गृहपृष्ठ दसैँमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
दसैँमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
नेपालीहरुको महान् चाड वडा दसैँमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ । आयोजनाले दसैँमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दसैँको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिए । ‘दसैँका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,’ उनले भने । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युतगृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् ।
सिनो हाइड्रोले परिचालन गरेका करिब २२० भन्दा बढी नेपालीलाई दसैँ बिदा दिइए पनि चिनियाँ मजदुरले काम गरिरहेको हुन् । ‘दसैँलगत्तै काममा फर्किने गरी नेपाली कामदारलाई दसैँ मनाउन बिदा दिएका छौँ, ५० चिनियाँ कामदारले दसैँ अवधिमा काम गर्छन्,’ उनले भने, ‘एक जना भारतीय प्राविधिक पनि आइपुगेका छन्, दसैँको अवधिमा विद्युतगृहमा एउटा उपकरण जडान गर्ने काम हुन्छ ।’
सिनो हाइड्रोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ र विद्युतगृह निर्माण तथा हाइड्रो र इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माणको काम पनि अगाडि बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केईसीले पाएको छ ।
प्रसारणलाइनका लागि चालू आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रसारणलाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ । प्रसारणलाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्यांकनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गत कामका लागि लार्सन एन्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेस गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ ।
आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुक्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्नेछ ।
आयोजनाको सहयोगमा बाटो कालोपत्रे
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजनाले व्यास नगरपालिका ५ पाटनमा सडक कालोपत्र र पक्की नाला निर्माण सम्पन्न गरेको छ । आयोजनाको सहयोगमा व्यास नगरपालिकामार्फत कार्यान्वयन भएर वाराही चोकदेखि भीमसेन चोकसम्मको पाँच सय मिटर सडक कालोपत्र र पक्की नाला निर्माण सम्पन्न भएको हो ।
आयोजना प्रभावित क्षेत्रमा १० लाखको सहयोगमा बाटो कालोपत्र गरिएको प्रमुख घिमिरेले जानकारी दिए । यसैगरी आयोजनाले सोही वडास्थित राष्ट्रिय परोपकार महासंघमा भान्साघर निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गरेको छ । काम दसैँलगत्तै सुरु हुने उनले बताए । आयोजनामार्फत नै चापाघाटसम्म सडक बत्ती मर्मत गरिएको छ । ऋषिङ गाउँपालिकाका स्थानीयबासीले राखेका विभिन्न माग पनि प्राथमिकताका आधारमा सम्बोधन गरिने प्रमुख घिमिरेले जानकारी दिए । (रासस)
प्रकाशित समय १८:४३ बजे

















