गृहपृष्ठ सुर्खेतमा थप एक कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा थप एक कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए । एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरेशन कम रहेको, अक्सिजन आदान प्रदानका साथै भेन्टिलेटरमा राखेर उपचार गरिएको र सुधार नभएपछि शनिबार राति मृत्यु भएको महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । ती बिरामी बेहोस भएपछि छाती थिचेर ब्युँताउने प्रयास गरिएको थियो ।

स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको बताए । यससँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

संक्रमितको संख्या ६ हजार ९८३ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा थप १२ जनाको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै विभिन्न प्रयोगशालामा गरी हालसम्म ९३ हजार ३७३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार ६ हजार ४५१ जना संक्रमणमुक्त भइसकेका छन् । (रासस)

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु