गृहपृष्ठ नेपाली हिमालका विदेशी नाम र स्वीट्जरल्यान्डमा ‘गोर्खा चुली’
नेपाली हिमालका विदेशी नाम र स्वीट्जरल्यान्डमा ‘गोर्खा चुली’
हाम्रो देश नेपालका केही हिमालका नाम विदेशी भाषामा रहेका छन् । केही हिमालका नाम हिन्दू देवीदेवताका नाममा रहेका छन् । त्यस्तै केही हिमालका नाम प्रसिद्ध व्यक्ति, फूल आदिको नाममा पनि रहेका छन् । त्यसो त विदेशी भाषामा रहेका नेपाली हिमालका नामहरुका सन्दर्भमा भन्नु पर्दा धेरैजसो अंग्रेजी भाषामा रहेको देखिन्छ । अंग्रेजी भाषाबाहेक फ्रेन्च, जापानी, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि नेपाली हिमालका नामहरु रहेका छन् । नेपाली हिमालका अधिकांश स्थानीय र आदिवासी जनजातिका मातृभाषा रहेका हिमालका नामहरु नै अपभ्रंषित वा भनौं विस्थापित भएको देखिन्छ । जस्तो, समुन्द्र सतहदेखि नाप्दा हालसम्म विश्वकै अग्लो ‘सगरमाथा’ हिम शिखरकै उदाहरण लिऊँ । उक्त हिम शिखरलाई आदि-अनादि कालदेखि उक्त हिम शिखरको वरिपरि बस्दै आएका दक्षिणतर्फका मानिसहरु जस्तै कुलुङ लगायत अन्य किराती जातिहरु र शेर्पा, तामाङलगायत आदिवासीहरुले ‘चोमोलुङमा’ भनी पुकार्थे । तर, उत्तरतर्फ (तिब्बतीहरु पनि)का मानिसहरु पनि नेपाली भाषामा राखिएको ‘सगरमाथा’ नामलाई ‘चोमोलुङमा’ नै भन्छन् । जुन बेला आजको जस्तो सूचना र सञ्चारको जगजगी भएको जमाना थिएन । त्यसैले त्यो बेला ‘चोमोलुङमा’को नाम जति प्रचारप्रसार हुनुपर्ने थियो, त्यति भएन ।
माथि एक प्रसंगमा भनिएझैँ कुलुङ, शेर्पालगायत नेपालका आदिवासी जनजातिहरुले आफ्नो वरिपरि वा भनौं घर-आँगनमा रहेको हिमाल र स्थानहरुको नामका सम्बन्धमा खासै चासो लिएनन् । अनि केही दिन वा केही महिनाका लागि हिमालमा घुम्न र हिमाल हेर्न आएका, हिमालबारे खोज-अनुसन्धान गर्न आएका र, सके हिमाल चढ्न आएका नवआगन्तुक (विदेशी हरुले आफूले बुझ्ने (आफ्नै) भाषा र आफ्ना महत्वपूर्ण मान्छेहरुको नाममा नयाँ नाम राख्दा पनि स्थानीयवासीहरुले वास्ता गरेनन् । त्यसको परिणामस्वरुप आज आफ्नै वरिपरि रहेका र आफ्नै मातृभाषामा आदि-अनादि कालदेखि पुकार्दै आएको, आफ्नै आँखाअगाडि देखिने र महसुस गरिने महत्वपूर्ण र राष्ट्रिय सम्पदाहरु जस्तै हिमाल, डाँडापाखा, खोलानाला, वनजंगललगायत स्थानहरुको नाम अरुको भाषामा सुन्नु पर्ने विडम्बना रहेको छ । सुन्नु परेको र विडम्बना रहेको मात्रै होइन, त्यही पराई भाषाको नामलाई नै आफ्नो ठान्नुपर्ने वाध्यतात्मक अवस्था पनि स्थानीयवासीहरुमा आइपरेको छ । फलतः आजभोलि उत्पत्तिकालदेखि नै ‘चोमोलुङमा’ नाम रहेको हिमाललाई ‘सगरमाथा’ वा ‘एभरेस्ट’ नामले बढी चिनिने गरिन्छ ।
माथि नै भनियो कि, नेपाली हिमालका नामहरु अंग्रेजी भाषाबाहेक, फ्रेन्च, जापानी, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि रहेका छन् । यहाँ केही त्यस्ता उदाहरणहरु दिइएको छ । जस्तै नेपालको पूर्वी भेगमा रहेको कञ्चनजंघा क्षेत्रमा रहेको ‘किरात चुली’लाई आजभोलि ‘टेन्ट पिक’ भन्ने गरिन्छ । हुन त कञ्चनजंघा हिमाललाई पनि लिम्बुहरु आफ्नो मातृभाषामा ‘सेन्छेलुङ/सेवालुङ’ भन्छन् । त्यस्तै नेपाली भाषामा कुम्भकर्ण भनिने हिमाललाई लिम्बुहरु ‘फक्ताङलुङ’ भन्छन् । यो हिमाललाई लिम्बुलगायत किरातीहरुले आफ्नो आराध्यदेवको रुपमा पनि पुज्ने/मान्ने गर्छन् । तर, अधिकांश विदेशीहरुले भने उक्त हिमाललाई फक्ताङलुङ वा कुम्भकर्ण नामले भन्दा पनि ‘जान्नु हिमाल’ भनेर चिन्ने गरेका छन् । त्यस्तै मकालु हिमाललाई कुलुङ जातिले ‘सेसेलुङ’ भनी पुकार्छन् । सगरमाथा क्षेत्रमा पनि केही हिमालको नाम विदेशी भाषामा रहेका छन । जस्तो, आइल्यान्ड पिक, पिक- २९ आदि ।
उता लाङटाङ र अन्नपूर्ण क्षेत्रमा पनि नेपाली हिमालको विदेशी भाषामा नाम रहको हिमालहरु रहेको छ । जस्तै, गणेश हिमाल क्षेत्रमा पावेल/पाविल नाम दिइएको एक हिमाल छ भने लाङटाङमा एउटा हिमालको नाम जापानी पर्वतारोही मोरीमोतोको नाममा ‘मोरीमोतो’ राखिएको छ । अर्को हिमाल उर्कीमाको नाम स्काउटका जन्मदाता बेडेन पावेलको नाममा ‘बेडेल पावेल’ राखिएको छ । त्यस्तै अन्नपूर्ण हिमालमा टेन्ट पिक, फ्ल्युटेड पिक, डोम ब्लँ, फिसटेल, बराह शिखर, बुद्ध हिमाल आदि नामका हिमालहरु छन् । यसरी हेर्दा अंग्रेजी र फ्रेन्च भाषा तथा जापानी व्यक्ति र भाषा दुवैको नाम एवं नेपालकै विभूति तथा भगवान मानिएका गौतम बुद्ध र हिन्दू देवता बराहको नाममा पनि बराह शिखर नाम रहेको हिमाल छ, अन्नपूर्ण हिमश्रृंखलामा । यसरी हेर्दा मिश्रित रुपमा नामहरु रहेको देखिन्छ, अन्नपूर्ण हिमश्रृंखलामा रहेका हिमालका नामहरु । उता धौलागिरी हिमश्रृंखलामा पनि मानापाथी, पुतली, धाम्पुस, थापा पिक आदि मिश्रित नाम भएका हिमालहरु रहेका छन् भने मनाङ जिल्लास्थित (पेरी हिम श्रृंखला)मा ‘रत्नचुली’ नामको हिमाल छ । रत्नचुली स्वर्गीय रानी रत्नको नाममा नेपाल प्रहरीको टोलीले सर्वप्रथम आरोहण गर्न गएपछि राखेको नयाँ नाम हो ।
माथि केही नेपाली हिमालका विदेशी नामहरुका सम्बन्धमा छोटो जानकारी दिइयो । अब नेपाली जाति र नेपाली भाषामा रहेको एक विदेशी हिमालको पनि यहाँ एक चर्चा गरौं । किनभने, शीर्षकमै स्वीट्जरल्यान्डमा ‘गोर्खाचुली’ पनि जो राखिएको छ । हुन पनि पहिलो र दोस्रो विश्व युद्धमा बेलायती पक्षबाट लड्दा विभिन्न युद्ध मोर्चामा नेपालीहरुले खासगरी मगर, गुरुङ, लिम्बु, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ, बाहिङ, (यिनीहरुलाई हाल राई भन्ने गरिन्छ । तर, असलीयतमा राई जात वा जाति नभएर नेपालको भौगोलिक एकीकरणपछि किरात भूगोललाई फुटाएर वल्लो, माझ र पल्लो किरात/लिम्बुवान बनाइयो र स्थानीय प्रभावशाली व्यक्तिहरुलाई छोटे राजासरहको ‘मुखिया’, ‘राई’, ‘देवान’, ‘सुब्बा’ पगरी/पदवी दिइयो) लगायत किरातीहरुले देखाएको निडरता र बहादुरीले गर्दा विश्वभरि नै ‘नेपाली भन्नेबित्तिकै गोर्खाली र गोर्खाली भन्नेबित्तिकै नेपाली भन्ने पहिचान बन्यो । तर, अहिले आएर ‘गुर्खा’ वा ‘गोर्खा’ शब्दले मगर, गुरुङ, लिम्बु, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ, बाहिङ लगायत आदिवासी जनजातिहरुलाई मात्रै नभएर बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, नेवारलगायत समग्र नेपालीलाई नै चिन्ने गरिन्छ ।
जे होस्, सन् १९१४-१६ मा भएको पहिलो विश्व युद्धभन्दा २० वर्ष पछि र सन् १९४१-४५ मा भएको दोस्रो विश्व युद्धभन्दा लगभग ४४ वर्षपहिले नै अर्थात् सन् १८९४ मा नेपालका कुनै पनि हिमालबारे कुनै पनि विदेशीले खोज-अनुसन्धान नगर्दै/नचढ्दै नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले आल्पस पर्वतमालाको एक हजार माइल चाहारेर स्वीट्जरल्यान्डमा पर्ने एक चुली चढेका थिए । त्यसपछि सो चुलीको नयाँ नाम ‘गोर्खा चुली’ (Piz Gurkha) राखिएको थियो भनी स्वर्गीय डा. हर्क गुरुङले सर विलियम कनवेको ‘द आल्पस् फ्रम एन्ड टु एन्ड’लाई उद्घृत गर्दै ‘विषय विविध’ नामक किताबको पाना नं. ६२ मा लेखेका छन् । यसरी हेर्दा नेपाली जाति वा ट्रेडमार्क ‘गोर्खा’को नाममा पनि स्वीट्जरल्यान्डमा एक हिमालको नाम ‘गोर्खाचुली’ भएको/रहेको ज्ञात हुन्छ ।
यसरी स्वर्गीय डा. हर्कं गुरुङले झैं अध्ययन-अनुसन्धान गर्दै र खोज्दै जाने हो भने अरु नेपाली वीर-वीरंंगनाहरुका नाममा पनि नेपाल बाहेकका अन्य देशमा पनि उनीहरुको देशमा रहेको हिमालका नाम पनि नेपाली जाति/भाषामा राखेको नामहरु भेट्न सकिने सम्भावना रहेको छ ।
प्रकाशित समय १४:०६ बजे

















