गृहपृष्ठ कोरोनाबाट विश्वभर १८ लाख ६० हजार मानिसको मृत्यु, ६ करोड १० लाख जना संक्रमणमुक्त

कोरोनाबाट विश्वभर १८ लाख ६० हजार मानिसको मृत्यु, ६ करोड १० लाख जना संक्रमणमुक्त

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड- १९)बाट हालसम्म १८ लाख ६० हजार मानिसले ज्यान गुमाएका छन् । बितेका २४ घण्टामा मात्रै विश्वमा ९ हजार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३५ हजार कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ करोड ६१ लाख १० हजार पुगेको छ । त्यस्तै मंगलबारसम्म ६ करोड १० लाख ६० हजार जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ३१ लाख ८८ हजार छ । जसमध्ये १ लाख ७ हजार जनाको अवस्था गम्भिर छ ।

सबैभन्दा बढी कोरोनाभाइरस फैलिएको अमेरिकामा संक्रमितको संख्या २ करोड १३ लाख ५३ हजार रहेको छ । अमरिकामा हालसम्म ३ लाख ६२ हजारले कोरोनाको कारण ज्यान गुमाएका छन् भने १ करोड २७ लाख ३६ हजार डिस्चार्ज भएका छन् । विश्वमा दोस्रो बढी प्रभावित मुलुक भारतमा १ करोड ३ लाख ५७ हजार संक्रमित छन् भने त्यहाँ हालसम्म १ लाख ४९ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोनामुक्त हुनेको संख्या ९९ लाख ७५ हजार छ । तेस्रो बढी संक्रमित हुने राष्ट्र ब्राजिलमा कुल संक्रमितको संख्या ७७ लाख ५४ हजार पुगेको छ । ब्राजिलमा कोरोनामुक्त भई घर फर्किनेको संख्या ६८ लाख ७५ हजार जना छन् भने १ लाख ९६ हजारले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ओरालो लागे पनि जोखिम भने कायमै रहेको जनस्वास्थ्यविदहरुले बताएका छन् । कोरोना संक्रमित घटेसँगै सबै क्षेत्रहरु खुल्न थालिसकेका छन् । नेपालमा मंगलबारसम्म कुल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ भने २ लाख ५५ हजार ८८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाबाट १ हजार ८८५ जनाले भने ज्यान गुमाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु