गृहपृष्ठ नौ वर्षमा पनि बनिसकेन कन्द्रा नदीमा पुल

नौ वर्षमा पनि बनिसकेन कन्द्रा नदीमा पुल

कैलालीको भजनी नगरपालिका ३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको जम्मा ६० प्रतिशतमात्र काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण २०६८ बाट सुरु भएको हो । पुल अढाइ वर्षमा निर्माण सम्पन्न गर्ने गरी बिरुवा लामासाल्पा शेर्पा कम्पनीले ठेक्का लिएको थियो । चार स्पान र पाँच पिलर भएको पुलको नौ वर्ष बित्दासमेत एउटा स्पान र चार पिलरमात्र निर्माण भएको छ ।

निर्माण सुरु भएको लामो समयसम्म पनि पुल नबन्दा त्यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या भइरहेको भजनी नगरपालिका ३ का सीताराम चौधरी बताउँछन् । ‘पुल नभएका कारण यहाँका नागरिकलाई नदी तर्न निकै समस्या छ । सबैलाई अप्ठ्यारो छ । नदी तर्न डुङ्गा तर्नुपर्ने समस्या छ,’ उनी भन्छन्, ‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ । कहिलेकाहीँ राति पनि हिँड्नुपर्ने हुन्छ । राति कसरी डुङ्गा चढ्नु ? पुल नहुँदा निकै दुःख पाइयो ।’

भजनी नगरपालिका ५ र ७ नम्बर वडाका स्थानीयलाई नगरपालिकामा आउन त्यो नदी तर्नैपर्ने हुन्छ । नदी तर्न निकै समस्या हुने गरेको वडा नम्बर ७ का श्यामलाल थारू बताउँछन् । ‘हामीलाई सबैभन्दा बढी पीडा नदी तर्नकै छ । दुःख बिमार हुँदा भजनी जान सक्दैनौँ । आपतकालीन अवस्थामा रातिको समयमा नदी तर्न सकिँदैन,’ उनले भने, ‘कसैलाई सुत्केरी व्यथा लागे हामी राति अस्पतालसम्म पु‑याउन सक्दैनौँ । पुल बन्ने आशा पनि मरेको छैन ।’

लामो समयसम्म पुल नबन्दा भजनीको मात्र नभई हुलाकी राजमार्गको पनि गति कम भएको छ । राजमार्ग सञ्चालनमा समस्या भएको छ । यसरी पटक–पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनुपर्ने स्थानीय जयबहादुर बुढाको माग छ । ‘समयमै निर्माण सक्नुपर्ने हो, नौ वर्षसम्म पुल निर्माणका नाममा फाइदा लिने निर्माण व्यवसायीलाई सरकारले कारबाही गर्नुपर्छ,’ उनी भन्छन्, ‘सम्झौता रद्द गरी अर्को कम्पनीलाई दिएर काम सक्नुपर्छ । नागरिकलाई निकै कष्ट भएको समस्या समाधानमा स्थानीय सरकारले पहल थाल्नुपर्छ ।’

बिरुवा लामा साल्पा शेर्पा कम्पनीले आफ्नो तर्फबाट कुनै लापर्बाही नभएको प्रतिक्रिया दिएको छ । सुरुमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको र पछि साझेदारले काम नगर्दा ढिलाइ भए पनि अहिले काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ । कोराना महामारीका कारण केही समस्या आए पनि यो आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुने कम्पनीका साइड प्रतिनिधि नगेन्द्र रावतले बताए ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार चार करोड ४२ लाख लागतमा पुल निर्माणको म्याद थप गर्दै २०७७ माघसम्म पु‑याइएको छ । भौतिक पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरी समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याई कारबाही नगर्दासम्म यस्ता समस्या आइरहने स्थानीय बताउँछन् । (रासस)

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु