गृहपृष्ठ बडादसैँ आदिवासी जनजातिको मौलिक चाड हो ?

बडादसैँ आदिवासी जनजातिको मौलिक चाड हो ?

हालै हिन्दूहरुको महान् चाड ‘बडादसैँ’ सकिएको छ । यो चाडको अवसरमा पक्ष र विपक्षमा विभिन्न महानुभावहरुले आ-आफ्नो मतहरु राख्नुभएको छ, वास्तवमा बडादसैँ कसको हो त ? भनेर तथ्यसहित तर्कहरु राख्नुभयो । यसक्रममा कतिपय अतिवादी सोच राख्ने व्यक्तिहरुले बडादसैँ हिन्दूहरुको मात्रै नभएर सबै नेपालीहरुको भएको र आदिवासी जनजातिहरुले ‘बडादसैँ आफ्नो चाड नभएको भन्नु बिनाअध्ययन र बिनाआधार अनि फिरिङ्गीहरुको डलर खाएर…’ भन्ने किसिमले जातीय तुस र हिन्दू धार्मिक अहंकारवादी सोचमोत्रै देखिने गरी पनि लेखहरु लेखे । त्यस्तै लेखहरुलाई नेपालका अधिकांश दैनिक पत्रपत्रिका र अनलाइन न्युज पोर्टलहरुले पनि प्रकाशित गरे ।

यसै सन्दर्भमा गत कात्तिक ७ गते राजधानी दैनिकमा र कात्तिक ८ गते गोरखापत्र दैनिक (एकै लेख फरक–फरक शीर्षक) मा दसैँबारे एक लेख लेख्दै दीर्घराज प्रसाईंज्यूले नेपालको वास्तविकता थाहा नभएझैँ गरेर आफ्नो लेखमा ‘कतिपय क्रिस्चियनहरुको प्रभावमा परेका जनजातिका अगुवाहरु यस क्षेत्रका साँस्कृतिक अध्ययन नै नगरी भन्छन्, ‘… पृथ्वीनारायण शाहले जबर्जस्ती लादेको हो ।’ …स्वदेशमा केही मान्छेहरुले बाह्य प्रभावमा दसैँ बहिष्कार गर्ने कुरा उठाए पनि …।’

वि.सं. २०३६ सालमै राजा वीरेन्द्रद्वारा झापाको कोटामा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत गरिएका प्रसाईं जस्ता पुराना राजनीतिज्ञ र वरिष्ठता हासिल गरिसकेका लेखक (जो पूर्वीनेपालका बासिन्दा हुन्) ले नेपालका आदिवासी जनजातिका बारेमा थाहा नपाउनु वा जानाजान थाहा नपाएजस्तो गर्नु अनौठो नै मान्नुपर्ने हुन्छ । लेखक प्रसाईंले भनेझैँ किराँतीहरुलाई नेपालको भगौलिक एकीकणपछि पृथ्वीनारायण शाह वा उनको शेषपछि उनका भाइभारदारहरुले किराँतीहरुलाई दसैँ लादिएको होइन भने (सन् १८६७ (वि.सं. १९२०) मा धनकुटाका ‘राई’द्वय ‘रामलीहाङ’ र ‘रिदामा’लाई दसैँ मान्न नमान्दा राज्यद्वारा किन मारियो होला ? दसैँ किराँतीहरुले र अरु आदिवासी जनजातिहरुले पनि आफैँले, स्वेच्छाले वा भनौँ उनीहरुका पितापुर्खादेखि नै परम्परागत ढंगले मान्दै आएको मौलिक र परम्परागत चाड भएको भए । बडादसैँ नमान्दा राज्यद्वारा मारिएका ती ‘राई’द्वय ‘रामलीहाङ’ र ‘रिदामा’ असलियतमा आठपहरिया किराँतीहरु थिए ।

त्यस्तै यो पंक्तिकारको स्थायी घर तेह्रथुमको सम्दु-७, हाल फेदाप-४ को संगपु गाउँको तुम्फुङ्ला टोलमा हो । मेरो मावली लुम्फुङ्वा थरको लिम्बू हुन् । मेरो मावली बाजे धर्महाङ ‘सुब्बा’ पनि ‘सानो सुब्बा’ हुनुहुन्थ्यो भने अलि पर ठूलो गाउँमा चोङबाङ थरका लिम्बू ‘ठूलो सुब्बा’ अर्थात् ‘मौजे सुब्बा’ हुनुहुन्थ्यो । यहाँ ‘सानो सुब्बा’ र ‘ठूलो सुब्बा’को कुरो किन गरिएको हो भने बडादसैँको ‘महानवमी’को दिन ‘सानो सुब्बा’ले मौलोमा बोकाको मारमात्रै हान्न पाउँथ्यो भने ‘ठूलो सुब्बा’ले राँगोको मार हान्थ्यो ।

समानता भनेको मार हानिसकेपछि मौलोमा तीन फन्को घुमाएर, रगतमा हात चोपलेर आफ्नो घरको ढोकाअगाडि पञ्जा-छाप लगाउने । त्यसैले किटानीका साथ के भन्न सकिन्छ भने नेपालको भगौलिक एकीकरणपछि पूर्वका किराँतीलाई फुटाएर जस्तै लिम्बूलाई ‘सुब्बा’, खम्बुलाई ‘राई’, सुनुवारलाई ‘मुखिया’, याक्खालाई ‘देवान’ अनि मधेसका थारुलाई ‘चौधराई/चौधरी’ पदवी वा भनौँ पगरी दिइयो । जसलाई आम मानिसहरुले बुझ्ने भाषामा भन्नुपर्दा ‘तालुकदार’ वा ‘जिम्वाल’ पनि भनिन्थ्यो । खास कुरो त यस्तो पो हो प्रसाईंज्यू ! ‘सुब्बा’ मात्रै होइन, ‘राई’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदिले पनि त्यसै गर्थे भने विजयादशमी अर्थात् टीकाको दिन गाउँका सबै ‘रैती/ढाक्रे’ अर्थात् हिजोआजको भाषामा भन्नुपर्दा सर्वसाधारण जनता आ-आफ्नो क्षेत्र अर्थात् गाउँको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’हरुका घरघरमा जातअनुसार र औकातअनुसारको कोसेली लिएर ‘टीका-जमरा’ थाप्न जान्थे । फेरि पनि दोहो-याएर भन्नु पर्दा खास कुरो यस्तो हो, प्रसाईंज्यू !

उहाँको जवाफ यस्तो थियो, ‘अन्त त्यसो नगरे त तेरो बाजे चेकिङमा आउँथ्यो । फेरि त्यसो गरेन भने त ‘लिटिङ !’ खुस्काउँथ्यो नि !’

पछि मैले अलिअलि बुझ्ने भएर (काठमाडौँबाट गाउँ जाँदा) मेरो ‘सानो सुब्बा’ बाजे (‘ठूलो सुब्बा’ मरिसक्नुभएको थियो) लाई ‘तपाईंले मौलोमा बोकाको मार हानिसकेपछि मौलोमा हत्तपत्त किन तीन फन्को घुमाएर, रगतमा हात चोपलेर आफ्नो घरको ढोका अगाडि पञ्जा-छाप लगाउनुहुन्थ्यो ?’ भनेर सोधेको थिएँ । उहाँको जवाफ यस्तो थियो, ‘अन्त त्यसो नगरे त तेरो बाजे चेकिङमा आउँथ्यो । फेरि त्यसो गरेन भने त ‘लिटिङ !’ खुस्काउँथ्यो नि !’

स्मरणीय छ, मेरो ‘सानो सुब्बा’ बाजेले इंगित गरेको त्यो बाजेचाहिँ हरेक वर्षको हिउँदमा ‘जय गोरखनाथ !’ भन्दै आउने जोगी थिए । ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’हरुले दसैँ माने-नमानेको प्रमाण नै मार हानिसकेपछि मौलोमा हत्त न पत्त तीन फन्को घुमाएर, रगतमा हात चोपलेर ढोकामा ‘पञ्जा-छाप’ लगाएको ‘छाप’ हुने गरेको थियो ।

यहाँ कुरा प्रसाईंज्यूको मात्रै होइन, नेपालका मै हुँ भन्ने अन्य विद्वान, विश्लेषक, लेखक, विषयविज्ञ भनिनेहरुको प्रसंगमा पनि यही हो । अब आफैँ भन्नोस् त, तपाईंजस्तो पूर्वीनेपाल (सम्भवतः लिम्बूवान क्षेत्र) को बासिन्दालाई यो वास्तविकताबारे थाहा नभएकै हो त ?

त्यसैले मैले मेरो यो अमूल्य समयको सदुपयोग गर्दै यो लेख लेखेको छु । तर, यो लेख लेख्नुको कारण ‘कसैसँग अनुराग र द्वेष राख्नु’ भन्दा पनि देश र समाजको धार्मिक, साँस्कृतिक, भाषिक आदि वास्तविकता र विविधतालाई राज्य, राज्यपक्षका मान्छेलगायत अन्य सबैले मनन गरुन् भन्नेमात्रै हो । त्यसैले नेपालका दैनिक पत्रिका र अन्य मिडियाले हाम्रो देशको सामाजिक, धार्मिक, साँस्कृतिक, भाषिक, लैंगिक, भौगोलिक आदि वास्तविकता र विविधतालाई मनन गरेर सोहीअनुसारका लेख रचनालाई स्थान दिएदेखि ‘सुनमा सुगन्ध’ हुने थियो कि ! भन्ने पनि मेरो अर्को उद्देश्य हो ।

नेपालमा राज्यपक्षका मान्छेहरुले अनेक तानाबाना बुनेर र मिथक र भाष्य निर्माण गरेर एक किसिमको जबर्जस्ती पाराले ‘बडादसैँ चाड’लाई सबै नेपालीको हो भन्ने भान पार्न खोजिएको छ/खोजिन्छ । जस्तो कि आदिवासी जनजाति, मुस्लिम धर्मावलम्बी, बौद्ध धर्मावलम्बी, पश्चिमका खसहरु, मधेसका मधेसीहरु र काठमाडौँका नेवारहरुले समेत ‘बडादसैँ’लाई आफ्नो चाडपर्व मान्दैनन् । तर, यस्तो तथ्य-सत्यलाई एकपाखे ढंगले पाखा लगाएर ‘बडादसैँ चाड’लाई सबै नेपालीहरुको हो भन्ने भान पार्न खोजिन्छ । तर, तथ्य-सत्यसहित लेख्नेहरुलाई, बोल्नेहरुलाई अध्ययन नगरी नबुझी वा पश्चिमाको डलर खाएर ‘नेपालका आदिवासी जनजाति, मुस्लिम धर्मावलम्बी, बौद्ध धर्मावलम्बी, पश्चिमका खसहरु, मधेसका मधेसीहरु र काठमाडौँका नेवारहरुले विरोधका लागि विरोध गरेको समेत भन्न पछि पर्दैनन् । यसरी ‘बडादसैँ चाड’लाई हाम्रो जातीय पर्व हो/होइन भन्नेर बहस र छलफल गर्नेहरुलाई लाञ्छना लगाएर भए पनि आफ्नै चाड वा पर्व हो ! भनी जबर्जस्ती स्वीकार गर्न लगाउने प्रपञ्च रचिन्छ ।

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु