गृहपृष्ठ के हुँदै छ मेलम्ची ? कहिले आउला काठमाडौंमा पानी ?

के हुँदै छ मेलम्ची ? कहिले आउला काठमाडौंमा पानी ?

फाइल तस्बिर ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ कि छैन भनेर अध्ययन थालिएको छ । दातृ निकायले चार जनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाएको हो ।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरिरहेको छ । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गर्न थालेको हो ।

एसियाली विकास बैँक (एडीबी) ले सुरुङको सबै भागको अवलोकन गर्नका लागि चार जना प्रतिनिधि पठाएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनीहरुको अध्ययन प्रतिवेदनका आधारमा अहिले पानी हाल्न ठीक छ कि छैन भनी निर्णय गरिने उनले जानकारी दिए । पन्तका अनुसार उनीहरु निर्माणस्थलमा रहेर त्यहाँ सुरुङ हेरिरहेका छन् र त्यसकै आधारमा प्रतिवेदन दिनेछन् ।

प्राविधिक टोलीले अध्ययनका लागि सामान्यतया २८ दिन लाग्ने देखिएको छ । एडीबीका ती प्रतिनिधिले डिसेम्बरभित्रमा अध्ययन सक्ने अपेक्षा गरिएको छ । २७ किमी लम्बाइको सुरुङसँगै द्वारहरुको अवस्था हेर्न समय लाग्ने भएको हो । उनीहरुले सबै ठीक छ अब पानी भर्न मिल्छ भनेपछि पानी हालिने तयारी गरिएको आयोजनाले जनाएको छ ।

सुरुङमा चार द्वारमा सुधार गर्नुपर्नेमा त्यो काम अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने काम भइरहेको छ । यसअघि त्यसको प्वाल हाल्ने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो । फ्रेमलाई कंक्रिट राखेर केही दिन हेर्नुपर्ने उनले बताए । फ्रेम हालिसकेर कंक्रिट राखिएको र त्यसले आफ्नो क्षमतामा आउन अझै केही समय लाग्ने बताइएको छ ।

परीक्षणका लागि पुनः पानी सुरुङभित्र हाल्न अझै करिब १५‑१६ दिन लाग्ने आयोजनाले जनाएको छ । सुरुङ भरिएपछि केही दिनसम्म त्यो पानीलाई भित्र नै थुनेर राखिन्छ । सबै पानी बाहिर निकालेपछि मात्रै त्यसमा समस्या भए/नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ । सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायी रुपमा पानी पठाइन्छ । यो प्रक्रियाका लागि दुई महिना लाग्ने उनले बताए ।

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार केही महिनायता सुरुङमा पुनरावलोकनको काम भइरहेको छ ।

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण सुरु हुने उनले जानकारी दिए । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्यांकीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने प्रवक्ता शाक्यले बताए । अहिले बागमतीको पानीमार्फत परीक्षण भइसकेको छ ।

यसअघि सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकोमा एक सातामा पानी बाहिर निस्केको थियो । दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले द्वार भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

सो दुर्घनाका कारण कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इन्जिनियर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इन्जिनियर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इन्जिनीयर गोहित भोलिपल्ट मृत फेलापरेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।

दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र द्वार निर्माण गर्ने कम्पनी दुवैले लिएका थिए । परामर्शदाता इटास कम्पनी हो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडवर्क्स’* निर्माण गरिरहेको छ । ‘हेडवर्क्स’ सकिन अझै ६ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पठाइनेछ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन । बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो ।

२०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

खानेपानी मन्त्रालयले पटक‑पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले समय धकेलिएको छ । (रासस)

(*सच्याइएको)

प्रकाशित समय १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु