गृहपृष्ठ सामाजिक सञ्जालले जुटाइदियो ३० लाख सहयोग, विदेशमा रहेकाले पठाए लाखौँ रकम
सामाजिक सञ्जालले जुटाइदियो ३० लाख सहयोग, विदेशमा रहेकाले पठाए लाखौँ रकम
तनहुँको व्यासनगरपालिका १४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि ३० लाख ११ हजार २३२ रुपैयाँ सहयोग संकलन जम्मा भएको छ । आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामा ‘सन्तोष बचाउ अभियान’ थालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम संकलन भएको हो ।
सुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए । ‘स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारका लागि पोखरा जान सुझाव दियो,’ रानाले भने, ‘त्यसपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रै आफ्नो दुवै मिर्गौला फेल भएको थाहा पाएँ ।’
मिर्गौला फेर्न २० लाखभन्दा बढी खर्च लाग्ने सम्बन्धित चिकित्सकले बताएपछि परिवारमा तनाव छाएको थियो । उनले भने, ‘यति ठूलो रकम कसरी जुटाउने भन्ने पीर र चिन्ताले सताइरहन्थ्यो ।’ तँ आँट म पूरा गर्छु भनेझैँ ईश्वरको आशीर्वादले स्थानीय युवाहरुले चालेको अभियानअन्तर्गत एकाएक सहयोग प्राप्त हुन थालेपछि अब त म बाँच्छु भन्ने आशा पलाएको उनले बताए ।
सन्तोष बचाउ अभियानअन्तर्गत यसअघि १९ लाख चार हजार ९३५ रुपैयाँ बैंक खातामा जम्मा भइसकेको थियो । असोज २ गतेमात्रै अमेरिकामा बस्दै आएका केशवटारकै स्थानीयवासी भीम थापा, कुलदीप राना, आशिष थापामगरको सक्रियतामा संकलन भएको ६ लाख ४५ हजार २१० र ब्रिटिस आर्मीमा कार्यरत स्थानीय जीवन थापाको फेसबुकमार्फत बेलायतबाट तीन लाख ६६ हजार ११७ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
त्यसैगरी, मलेसियाबाट ४५ हजार ८०० र ओमनबाट ३० हजार ४०० लगायत गरी कुल ११ लाख ६ हजार २९७ रुपैयाँ सहयोग रकम वडाध्यक्ष काजीमान श्रेष्ठमार्फत मिर्गौला पीडित रानालाई हस्तान्तरण गरिएको हो । स्थानीय छाब्दीबाराही युवा क्लब तथा सन्तोष बचाउ अभियानका मूल संयोजक दीपक थापाको संयोजकत्वमा भेषबहादुर आले, चुडामणि थापा, कर्णबहादुर थापालगायत युवाले रानालाई बचाउनका लागि सक्रिय भएर लागेको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । (रासस)
प्रकाशित समय १६:१० बजे

















