गृहपृष्ठ अमेरिकी विश्वविद्यालयमा नेपाली मूलका प्रोफेसरको नाम
अमेरिकी विश्वविद्यालयमा नेपाली मूलका प्रोफेसरको नाम
नेपाली मूलका एक जना प्रोफेसर र उनकी पत्नीको नामबाट अमेरिकाको एक विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालयको नामकरण गरिएको छ । वेस्ट भर्जिनिया राज्यको फेयरमन्ट राज्य विश्वविद्यालयले प्रोफेसर डा. तुलसी जोशी र श्रीमती मर्लिनको नाममा ‘तुलसी एन्ड मर्लिन जोशी अफिस फर एजुकेसनल पाथवेज फर इन्टरनेसनल सेन्टर्स एन्ड स्टुडेन्टस्’को नाम दिएको हो ।
डा. जोशी दम्पतीले सो कार्यक्रमका लागि धेरै रकम दान गरेकाले विश्वविद्यालयले सम्मान गरेको जनाइएको छ । बझाङको तामाखानीमा जन्मिएका जोशीले एसएलसी पास गरेपछि ११ दिनको पैदल यात्रा र ट्रेन तथा बस यात्रा गर्दै १५ दिन लगाएर पहिलोपल्ट काठमाडौँ पाइला टेकेका थिए ।
सन् १९६३ मा भूगोलमा स्नातकोत्तर गरेपछि इस्टवेस्ट सेन्टर छात्रवृत्ति कार्यक्रममार्फत थप अध्ययनका लागि उनी अमेरिका गएका थिए । डा. जोशीले धनगढीमा रहेको एक विद्यालयलाई पनि ७० लाख रुपैयाँ दान गरेका छन् । सम्मानस्वरुप सो विद्यालयको नाम पनि राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय राखिएको छ ।
प्रकाशित समय १५:३७ बजे

















