गृहपृष्ठ कोभिड-१९ ले मृत्यु भएका कर्मचारीको विवरण खोज्दै सरकार
कोभिड-१९ ले मृत्यु भएका कर्मचारीको विवरण खोज्दै सरकार
देशभित्र कोभिड-१९ महामारी तीव्र गतिमा बढ्दै गएको र यसका कारण मृत्यु हुनेहरूको संख्या बढ्न थालेपछि सरकारले यसका कारण मृत्यु भएका कर्मचारीहरूको विवरण खोज्न थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै देशैभरिका सबै मन्त्रालयलाई पत्राचार गरेर मृतक कर्मचारीको विवरण संकलन गर्न थालेको हो ।
मन्त्रालयका पत्रमा राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि सबै मन्त्रालय, संवैधानिक निकायहरू, प्रदेश सरकार, आयोगहरू सबैलाई कोभिडका कारण मृत्यु भएका कर्मचारीको विवरण पठाउन भनिएको छ । सरकारले कुन प्रयोजनका लागि कोभिड-१९ का कारण मृत्यु भएका कर्मचारीको विवरण माग्यो भन्ने पत्रमा खुलाइएको छैन ।
देशभरि कोभिड संक्रमणका कारण मृत्यु हुने नेपालीहरूको संख्या सरकारले लुकाएको भन्ने आरोप लागिरहेको बेला सरकारमातहत संघदेखि प्रदेशसम्म कार्यरत कर्मचारीमध्ये मृतकको विवरण सरकारले खोजेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबारसम्म १ हजार ७० जनाको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ, जबकी नेपाली सेनाले कातिक दोस्रो सातासम्म नै १ हजार ४०० जनाको प्रोटोकलअनुसार दाहसंस्कार गरिसकिएको बताएको छ ।
मृतकको संख्याबारे अन्योल बढेपछि सरकारले यसबारे समन्वय गरी वास्तविक तथ्यांक सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलेजा रेग्मीका संयोजकत्वमा कात्तिक २ गते गठित समितिले अहिले सही तथ्यांक निकाल्न सकेको छैन ।
सर्वाधिक संक्रमित र मृत्यु बागमतीमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभरिमै सर्वाधिक रूपमा कोभिड-१९ संक्रमितहरूको संख्या र यसकै कारण मृत्यु हुनेहरू बागमती प्रदेशका छन् । शुक्रबार अपराह्नसम्मको तथ्यांकअनुसार बागमती प्रदेशमा ६७ हजार ८९० जना संक्रमित भएकामा ५२९ जनाको मृत्यु भएको छ । यद्यपि, गृहमन्त्रालयको तथ्यांकले भने शुक्रबारसम्म बागमतीमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ५७५ जना देखाएको छ ।
बागमतीमा पनि सर्वाधिक संक्रमित काठमाडौंसहित उपत्यकामा छन् भने मृतक पनि यी तीनै जिल्लामा बढी छन् । शुक्रबारसम्म काठमाडौंमा कुल संक्रमित ६९ हजार ४७९ जनामध्ये सक्रिय संक्रमितका संख्या १५ हजार जना छ भने यसकै कारण मृत्यु हुनेको संख्या २६२ जना छ ।
यस्तै, ललितपुरमा कुल संक्रमित ९ हजार ८५० जनामध्ये सक्रिय संक्रमितका संख्या २ हजार २२६ जना छ भने यसकै कारण मृत्यु हुनेको संख्या ६६ जना छ भने भक्तपुरमा कुल संक्रमित ६ हजार ३५३ जनामध्ये सक्रिय संक्रमितका संख्या १ हजार २४२ जना छ भने यसकै कारण मृत्यु हुनेको संख्या ६९ जना छ ।
बागमतीपछि बढी मृत्यु भएका अन्य प्रदेशहरूमा प्रदेश २ मा १६५, लुम्बिनीमा १४६, प्रदेश १ मा १३१, गण्डकी ६१, सुदूरपश्चिम २५, र कर्णालीमा १६ जना छन् । हालसम्म नेपालका एक जना विदेशी नागरिक (चिनियाँ)को पनि कोभिड- १९ संक्रमणका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय १४:०४ बजे

















