गृहपृष्ठ सुर्खेतका ५९ विद्यालय समायोजन, थप विद्यालय मर्जको तयारीमा स्थानीय तह

सुर्खेतका ५९ विद्यालय समायोजन, थप विद्यालय मर्जको तयारीमा स्थानीय तह

सुर्खेतका स्थानीय तह विद्यालय मर्जमा जुटेका छन् । शिक्षा मन्त्रालयले २०७० सालमा विद्यालय समायोजन (मर्ज) का लागि तयार पारेको निर्देशिकाअनुसार स्थानीय तहहरु विद्यालय मर्जमा जुटेका हुन् ।

हालसम्म सुर्खेतमा ५९ वटा विद्यालय मर्ज भइसकेका छन् । सबैभन्दा बढी सिम्ता गाउँपालिका सुर्खेतले विद्यालय मर्जमा पहल गरेको देखिन्छ । सिम्तामा ३० वटा विद्यालय मर्ज भरी १३ वटा बनाइएको छ । सिम्ता ४ को कोइली प्रावि साउने र सिद्ध प्रावि पिल्क, भानु मावि बजेडिचौरमा मर्ज भएका हुन् ।

त्यस्तै माई भगवती प्रावि कोलडाँडा सिम्ता ८ को नेपाल राष्ट्रिय मावि डाँडाखालीमा, शिखर प्रावि सिम्ता ३ को नेपाल राष्ट्रिय मावि लापु आग्रीगाउँमा मर्ज भएको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार सिम्ता ५ को भैरव प्रावि बजेडाआली नेपाल राष्ट्रिय मावि बजेडाआलीमा मर्ज भएको हो ।

सिम्ता ९ को सूर्यज्योति प्रावि टमटेना सोही वडाको लक्ष्मी प्रावि पशुनाउला खानीखोलामा, वडा नम्बर ८ को सरस्वती प्रावि सोही वडाको निम्न मावि साहुखोलामा, वडा नम्बर ४ को दुर्गा प्रावि भोटमंग्रा सोही वडाको बागेश्वरी प्रावि सिमलगाउँमा मर्ज भएको छ ।

त्यस्तै सिम्ता ८ को नेपाल राष्ट्रिय प्रावि माल्पाचुनपानी सोही वडाको जनकल्याण प्रावि डाँडाखालीमा, १ नम्बर वडाको लालीगुराँस प्रावि पातिहाल्ना, मन्डेला प्रावि र बुद्ध प्रावि पोखरीकाँडा भगवती मावि गान्द्रा घोरेटामा मर्ज भएका छन् । सिम्ता २ को जीवन ज्योति मावि काफलकोट विश्वेश्वर प्रावि ओलीडेरामा, कालिका प्रावि घोरेरी सिम्ता ६ को नेपाल राष्ट्रिय प्रावि ठिग्नी राकममा, जनता प्रावि दुर्पाला सिम्ता २ कै प्रावि दुर्पालामा र लालिगुराँस प्रावि गैरी तथा सगरमाथा प्रावि सिम्ता १ कै नेपाल राष्ट्रिय प्रावि घोरेटामा मर्ज भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले विद्यार्थी थोरै भएका र भौगोलिक दूरी नजिक भएका विद्यालय मर्ज गर्न पहल गरिरहेको बताए । गाउँपालिकामा ६१ वटा सामुदायिक विद्यालय छन् ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिकामा १० वटा विद्यालय मर्ज भई सातवटा बनेको उपसचिव ललित सिंहले जानकारी दिए । उनका अनुसार नवजीवन प्रावि वीरेन्द्रनगर ११ झुप्राखोला, शिव मावि धुलियाबिटमा र वीरेन्द्रनगर १३ नेपाल राष्ट्रिय प्रावि राताडाँडा नेपाल राष्ट्रिय प्राविमा मर्ज भएका छन् । नवजीवन प्रावि र प्रावि राताडाँडा मर्ज भएर विद्यालयको मातहतमा रहे पनि अध्ययन अध्यापन भने पहिलेकै स्थानमा हुने गरेको छ ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिका ९ को सूर्योदय प्रावि सोही वडाको शिव मावि लाटिकोइलीमा, पुष्पवाटिका प्रावि वडा नम्बर १० सोही वडाको जनसेवा मावि घुस्रा र वडा नम्बर ९ को प्रावि सत्येकाँडा सोही वडाको नेपाल राष्ट्रिय आधारभूमि विद्यालय चाँदनीचोकमा मर्ज भएको सिंहले बताए । वीरेन्द्रनगर नगरपालिकामा ६२ वटा सामुदायिक विद्यालय र ८१ वटा संस्थागत विद्यालय छन् ।

त्यस्तै भेरीगंगा नगरपालिकामा आठवटा विद्यालय मर्ज भई चारवटा भएको शिक्षा शाखा प्रमुख धीरेन्द्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार भेरीगंगा नगरपालिका १३ को जनकल्याण प्रावि सोही वडाको लालीगुराँस मावि रामघाटमा र वडा नम्बर ११ को भगवती प्रावि महिला विकास सोही वडाको शिखर मावि रामघाटमा मर्ज भएका छन् । वडा नम्बर ११ कै भगवती प्रावि भीमपुर सोही वडाको चन्द्रोद्वय मावि काँशीपुरमा र भेरीगंगा नगरपालिका ८ को प्रावि कुइरे सोही वडाको नेपाल राष्ट्रिय माविमा मर्ज भएका छन् ।

शर्माले भेरीगंगा नगरपालिमा ५१ वटा सामुदायिक विद्यालय र दुईवटा मन्टेश्वरीसहित १६ वटा संस्थागत विद्यालय भएको जानकारी दिए । उनले भौगोलिक विकटताका कारण धेरै विद्यालय मर्ज गर्न नसकिएको बताए ।

चौकुने गाउँपालिकामा नेपाल राष्ट्रिय प्रावि चौकुने ६ मार्सीभावर सोही वडाको जीवनज्योति माविमा मर्ज भएको शिक्षा शाखा प्रमुख भानुभक्त घिमिरेले जानकारी दिए । उनका अनुसार मर्ज गर्नुपर्ने विद्यालय धेरै भए पनि भौगोलिक विकटता र विद्यालय स्वयंले पनि मर्ज गर्न नमानेका कारण काम अगाडि बढ्न सकेको छैन । चौकुने गाउँपालिकामा ४९ वटा सामुदायिक विद्यालय र चारवटा संस्थागत विद्यालय छन् ।

त्यस्तै बराहताल गाउँपालिकामा प्रावि रसा वडा नम्बर ५ को मावि बड्डीचौरमा मर्ज भएको शिक्षा शाखा प्रमुख डम्बरकुमारी रोकायले जानकारी दिइन् । उनका अनुसार बराहतालमा ५६ वटा सामुदायिक विद्यालय र चारवटा संस्थागत विद्यालय छन् । दरबन्दी मिलान गर्ने तयारी भए पनि विद्यालयको दूरी टाढा भएकाले समस्या भएको उनले बताइन् ।

गुर्भाकोट नगरपालिकामा नेपाल राष्ट्रिय प्रावि बेतेनी, नेपाल राष्ट्रिय आधारभूत मावि पण्डितकाल्नामा मर्ज भएको शिक्षा शाखा प्रमुख कर्णबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा प्रावि बेतेनीमा एक जना पनि विद्यार्थी भर्ना नभएकाले मर्ज गरिएको हो । गुर्भाकोटमा एउटा विद्यालयमा पाँच जनामात्रै अध्यापन गर्नुपर्ने अवस्था भए पनि भौगोलिक विकटताका कारण मर्ज गर्न सकिएको छैन । गुर्भाकोटमा ७४ वटा सामुदायिक विद्यालय र १३ वटा संस्थागत विद्यालय छन् ।

चिङगाड गाउँपालिका, पञ्चपुरी नगरपालिका र लेकबेँसी नगरपालिकामा भने हालसम्म कुनै पनि विद्यालय मर्ज भएका छैनन् । भौगोलिक विकटताकै कारण तीनवटा स्थानीय तहमा विद्यालय मर्ज गर्न नसकिएको सम्बन्धित तहका शिक्षा शाखा प्रमुखहरुले बताएका छन् ।

चिङगाडमा ४१ वटा सामुदायिक विद्यालय छन् भने संस्थागत विद्यालय नरहेको शिक्षा शाखा प्रमुख तुल्सी पुरीले जानकारी दिइन् । त्यस्तै पञ्चपुरीमा ५३ वटा सामुदायिक विद्यालय रहेको शिक्षा शाखा प्रमुख तुल्सी केसीले बताइन् भने लेकबेँसीमा ४६ वटा सामुदायिक विद्यालय र ९ वटा संस्थागत विद्यालय रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले जानकारी दिए ।

विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७० तथा स्थानीय तह आफैँले कार्यविधि तयार गरी विद्यालय समायोजन गर्दै आएका हुन् । निर्देशिकामा हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै विद्यार्थीको संख्या र दूरीको मापदण्ड तोकिएको छ ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु