गृहपृष्ठ धनगढीमा सम्झौता भएको पाँच वर्षपछि स्तरीय सडक निर्माण अघि बढ्यो

धनगढीमा सम्झौता भएको पाँच वर्षपछि स्तरीय सडक निर्माण अघि बढ्यो

बहुप्रतीक्षित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतका सडकको निर्माण कार्य बिहीबारबाट धनगढीमा सुरु भएको छ । धनगढी उपमहानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने कार्यक्रमको रुपमा यो परियोजनालाई लिइएको छ । पहिलो चरणमा धनगढीमा साढे १० किलोमिटर सडक निर्माणको ठेक्का भई बिहबिारदेखि काम सुरु भएको हो । परियोजनाको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले क्याम्पस गेट-चटकपुर सडकको शिलान्यास गरेका छन् ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा सम्झौता भएको थियो । सम्झौता भएको भएको लामो समय बित्दा पनि सडक निर्माणको काम अघि बढ्नसकेको थिएन । सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणबद्ध रुपमा अघि बढ्ने नगर प्रमुख वडले बताए । उनका अनुसार चाँडै दोस्रो चरणका सडक निर्माणका लागि टेन्डर हुँदै छ ।

पहिलो चरणमा ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले सातवटा सडक निर्माण गर्नेछ । जसअन्तरगत चरणमा गुल्म-चर्च रोड (२ हजार ७ मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहादेखि-कैलाली नाला (१ हजार ३८० मिटर), हुलाकी सडक-क्याम्पस रोड-जाखोरताल (७ सय मिटर), क्याम्पस रोड-चटकपुर (३ हजार ६५० मिटर), धनगढी-खुटिया स्याउले रोड (८७० मिटर), मालपोत रोड (४३० मिटर) र हसनपुर रोड (१ हजार १५० मिटर) स्तरीय सडक बन्ने क्षेत्रीय सहरी विकास आयोजना धनगढीका उपनिर्देशक श्यामचन्द्र बुढाथोकीले बताए । पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७४ रुपयाँको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको छ ।

धनगढीका बाहिरी सडक विस्तार तथा कालोपत्रे बनाइसक्दा पनि क्षेत्रीय सहरी विकास परियोजनाको पर्खाइमा मुख्य बजार क्षेत्रका सडक विस्तार गर्न सकिएको थिएन । बजारभित्रका सडक मर्मत नहुँदा आवतजावतमा समस्या हुँदै आएको थियो । परियोजना सुरु भएसँगै त्यो समस्या समाधान हुने धनगढी ४ का रणबहादुर चन्दले बताए । यस आयोजना सम्पन्न भए धनगढी निकै सुन्दर बन्ने भन्दै उनले खुसी व्यक्त गरे ।

धनगढी १ का दीपक ओलीले पनि योजना कार्यान्वयन भएको भन्दै खुसी व्यक्त गरे । ‘योजना बल्ल सुरु भयो,’ उनले भने, ‘अब निर्माण कम्पनी र आयोजना तथा धनगढी उपमहानगरले सक्रियताका साथ लागेर काम समयावधिभन्दा पनि अघि नै सम्पन्न गर्नुपर्छ ।’

सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाहरू घरधनीले आफैँ धमाधम भत्काउन थालेका छन् । कतिपय जिल्लामा घरधनीले सडक विस्तारका क्रममा मुआब्जा माग्दै मुद्दा मामिला गर्दा सडक निर्माण तथा विस्तारको काम अलपत्र परिरहेका बेला धनगढीमा भने सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउन धरधनी आफैँ लागिपरेका हुन् ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु