गृहपृष्ठ दम्भका कारणा सरकार मात्रै होइन नेकपा पनि असफल : एनपी साउद

दम्भका कारणा सरकार मात्रै होइन नेकपा पनि असफल : एनपी साउद

smart

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सरकार मात्रै नभई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)समेत असफल भइसकेको दावी गरेका छन् । धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘नेकपाको करिब दुइतिहाई बहुमतप्राप्त सरकारले जनताको चाहनाअनुरुप काम गर्न सकेको त थिएन नै नेकपा पार्टी नै असफल भइसक्यो,’ नेता साउदले भने । धुमधामका साथ दुई पार्टी एकता गरेर निकै दम्भ पलाएको नेकपामा अब त्यो दम्भ सकिएको उनले बताए । साउदले भने, ‘अब नेकपा फुटको संघारमा छ । नफुटे पनि नेकपामा अब अन्तर्घात निकै हुन्छ । यसकारण नेकपा असफल पार्टी हो,’ उनले भने, ‘देशमा नेपाली कांग्रेसजस्तो सफल पार्टी अरु हुनै सक्दैन ।’

नेता साउदले कांग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रममात्रै भएको बताए । ‘नेपाली कांग्रेस सरकारमा जाने हल्ला कपोकल्पित हो, भ्रम हो । कांग्रेस सत्तामा जाने भनेर चलाइएको हल्ला नेकपाको आन्तरिक लडाइँको एउटा पार्टमात्रै हो,’ उनले भने ।

कांग्रेसका लागि सत्ता महत्वपूर्ण नभएको जिकिर गर्दै नेता साउदले जनताको आस्था र विश्वास जित्ने कुरा नै कांग्रेसका लागि महत्वपूर्ण भएको बताए । ‘हामी जनताको आस्था र विश्वास आगामी निर्वाचनको प्रक्रियामार्फत अगाडि बढ्नेछौं,’ उनले भने । गत निर्वाचनमा जनताले दिएको जिम्मेवारीअनुसार कांग्रेस पाँच वर्षसम्म लगातार प्रतिपक्षमा बस्ने नेता साउदले बताए । ‘पाँच वर्षपछि मात्र हामी कम्युनिष्टहरुले गरेको विकास यो हो, हामीलाई तपाईंले बहुमत दिएको बेला नेपाली कांग्रेसले गरेको विकास यो हो भनेर जनतामाझ जान्छौं । जनताबाट अनुमोदित भएरमात्रै हामी सरकारमा जाने हो,’ नेता साउदको भनाइ थियो ।

नेता साउदले सोमबार कांग्रेसले गर्न लागेको देशव्यापी विरोध प्रदर्शन सरकारको अधिनायकवादविरुद्ध केन्द्रित रहेको पनि बताए । पूर्व सिँचाईमन्त्रीसमेत रहेका नेता साउद सोमबार अछाममा हुने विरोध प्रदर्शनमा सहभागी हुँदैछन् ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु