गृहपृष्ठ ‘संविधान च्यातिन नदिन पनि प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प छैन’

‘संविधान च्यातिन नदिन पनि प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प छैन’

नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले संविधान च्यातिन नदिन पनि प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । शनिबार रुपन्देहीको मणिग्राममा नेकपा तिलोत्तमा नगर कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘सेटिङ’बाहेक अरुले प्रतिनिधि सभा पुनःस्थापनालाई रोक्न सक्दैन ।’

भुसालले के भने ?

प्रतिनिधि सभा विघटन असंवैधानिक र गलत छ भन्ने सामान्य खेलपढ गर्नसक्नेलाई पनि थाहा भइसकेको अवस्थामा पुनःस्थापनाको विकल्प छैन । संविधानलाई च्यातिन नदिन र देशलाई फेरि सही ट्रयाकमा ल्याउन प्रतिनिधि सभा पुनःस्थापनाको विकल्पै छैन । सेटिङबाहेक अरु कुनै तरिकाले पुनःस्थापना रोकिँदैन ।

प्रतिनिधि सभा पुनःस्थापना नभए देश अनिश्चयको डरलाग्दो भूमरीमा फस्ने खतरा छ । वैशाखमा चुनाव गर्छु र दुई तिहाई बहुमत ल्याउँछु भन्ने प्रधानमन्त्रीको कुरा हास्यास्पद छ । खासमा ओलीजीको उद्देश्य चुनाव गर्ने हुँदै होइन, संविधान भत्काउने हो ।

केपी ओली अदालतलाई धम्क्याएर प्रभावित पार्ने र जबर्जस्ती विघटनलाई वैधता दिलाउन लागिपर्नुभएको छ । त्यसलाई रोक्न आफूहरु र विपक्षी दलहरु आन्दोलनमा उत्रिनुपरेको हो । पद नपाएर नेताहरुले विवाद गरेको भनेर प्रधानमन्त्रीले लगाउने गरेको आरोप निराधार छ, गलत छ । ठूलादेखि पियनसम्म सबै पदमा आफ्नै गुटको मान्छेलाई मात्रै नियुक्ति दिने र सबै चिज आफ्नो नियन्त्रणमा राख्न चाहने प्रधानमन्त्री ओलीको तानाशाही सोच नै समस्या हो ।

हाम्रो आन्दोलन प्रतिनिधिसभा पुनःस्थापना हुन नदिने षड्यन्त्र र सेटिङविरुद्ध हो । संविधान रक्षाका लागि हो । देशलाई ट्रयाकमा ल्याउन हो । तर, उहाँहरुले पद नपाएर सडकमा गएको भनेर कुतर्क गरिहनुभएको छ । जसरी गणतन्त्रका लागि आन्दोलन हुँदा बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुभाथ्यो ।

प्रतिनिधि सभा पुनःस्थापना भए पार्टी एकता पनि जोगिन्छ । तर ओलीको ‘अपराध’बारे पार्टीमा समीक्षा हुन्छ । उहाँ सजायको भागिदार बन्नुपर्छ ।

प्रधानमन्त्री बन्नकै लागि मात्र ओली अहिलेको संविधान बनाउने पक्षमा उभिनुभएको थियो । उहाँ सुरुदेखि नै यो संविधानका अग्रगामी र समावेशी व्यवस्थाहरुप्रति बेखुसी हुनुहुन्थ्यो । त्यसकारण यो संविधान भाँड्न र भत्काउन चाहनहुन्थ्यो । संविधान नबनाई सुशील कोइरालाको सरकार नढल्ने देखेपछि आफू प्रधानमन्त्री बन्न संविधान जारी गर्ने अन्तिम समयमा मात्रै ओलीजी संविधान बनाउने पक्षमा उभिए जस्तो गर्नुभयो ।

ओली कहिल्यै पनि राष्ट्रवादी थिएनन् । महाकाली सन्धि हुनु अघिदेखि नेपालको नक्सा जारी गर्दासम्म ओली राष्ट्र हितको पक्षमा कहिल्यै उभिएको मलाई जानकारीमा छैन । नेपालको चुच्चे नक्सा निकाल्ने विषयमा पनि सुरुमा वामदेव गौतम र पछि सचिवालयका सदस्यले भनेपछि ओली तयार भएका हुन् ।

रामबहादुर थापा ‘बादल’ पापी पेट पाल्न ओलीको समूहमा लाग्नुभएको छ । एक महिनाअघि ओलीलाई सर्वसत्तावादी र साम्राज्यवादी अमेरिकाको गोटी बनेर एमसीसी थोपरेको भन्दै भाषण गर्ने बादलजी एक महिनापछि पापी पेट पाल्नका लागि सबै कुरा बिर्सेर उतै लाग्नुभो ।

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु