गृहपृष्ठ विदेशमा थप नौ जना नेपालीको कोरोनाबाट निधन
विदेशमा थप नौ जना नेपालीको कोरोनाबाट निधन
कोरोनाभाइरस (कोभिड- १९)को संक्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको संख्या ३२७ पुगेको प्रेस संयोजक, कोभिड- १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका संयोजक चिरन शर्माले जानकारी दिए । संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५३ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ९९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६९ हजार १८० जना छन् भने दुई लाख ६३ हजार ७३४ जना अर्थात् ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।
एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली संक्रमित हुने गरेको स्वास्थ्य समितिका संयोजक सापकोटाले जानकारी दिए ।
सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार संक्रमणमुक्त हुने आँकलन गरिएको डा. सापकोटाले बताए । स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसके पनि नेपाल लगायतका नेपाली भएका कैयौँ मुलुकमा खोप अभियान सुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रकाशित समय १३:४६ बजे

















