गृहपृष्ठ नेप्से परिसूचक २३७४ अंकमाथि, २३ कम्पनीको मूल्यमा उछाल
नेप्से परिसूचक २३७४ अंकमाथि, २३ कम्पनीको मूल्यमा उछाल
सेयर बजार परसूचक नेप्सेले बिहीबार २३७४ अंक पार गरेको छ । २०९ कम्पनीको सेयर कारोबार हुँदा २३ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेपछि बजारले अर्को ऐतिहासिक उचाइ कायम गरेको हो ।
बैँक र म्युचुअल फन्ड समूह राताम्य बनेको बजारमा बाँकी सबै समूहमा हरियाली छाएपछि नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ अंकमा पुगेको छ । बुधबार २०९ कम्पनीको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता सेयर ७ अर्ब ७९ करोड ८५ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम बुधबारको भन्दा १ अर्ब ५८ करोड रुपैयाँ कम हो । बुधबार ६ अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
बिहीबार निर्जीवन बिमा सर्वाधिक ४.९४ प्रतिशतले बढेको छ । लघुवित्त ४ प्रतिशत, जलविद्युत ३.७७, वित्त २.८४ र जीवन बिमा २.७१ प्रतिशतले बढ्दा बाँकी उपसमूहको वृद्धि सामान्य छ । बैँक समूह ०.२२ प्रतिशत र म्युचुअल फन्ड समूह ०.४३ प्रतिशतले घटेको छ ।
सर्वाधिक मूल्य बढ्ने २३ कम्पनीमा १० वटा लघुवित्त कम्पनी छन् । सपोर्ट माइक्रोफाइनान्सको सर्वाधिक १० प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै स्वाभिमान लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, मिथिला सहयात्रा लघुवित्त, ग्रामीण विकास लघुवित्त, आशा लघुवित्त, गुराँस लघुवित्त, सूर्योदय लघुवित्त, इन्फिनिटी लघुवित्त, युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल), सारथी नेपाल लघुवित्त, युनाइटेड हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, अरुण काबेली पावर, गुराँस फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैँक, नेपाल फाइनान्स, माउन्टेन इनर्जी, श्री इन्भेस्टमेन्ट फाइनान्स, सबैको लघुवित्त, हिमालय ऊर्जा, कर्णाली डेभलपमेन्ट बैँक र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ५३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रकाशित समय १५:२५ बजे

















