गृहपृष्ठ लकडाउनपछि ११ प्रतिशत नेपालीले गुमाए रोजगारी
लकडाउनपछि ११ प्रतिशत नेपालीले गुमाए रोजगारी
एक तिहाइ नेपालीको आय-आर्जन र जीविका संकटमा
गत चैतपछि अवलम्बन गरिएको लकडाउनपछि औसत ११ प्रतिशत नेपालीले रोजगारी गुमाएको एक अध्ययनले देखाएको छ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले नेपाल सरकार, कृषि तथा पशु विकास मन्त्रालयको सहकार्यमा गरेको दोस्रो चरणको सर्वेक्षणले ११ प्रतिशतले रोजगारी गुमाएको र ३१.२ प्रतिशतको आम्दानी घटेको देखाएको छ ।
लामो अवधिका लकडाउनका कारण रोजगारी र जीविकोपार्जनका स्रोत गुमाउनेहरूमा कृषि र गैर-कृषि क्षेत्रका दैनिक ज्यालादारी मजदुर, रेमिट्यान्स प्राप्त गर्ने परिवार तथा लघु/साना व्यवसाय- व्यापारमा संलग्न हुनेहरू बढी छन् ।
विदेशमा काम गर्ने सदस्य भएको परिवारमा रोजगारी गुमाउनेको अनुपात बढी भएको यो अध्ययनले देखाएको छ । यसैगरी, साङ्ग व्यक्तिका तुलनामा अपाङ्गता भएका व्यक्ति र दीर्घकालीन रोगी पारिवारिक सदस्य भएका परिवारहरूले अधिक रोजगारी गुमाएका छन् ।
लामो अवधिका लकडाउनका कारण रोजगारी र आय-आर्जन गुमाउनेहरूको अनुपात सुदूरपश्चिम र प्रदेश नं १ सबैभन्दा बढी रहेको यो अध्ययनले देखाएको छ । अध्ययनमा सहभागीहरूमध्ये सुदूरपश्चिमका १९.३ प्रतिशतले विगत तीन महिनामा आफ्नो रोजगारी गुमेको बताएका छन् भने सोही प्रदेशका ३८.८ प्रतिशतले आयआर्जनमा कमी आएको बताएका छन् ।
यस्तै, प्रदेश नं १ का १८.६ प्रतिशतले रोजगारी गुमेको, ४०.५ प्रतिशतले आयआर्जनमा कमी आएको बताए भने प्रदेश नं २ का १४.१ प्रतिशतले रोजगारी गुमेको र ३८.३ प्रतिशले आयआर्जनमा कमी आएको बताएका छन् ।
यसैगरी, बागमती प्रदेशका १०.६ प्रतिशतले रोजगारी गुमेको, २८.८ प्रतिशतले आयआर्जनमा कमी आएको बताएका छन् भने कर्णालीका ७.७ प्रतिशतले रोजगारी गुमेको र ३२.८ प्रतिशतले आयआर्जनमा कमी आएको बताएको प्रतिवेदनमा उल्लेख छ ।
यसरी नै लुम्बिनी प्रदेशका ७.६ प्रतिशतले रोजगारी गुमाउँदा २९.१ प्रतिशतले आम्दानी गुमाएका छन् भने सबैभन्दा कम असर गण्डकी प्रदेशमा परेको अध्ययनले देखाएको छ । गण्डकी प्रदेशका ६.७ प्रतिशतले मात्र रोजगारी गुमेको र १९.१ प्रतिशतको आम्दानीमा कमी आएको प्रतिवेदनमा जनाइएको छ ।
अध्ययनअनुसार ४१.५ प्रतिशत नेपालीसँग खाद्यान्न सञ्चित छैन भने करिब ९ प्रतिशतसँग २-३ हप्ता पुग्नेमात्र खाद्यान्न सञ्चित छ । यस्तै, १३.७ प्रतिशतसँग एक महिना पुग्नेमात्र खाद्यान्न सञ्चित छ ।
कोभिड-१९ का कारण रोजगारी, जीविकोपार्जनका लागि आम्दानी गुम्दा नेपालमा खाद्य सुरक्षा संकट बढेर गएको प्रतिवेदनको ठहर छ । प्रतिवेदनअनुसार नेपालमा सर्वाधिक खाद्य असुरक्षाको अवस्था सुदूरपश्चिम र कर्णालीमा छ ।
अध्ययनमा सहभागीमध्ये ५४ प्रतिशत नेपालीले बजारबाट किनेर खाने गरेकाले पनि रोजगारी गुमाउने, आम्दानीमा कमी आउने परिवारमा खाद्य सुरक्षा संकट गहिरो हुने देखिएको हो ।
डब्लूएपीले गत अप्रिलमा पहिलो चरणमा कोभिड-१९ ले नेपालका परिवारहरूमा परेको प्रभावबारे अध्ययन गरेकोमा अगस्तमा पुनः दोस्रो चरणको सर्वे गरेको हो । यो सर्वे नेपालका सबै प्रदेशका प्रतिनिधित्व हुने गरी ४ हजार ६१४ परिवारमाझ सम्पन्न गरिएको डब्लूएफपीले जनाएको छ ।
प्रकाशित समय १८:१६ बजे

















