गृहपृष्ठ एकै वर्षमा काँचुली फेरिएको भक्तपुर अस्पताल
एकै वर्षमा काँचुली फेरिएको भक्तपुर अस्पताल
स्थापनाको एक शताब्दी बितिसक्दा पनि सेवा दृष्टिले अत्यन्त पछाडि परेको भक्तपुर अस्पतालले बितेको एक वर्षमा काँचुली फेरेको छ । कोरोनाभाइरसको महामारीका बेला उत्कृष्ट सेवा दिन सफल यो अस्पताल बागमती प्रदेशको उत्कृष्ट अस्पतालमात्र बन्न सफल भएन स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा समेत उत्कृष्ट बन्न सफल भएको छ ।
स्वास्थ्य मन्त्रालयको न्यूनतम् सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने टोलीले अस्पतालको स्थलगत अध्ययन गरी दिएको अंकको आधारमा भक्तपुर अस्पतालले उत्कृष्ट अंक हासिल गरेको हो । उक्त मूल्यांकन टोलीले भक्तपुर अस्पतालले न्यूनतम् सेवा मापदण्डमा द्रुत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो ।
अस्पतालको स्थलगत अवलोकन र मूल्यांकनमा भक्तपुर अस्पतालले ८२ अंक प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन सापकोटाले बताए । गत वर्ष यस्तै मूल्यांकनमा भक्तपुर अस्पतालले आफ्नो खराब अवस्थाका कारण ३८ अंकमा चित्त बुझाउनुपरेको थियो ।
भक्तपुर अस्पताल कुनै बेला रिफरल अस्पतालको रूपमा परिचित थियो । यहाँको सेवाप्रति जनताको विश्वास हट्दै गएको थियो । उपचारका लागि दक्ष जनशक्तिको अभाव थियो । दरबन्दीअनुसारको चिकित्सक पाउन मुस्किल थियो । एक्स‑रे, ल्याबलगायतको सेवा नियमित थिएन तर अहिले अवस्था फेरिएको छ । अस्पतालले बितेको एक वर्षमा गरेको एकपछि अर्को सुधारका कार्यक्रमले अस्पतालको साख बढ्न थालेको छ । अस्पतालप्रति स्थानीयवासीको विश्वास बढ्न थालेको छ ।
प्रदेशस्तरीय भक्तपुर अस्पतालमा हाल १०२ शय्या छन् । तीमध्ये १० शय्या इमर्जेन्सी सेवामा छ भने बाँकी ९२ श्ययामध्ये कोरोना संक्रमितका लागि २०, प्रसूति सेवाका लागि २५, मेडिकल वार्डमा २१, सर्जिकल वार्डमा २० र आईसीयूमा ६ शय्या छन् । त्यस्तै यस अस्पतालमा तीनवटा भेन्टिलेटर सञ्चालनमा छन् ।
केही महिनापछि हाइकेयर युनिट (एचसीयू)को रूपमा ७५ शय्या सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिए । ‘एचसीयूका लागि आवश्यक सामग्रीका लागि बोलपत्र आह्वान गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,’ उनले भने ।
भक्तपुर अस्पतालले एक वर्षमा एक हजार ६६२ वटा शल्यक्रिया गर्न सफल भएको मेसु गौतमले बताए । ‘पहिलाजस्तै अलिकति क्रिटिकल भयो कि रिफर गर्ने सिस्टम पूर्णरूपमा बन्द गरिसक्यौँ । हामीसँग भएको इक्युपमेन्टले भ्याएसम्म सबै शल्यक्रिया यही गरिरहेका छौँ । एक/दुई वटा हामीले गर्न नसकेको मात्र रिफर गरी पठाएका छौँ,’ उनले भने ।
अस्पतालको सेवाले गति लिए पनि दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी अझै पाउन नसकेको मेसु गौमतले गुनासो गरे । दरबन्दीअनुसार नेपाल सरकारका १२९ जना स्वास्थ्यकर्मी अस्पतालमा हुनुपर्ने भए पनि हाल ५५ जना मात्र उपलब्ध भएको उनले बताए । ‘सरकारको दरबन्दीअनुसार अस्पतालमा १२९ हुनुपर्नेमा जम्मा नेपाल सरकारबाट ५५ जना उपलब्ध छन् । बाँकी सबै व्यवस्थापन समिति, नेपाल सरकारको करार र विभिन्न कार्यक्रममार्फत पूर्ति गरिरहेका छौँ,’ उनले भने ।
अस्पतालमा हाल १४५ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् । तीमध्ये नर्स र अनमी ४२, पारामेडिक आठ, पीसीआरसहित ल्याबमा १२, रेडियोग्राफर चार, विकास समितिका ५२, लेखा, प्रशासन, स्टोरमा एक एक जना, स्वास्थ्य बीमाका चार जना कार्यरत छन् ।
भक्तपुर अस्पतालमा हालै ल्याप्रोस्कोपी सर्जरीसमेत सुरु भएको छ । छिट्टै पार्किन्सोनिजम (बिर्सिने रोग)को उपचार थाल्ने प्रक्रिया अगाडि बढाएको मेसु गौतमले बताए । साथै, आँखाको शल्यक्रिया गर्ने सेवा विस्तार गर्न तिलगंगा अस्पतालमा कुराकानी भइरहेको जानकारी दिँदै उनले भने, ‘अपांगता भएका बच्चा नजन्मियोस् भन्ने परीक्षण गर्ने र सानासाना नानीका लागि छ शय्याको आईसीयू सञ्चालन गर्ने लक्ष्यका साथ अस्पताल परिवार अगाडि बढेको छ ।’
अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘शल्यक्रिया, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चस्मा जाँच, स्वास्थ्य बिमा सेवा, अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिरहेको छ,’ मेसु गौतमले भने ।
त्यसैगरी लैंगिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानुनी सेवासमेत दिने व्यवस्था गरेको मेसु डा. गौतमले जानकारी दिए । अस्पतालले पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ ।
अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपीडी (बहिरंग) सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याइएको हो । साथै खुट्टा, छाती, पेटलगायत विशेष अंगको भिडियो एक्स‑रे सेवा र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ ।
अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले अस्पतालमा अहिले सहकार्य र टिम वर्कको विकास भएकाले सुधार आएको बताए । उनले भने, ‘पहिला अस्पतालमा टिम वर्क हिसाबले काम गरौँ भन्दा मनमुटाव हुने अनेकौँ समस्या आउँथ्यो तर त्यो सबै हराए । सबै जना मिलेर काम गरेकाले अहिले काम गर्ने वातावरण एकदमै उत्साहजनक देखिएको छ ।’
कोरोनाले जुटाएको अवसर
विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसले हरेक क्षेत्रलाई असर गरे पनि स्वास्थ्य क्षेत्रमा भने अवसर पनि जुटाइदिएको छ । यसको एउटा प्रत्यक्ष उदाहरण भक्तपुर अस्पताल पनि बनेको छ । अस्पतालले कोरोना महामारीका बीच नै भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा ल्यायो ।
कोरोनाको जोखिमका कारण अन्य अस्पतालले नियमित सेवा बन्द गरेको अवस्थामा भक्तपुर अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सबै सेवालाई नियमित सञ्चालन ग‑यो । यसले सरकारी अस्पताल जनताको अस्पताल हो भन्ने सन्देश दिन सफल भएको अस्पतालका अर्का चिकित्सक डा. दीपक भण्डारीले बताए । उनले भने, ‘पहिला आईसीयू सञ्चालन गर्न नसकेको अस्पतालमा कोभिडको बेला आईसीयू सञ्चालन गरेर सबै सेवा यही उपलब्ध गरायौँ । अरुबेला रिफर गर्नुपर्ने केसहरु कुनै पनि रिफर गर्नु परेन । यसले गर्दा जनताको विश्वास जित्न सफल भयौँ ।’
भक्तपुर अस्पतालले स्थापनाको ११६ वर्षपछि गत असोज पहिलो सातादेखि आईसीयू सञ्चालनमा ल्याएको हो । सरकारले कोरोना ‘हब’ अस्पताल बनाएपछि भक्तपुर अस्पतालले वर्षौंदेखि थन्किएका सामान र आईसीयूका भेन्टिलेटरसहितका उपकरण र बागमती प्रदेश सरकारले पठाएको सामग्रीबाट पाँचवटा भेन्टिलेटर र ६ शय्याको आईसीयू सञ्चालनमा ल्याएको छ, तीमध्ये तीनवटा भेन्टिलेटरसहित चार शय्या कोरोना संक्रमितका लागि छुट्याइएको छ ।
मेसु गौतमले भने, ‘अस्पताललाई आईसूयू अतिआवश्यक भइसकेको थियो । अस्पतालको सिङ्गो समूह मिलेर आईसीयू ब्लक निर्माणदेखि अन्य सबै तयारी पूरा गरी करारमा नयाँ जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्यायौँ ।’
अस्पतालले सरसफाइ क्षेत्रमा पनि उल्लेख्य सुधार गरेको छ । कुनै बेला दुर्गन्धले भरिपूर्ण हुने यस अस्पतालमा अहिले फोहोरको उचित व्यवस्थापन हुँदै आएको छ । अस्पतालले बायोग्यास प्लान्ट स्थापना गरेको छ । प्लास्टिक र कागजजन्य फोहोरको व्यवस्थापनका लागि नगरपालिकासँग सम्झौता गरेको छ ।
अस्पतालको स्थापना राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट भएको हो । २०२८ मा ५० शय्याको जिल्लास्तरीय अस्पतालको रूपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ शय्याको प्रसूतिगृह थप गरी ७५ शय्या सञ्चालनमा आएको थियो । (रासस)
प्रकाशित समय ०८:५० बजे

















