गृहपृष्ठ नागढुंगा सुरुङ मार्गको काम मंसिरबाट थालिने
नागढुंगा सुरुङ मार्गको काम मंसिरबाट थालिने
टनेल मार्गको प्रवेशका प्रारम्भिक डिजाइन
कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुंगा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो कर्पाेरेसनले सुरुङका लागि आवश्यक तयारी गरिरहेकाले आगामी मंसिर ९ गतेबाट खन्न थालिने भएको छ ।
गत चैतदेखि नै कोरोनाका कारण काम सुस्त भएकामा पछिल्लो समय गति लिइरहको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । नेपालको पहिलो आधुनिक उक्त सुरुङमार्ग अहिले निर्माणका लागि आवश्यक जनशक्ति र उपकरण दुवै भएकाले काम धमाधम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।
पश्चिम (धादिङ जिल्लातर्फ) सुरुङ खन्नका लागि आवश्यक तयारी भइरहँदा पूर्व(काठमाडौं) तर्फ पनि जग्गा अधिग्रहणलगायतका काम अघि बढाइएको छ । सुरुङ खन्ने ठाउँमा पहिल रसायन हाल्नुपर्ने भएकाले रसायनले जमाएपछि त्यहाँ स्टिलको फ्रेम हालिने जानकारी दिँदै उनले भने, ‘फ्रेम हालेको ८/१० दिनपछि नै खन्न सुरु गर्न सकिन्छ ।’
आयोजना निर्माण स्थानमा माटो सम्माउने र पहुँच हुने सडक निर्माण पनि सुरुङसँगै अघि बढिरहेको प्रमुख शाक्यले बताए। एउटा काम सकेपछि अर्काे सुरु गर्दा ढिलाइ हुने भएकाले गर्न सकिनेसम्म काम सँगसँगै भइरहेको उनले जानकारी दिए ।
निर्माणस्थलमा अहिले आवश्यक पर्ने ९८ प्रतिशत उपकरण निर्माण कम्पनीले ल्याइसकेको छ । कतिपय निर्माणसामग्री यहीँबाट त कतिपय जापानबाट ल्याइएको छ । निर्माणस्थलमा २० जापानीसहित झण्डै २०० जना कार्यरत छन् ।
नेपालीमा कतिपय दक्ष र कतिपय अदक्ष गरी दुवै किसिमका जनशक्ति छन् । जापानबाट अझै झण्डै १५ जना आउन लागेको उनले जानकारी दिए । ‘कोभिडका कारण उनीहरुलाई आउन सहज नभए पनि हामीले सहजीकरण गरिरहेका छौँ,’ उनले भने ।
कोभिड–१९ कै कारण आयोजना पहिले निर्धारित तालिकाभन्दा झण्डै १६ प्रतिशत पछाडि धकेलिएको छ । पहिले कोरोनाका कारण जापानबाट आउनुपर्ने जनशक्ति आउन नसकेकाले ढिलाइ भएको शाक्यले बताए ।
अहिले जनशक्ति आइरहेको र आवश्यक सामग्री जुटिरहेकाले निर्धारित समयभन्दा ढिलो नहुने उनको भनाइ थियो । बाँकी अवधिमा नियमित काम गर्न सके अबको साढे दुई वर्षमा आयोजना सम्पन्न हुनेछ ।
बन्दाबन्दीका समयमा निर्माण सामग्रीको अभाव रहेको थियो भने धादिङका कतिपय स्थानीय तहले गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी गर्न दिएका थिएनन् । अहिले स्थानीय तहसँगको समन्वयमा त्यसको समाधान खोजिएको आयोजनाले जानकारी दिएको छ ।
नेपालको पहिलो सुरुङमार्ग निर्माण पूर्वाधारमा नयाँ आयामसँगै यहाँका प्राविधिक जनक्तिका लागि सिक्ने अवसर पनि भएको छ । निर्माण कम्पनीलाई सहायक कम्पनी छान्दा सकेसम्म धेरै वटा छानेर धेरैले सिक्ने अवसर दिन भनिएको उनले बताए । सडक विभागका इञ्जिनियरले पनि यहाँबाट सिकिरहेका छन् । ‘निर्माणस्थलमा कसरी काम भइरहेको छ भनी नियमित बिफ्रिङ पनि हुने गर्छ,’ शाक्य भन्छन् ।
धादिङतर्फ अहिले जग्गा अधिग्रहण भइसकेको छ । निर्माणस्थलमा रहेका झण्डै १३ घरहरु भत्काउन बाँकी छ । घरधनी आफैँले दसैंतिहारपछि आफैँ भत्काउने भनेको प्रमुख शाक्यले जानकारी दिए ।
काठमाडौँको बलम्बुमा ‘फ्लाई ओभर’ निर्माण हुने स्थानमा जग्गा अधिग्रहण गर्न बाँकी छ । आयोजनाअन्तर्गत नै कर्लभ पुल, खानेपानीको ट्ङ्याकी निर्माण र पहुँच सडक निर्माणको काम पनि अघि बढिरहेको छ ।
सिस्नेखोलालाई स्थानान्तरण गरेर सो स्थानमा माटोले पुर्ने काम पनि अघि बढाइएको छ । ,आयोजनाअन्तर्गत गर्नुपर्ने सानाठूला काम एकसाथ अघि बढिरहेको छ,’ शाक्यले भने ।
निर्माणस्थलमा झण्डै नौ सय टन विस्फोटक पदार्थ आवश्यक पर्नेमा तीन सय टन भारतबाट आउँदैछ । यहाँ अहिले ६० टन मात्रै भण्डारणको क्षमता छ । भण्डारण गर्न सकिने पदार्थ आइरहेको उनले जानकारी दिए ।
गत वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो ।
सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।
आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।
सुरुङमार्गकै मुख र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् ।
सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ ।
कमजोर ढुंगा माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क र तरकारी संकलन केन्द्रलगायतका स्टल हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ (सल्लाहकार) गजेन्द्र थपलियाले प्रधानमन्त्री ओलीले यस आयोजनालाई प्राथमिकता प्राप्तमा राखी विशेष चासो दिनुभएकाले सम्बन्धित निकायले समयमै काम गर्ने अपेक्षा व्यक्त गरे । (रासस)
प्रकाशित समय १८:३५ बजे

















