गृहपृष्ठ पार्टी फुटाउँछु भन्नु कार्यकर्तामाथिको ब्ल्याकमेलिङ : हिमाल शर्मा

पार्टी फुटाउँछु भन्नु कार्यकर्तामाथिको ब्ल्याकमेलिङ : हिमाल शर्मा

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता हिमाल शर्माले नेतृत्वबीच स्वार्थ बाझियो भन्दैमा ‘पार्टी फुटाउँछु’ भन्नु आम कार्यकर्तामाथिको ब्ल्याकमेलिङ भएको बताएका छन् । ‘पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ,’ न्युज कारोबारसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘नेकपाको एकता अब दुई जना नेतृत्वले मिल्यौँ भन्दा मिल्नुपर्ने र फुटाउँछौँ भन्दा फुट्नुपर्ने अवस्थाभन्दा धेरै माथि छ, फुटाउँछु भन्नु कार्यकर्तामाथिको ब्ल्याकमेलिङमात्र हो ।’

नेकपाभित्र सैद्धान्ति, वैचारिक या रणनीतिक कुनै पनि किसिमको विवाद नरहेकाले फुट्ने आधार नै नभएको उनको तर्क छ । ‘पार्टीको कार्यदिशा भनेको समाजवाद हो, त्यसकै लागि पार्टी एकता भएको हो,’ नेकपाका काठमाडौँ जिल्ला सचिव शर्माले भने, ‘स्वार्थ बाझियो भन्दैमा पार्टी विभाजनको धम्की दिने कुरा जस्टिफाइ हुन सक्दैन, हामी तत्काल यसको जवाफ खोज्छौँ ।’

भदौ २६ गतेको स्थायी कमिटी बैठकले तयार पारेको दस्तावेजको स्पिरिटअनुसार नेताहरू कार्यकर्तासम्म पुग्दै र उनीहरूलाई बुझाउँदै गर्दा जुन प्रकारका गतिविधि नेतृत्वबाट भइरहेका छन् यसले सबैलाई मर्माहत बनाएको नेता शर्माले बताए । ‘आफूले भनेजस्तो भएन भन्दैमा पार्टी फुटाउने कुरा किन र कसरी आयो, यसको जवाफका लागि हामी मंसिर १५ कुर्न सक्दैनौँ, स्थायी कमिटी बैठक तत्काल बस्नुपर्छ, त्यहाँ हामीलाई चित्तबुझ्दो जवाफ नेताहरूले दिनुपर्छ ।’

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु