अपनाएका थिए । त्यसले गर्दा हालसम्म पनि ती देशहरुमा महामारीले खासै सताएको छैन । अथवा तुलनात्मक रुपमा हेर्दा ती देशहरु जसले (कोभिड- १९)को संक्रमण सकेसम्म रोक्ने प्रयास गरे, ती देशमा कम असर परेको छ । यस्तो देशमा खास गरी सिंगापुर, दक्षिण कोरिया, कतार, जर्मनी, फ्रान्स, अष्ट्रिया, डेनमार्क, स्वीडेन, माल्दिभ्स, चीन, इरान, क्युबा, भुटान आदि देशहरु पर्छन् ।

जस्तो सिंगापुरलाई नै लिऊँ । जसले बेला छँदै (कोभिड- १९) को संक्रामक भाइरस आफ्नो देशमा फैलिनुअघि नै रोकथामको पाइला चालिहालेकाले गर्दा विश्वकै पर्यटकीय, व्यापारिक र आर्थिक कारोबारको केन्द्र (हब) भएर पनि सिंगापुरमा (कोभिड- १९)को धेरै ठूलो क्षतिबाट जोगिएको छ । त्यसो त सिंगापुरजस्तो विश्वकै पर्यटकीय, व्यापारिक र आर्थिक कारोबारको केन्द्र भएको देश र भुटान, कतार, दक्षिण कोरिया, स्वीडेन, भियतनाम, डेनमार्क आदि देशहरुले पनि (कोभिड- १९)प्रति हेलचेक्र्याईं गरेको भए वा केही होइन भनेझैँ गरेर बसेको भए बिरामी हुने र ज्यान गुमाउने देशहरुको लर्कोमा कम्तिमा ८औं, ९औं, १०औं भित्र पर्थे । तर, हालसम्म पनि सिंगापुरमा (कोभिड-१९) रोगको संक्रमणका कारण २७ जनाले मात्रै ज्यान गुमाएका छन् भने ५७ हजार ७९७ जना कोरोना पोजिटिभ छन् ।

उता सार्क राष्ट्र भुटानमा पनि गत मार्च ६, सन् २०२० सम्ममा नोबेल कोरोनाभाइरस (कोभिड– १९)को भाइरसको संक्रमण पहिलोपटक देखा परेको थियो । ६ मार्च, सन् २०२० मा भुटान भ्रमण गर्न आएका अमेरिकी पर्यटकमा पहिलोपटक नोबेल कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखा परेको थियो । त्यसको ६/७ घण्टामै भुटान सरकारले ती अमेरिकी पर्यटक कहाँ-कहाँ गए ? कस-कसलाई भेटे ? सोधखोज गरेर ती पर्यटकसँग सम्पर्कमा आएका सबैलाई लगेर क्वारेनटाइनमा राख्यो । फलतः भुटानमा (कोभिड- १९) को भाइरसका कारण संक्रमितको संख्या हालसम्म २८३ जना मात्रै रहेको छ भने १ जनाको मृत्यु भएको छ । भुटानमा गत अप्रिल महिनाको अन्त्यसम्ममा पनि (कोभिड- १९) को संक्रमणका कारण कसैको पनि मृत्यु भएको थिएन ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु