गृहपृष्ठ चार सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण
चार सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण
नेपाल पत्रकार महासंघले पछिल्लो समय ४ सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको छ भने ४ जना पत्रकारको कोरोनाका कारण निधन हुन गएको जनाएको छ ।
महासंघले आइतबार एक विज्ञप्ति प्रकासित गरी निःशुल्क पीसीआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
‘उच्च जोखिमका बीच कोरोना संक्रमणको विषयमा नागरिकलाई सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरुलाई एकातिर कोरोनाको कारण देखाई विभिन्न सञ्चार गृहबाट नियमित पारिश्रमिक नदिने, बेतलवी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्ने जस्ता क्रम बढिरहेको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारहरुमा कोरोना संक्रमण बढिरहेको छ ।’
दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा कोरोना संक्रिमत भई यतिखेर आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता रहेको महासंघले जनाएको छ ।।
महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।
महासंघले महामारीको यस्तो विषम परिस्थितिमा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल पनि गरेको छ ।
प्रकाशित समय १५:४२ बजे

















