गृहपृष्ठ ‘कोभिड-१९ विरुद्ध नागरिक अभियान’ ललितपुरबाट सुरु
‘कोभिड-१९ विरुद्ध नागरिक अभियान’ ललितपुरबाट सुरु
काठमाडौं उपत्यकालगायत मुलकभर तीव्र गतिमा कोभिड-१९ को महामारीको प्रकोप बढिरहेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्नका लागि जनसमुदायमा सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्ने उद्देश्यले सञ्चालित कोभिड-१९ विरुद्ध नागरिक अभियान ललितपुरको लविम मलबाट सुुरुवात गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका उपप्रमुख गीता सत्यालले कोभिड १९ को महामारी न्यूनीकरणमा निजी क्षेत्र तथा नागरिक समाजको सक्रियताको उच्च सराहना गर्दै अभियानको सफलता र निरन्तरताको लागि शुभकामना व्यक्त गरिन् । उनले सरकार आफ्नो जिम्मेवारी निर्वाहमा संवेदनशील रहेको र निजी क्षेत्र तथा नागरिक समाजको यस अभियानमा सहयोग र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिहेको विषम परिस्थितिमा निजी क्षेत्र तथा नागरिक समाजले संगठित रुपमा यस महामारीको न्यूनीकरण र रोकथामका लागि अघि बढ्न आवश्यक रहेको महशुस गरी अभियानको प्रारम्भ गरिएको बताउँदै कोभिड १९ दीर्घकालिन समस्याको रुपमा देखिदै गरेकाले सुरक्षित मापदण्ड अपनाई अगाडी बढ्नुको विकल्प नरहेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले व्यवसाय तथा समाजलाई सुरक्षित रुपमा अगाडि बढाउन स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
उपस्थित जनस्वास्थ्य विज्ञ, स्थानीय प्रतिनिधि, सुरक्षाकर्मीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले काठमाडौं उपत्यकालगायत मुलुकभर बढ्दो कोभिड संक्रमणको तीव्र वृद्धिले गम्भीर चिन्ता सिर्जना गरेको बताउँदै आमनागरिक आफै सू-सुचित हुनुपर्नेमा जोड दिए । अभियान राष्ट्रिय व्यवसायिक पहलको सहकार्यमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ तथा पिपुल्स हेल्थ मुभमेन्ट नेपाललगायतका संस्थाहरुको समन्वयमा सञ्चालन भैरहेको छ ।
प्रकाशित समय १४:२२ बजे

















