गृहपृष्ठ दाहाल-नेपाल पक्षद्वारा तीन दिने अल्टिमेटमसहित ओलीसँग स्पष्टीकरण माग
दाहाल-नेपाल पक्षद्वारा तीन दिने अल्टिमेटमसहित ओलीसँग स्पष्टीकरण माग
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टीकरण सोधेको छ । सो पक्षका सदस्यद्वय सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगे ओलीलाई कारवाही गर्नका लागि स्पष्टीकरण पत्र बुझाएका हुन् ।
दाहाल-नेपाल पक्षले एक पत्र लेख्दै आफ्नो गरिमामय पदको मर्यादालाई ख्याल नगरी संविधानबिपरीत संसद भंग गरेको र त्यसपछि पनि असंवैधानिक गतिविधि जारी राखेको भन्दै ओलीलाई स्पष्टीकरण सोधेको हो । संसद विघटन र त्यसपछि पनि अनुशासन उल्लंघनलाई निरन्तरता दिएकाले कारवाही किन नगर्ने भन्दै ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । दाहाल-नेपाल पक्षले ओलीलाई लेखेको स्पष्टीकरण पत्रमा उनले पार्टी अध्यक्षको गरिमामय पदमा रहँदा संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटनको कदम चालेर संविधान र लोकतन्त्रमाथि घात गरी देश र पार्टीमाथि गम्भीर आघात पुर्याएको ठहर गरिएको छ ।
‘हाम्रो पार्टी नेकपाको अन्तरिम विधानको धारा ५६ (क)को (१), (२), (३), (४) र (५) उल्लंघन गरी पार्टी अनुशासन उल्लंघन गरेकाले पुस ७ गते बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पार्टी विधानको धारा ५६ को उपधारा (१) अनुसार पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो,’ पत्रमा भनिएको छ ।

प्रकाशित समय १९:३३ बजे

















