गृहपृष्ठ नेकपाको बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

नेकपाको बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौँको पेरिसडाँडामा बुधबार बसेको प्रचण्ड-माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

नेकपाले बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ । त्यस्तै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरिएको छ ।

नेकपा नेता योगेश भट्टराईले मंगलबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा शाक्यलाई बागमती प्रदेशको भावी मुख्यमन्त्री भन्दै सम्बोधन गरेका थिए । निरंकुश शैलीमा प्रतिनिधि सभा भंग गरी तानाशाह बनेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण अहिले नेकपा दुई चिरामा विभक्त भइसकेको छ ।

नेकपा चिरा परेसँगै केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म हलचल आइसकेको छ । त्यसकै प्रभावस्वरुप बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको खेल सुरु भएको हो । दुई तिहाइ केन्द्रीय सदस्य साथमा रहेको नेकपा प्रचण्ड-नेपाल समूहले ओलीलाई पार्टीबाट बर्खास्त गरिसकेको छ । नेकपा पार्टी र चुनाव चिह्नका विषयमा भने निर्वाचन आयोगले टुंगो लगाइसकेको छैन ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु