गृहपृष्ठ मुड फ्रेस गर्न चिसापानी !
मुड फ्रेस गर्न चिसापानी !
९ महिनापछि जुर्मुराउँदै आन्तरिक पर्यटन
कोरोनाका कारण ९ महिनादेखि बन्दीजस्तै घरमै बसेकाहरु अब भने खुलेर बाहिर निस्कन थालेका छन् । सुदूरपश्चिम र लुम्बिनीलाई जोड्ने कर्णाली चिसापानीमा पनि आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ । सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट कर्णाली पुलको अवलोकनसँगै कर्णाली नदीमा र्याफ्टिङका लागि पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । ९ महिनादेखिको तनावलाई कर्णालीको यो वातावरणले भुल्ने मौका दिएको पर्यटकहरु बताउँछन् ।
कोरोनाका कारण ९ महिनादेखि बन्द रहेका पर्यटकीय स्थलहरुमा अहिले चहलपहल बढ्न थालेको छ । लामो समयसम्म घरभित्रै बसेका नागरिकहरु अहिले आफूलाई आनन्दित तुल्याउन पर्यटकीय क्षेत्रहरुमा पुगिरहेका हुन् । लकडाउनपछि बालबालिकालाई घुमाउन नपाएका अभिभावक पनि खुसी देखिएका छन् । अहिले सुदूरपश्चिमको मुख्य पर्यटकीयस्थलको रुपमा चिनिएको कर्णाली पुलमा युवा पिँढीको जमात नै देखिन्छ । टाढाबाट आएर फोटो खिच्ने र टिकटक बनाउनेहरुको भिड नै लाग्ने गरेको स्थानीयले बताएका छन् । यहाँ पुगेका पर्यटकहरुले पुलको अवलोकन र कर्णालीमा र्याफ्टिङ गरेर निकै आनन्द लिइरहेका छन् ।
‘यहाँ आएर बिभिन्न ठाउँ घुम्न पाइयो,’ बाँकेको खजुराकी पार्वती क्षेत्रीले भनिन्, ‘अहिले फ्रेस हुन आएका हौं ।’ उनले कोरोनाको डर विस्तारै हड्दै गएको बताइन् । ‘चिसापानीमा आएर माछा खाइयो, र्याफ्टिङ पनि गरियो, टिकटक बनाइयो,’ कति भित्रभित्रै गुम्सिएर बस्ने, बच्चाहरु आजित भइसके, त्यही भएर उनीहरुलाई ल्याएर आएकी हुँ ।’ उनीसहित खजुराबाट ८ जनाको टोली कर्णाली चिसापानी आएका छन् । ‘नौ महिनासम्म न कलेज जान पाइयो, न आफन्तसँग भेट भयो, अत्यावश्यक काम बाहेक बाहिरै निस्कन पनि पाइएन, त्यसैले कलेजका साथीहरु मिलेर कर्णाली पुलमा आएको,’ बाँकेको खजुराकै सर्मिला सिह सुनारले भनिन् ।
चिसापानीमा आएर माछाको स्वाद लिनुका साथै रमणीय वातावरणको अवलोकन गर्न पाएको अनुभव पर्यटकहरु सुनाउँछन् । अत्यावश्यक काम बाहेक बाहिर निस्कनै नपाइने अवस्थामा नौ महिना काट्न निकै मुस्किल परेका बेला अहिले यहाँ घुम्न पाउँदा निकै खुशी लागेको उनीहरु बताउँछन् । नौ महिनासम्म कलेजका साथीहरुसँग भेटघाटै नभएका बेला बल्ल लकडाउन खुलेपछि कर्णाली पुलमा घुम्न पाएको अनुभव पर्यटकहरु सुनाउँछन् ।
बर्दियाको मधुवन नगरपालिकाबाट आएकी निसा मिश्रले कोरोना कोरोना भनेर कति दिन बन्दी बस्ने भन्दै अत्यास लागेपछि कलेजका साथीहरु मिलेर आएको प्रतिक्रिया दिइन् । उनको कलेजका १४ जना साथीहरु चिसापानी आएका थिए । ‘साथीहरुसँग भेट भयो, कत्ती दिनपछि यसरी रमाउन पाइयो, खुसी लागेको छ,’ उनले थपिन् । बर्दियाबाटै चिसापानी पुगेका दिपेन्द्र साउँदले कर्णालीको पुलमा तस्बिर खिचाउन र माछा खानकै लागि आएको बताए । उनले कोभिड भन्दाभन्दै धेरै क्षेत्र तहस नहस भएकाले अब सावधानी अपनाउदै सबै क्षेत्र खुला गरिनुपर्ने बताए ।
धनगढीका दीपक ओलीले कर्णाली पुलमा जहिले पनि एकनासको हावा चल्ने र दक्षिण एसियाकै एउटा मात्र पिल्लरमा बनेको पुल भएका कारण यस पुललाई हेर्न धेरै ठाउँबाट पर्यटक आउने गरेको बताए । शान्त रमणीय वातावरण भएको पुल, कलकल बग्ने कर्णाली नदी, यताउता पहाड भएको यो ठाउँ हेर्न धेरै पर्यटक पुग्ने उनको भनाई छ ।
प्रकाशित समय १०:१२ बजे

















