गृहपृष्ठ पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी

yogesh-bhattarai-newskarobar

सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड–१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७औँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानुको विकल्प नभएको बताए । सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो ।

मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी गराए । कोभिड महामारीका कारण कारण बन्द गरिएको अनअराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टुबर १७ ) देखि खुला गरिसकेको छ ।

पदयात्रा र पर्वतारोहण खुला भएसँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ । यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताए । पर्यटनमन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बर्धनमा सबैले ध्यान दिनुपर्ने औँल्याए ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणका क्षेत्रमा काम गर्ने मजदुर र व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताए । महामारी र कठिन परस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फन्ड) स्थापना गर्न उनले आग्रह गरे ।

महासचिव कुलबहादुर गुरुङले व्यवसायीलाई राहतका लागि सहुलियतपूर्ण कर्जा आवश्यक भएकाले सहजीकरणका लागि सरकारसँग आग्रह गरे । टानका अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसाय चलायमान बनाउन सरकारले थप राहतका प्याकेज ल्याउनुपर्ने बताए ।

एनएमएले पाँच हजार आठ सय मिटरभन्दा कम उचाइका २७ हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको छ । नेपालमा आठ हजार ८४८ मिटर उचाइको सगरमाथादेखि विभिन्न उचाइका तीन हजार ३१० हिमाल छन् । तीमध्ये सरकारले हालसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

देशव्यापी साइकल यात्रा

कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पु‑याउने र आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि देशव्यापी साइकल यात्रा हुने भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पर्यटन व्यवसायीसमेतको टोलीले सुदूरपश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म यात्रा गर्ने कार्यक्रम रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन प्रवर्धनसँगै स्वास्थ्य सचेतना फैलाउने बोर्डको सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको हो । सोमबार बिहान काठमाडौँबाट महेन्द्रनगरतर्फ प्रस्थान गर्ने २१ दिन लामो उक्त साइकल यात्रा नेपाल पर्यटन बोर्ड प्रांगणबाट कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले साइकल यात्रीको समूहलाई बिहान ९ बजे बिदाइ गरेदेखि सुरुवात हुने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । महेन्द्रनगरबाट सुरु हुने यो साइकलयात्राले ठाकुरद्वारा, नेपालगन्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काकडभिट्टासम्म पुगेर आन्तरिक पर्यटन प्रवर्धनका लागि बोर्डको सन्देश प्रवाह गर्नेछ ।

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु