गृहपृष्ठ कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विशेष छुट
कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विशेष छुट
कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेस्टुरेन्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ । रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था गरिएको जानकारी दिएका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)का एक करोड बासिन्दामध्ये करिब २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् । धेरै जनालाई खोप लगाएका मुलुकमध्ये इजरायलपछि यूएई हो ।
रेस्टुरेन्ट व्यवसायीहरुले पहिलो खोप लगाएकालाई १० प्रतिशत र दोस्रो खोप लगाएकालाई २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । छुट सुविधा उपभोग गर्नका लागि खोप लगाएको आधिकारिक प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
रेस्टुरेन्ट व्यवसायीहरूको यस अभियानलाई धेरैले सकारात्मक रुपमा लिएका छन् भने सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ । यूएईको दुबईसहित सातै प्रान्तमा कोरोनाविरुद्धको खोप लगाउने अभियान डिसेम्बरदेखि नै चलिरहेको छ ।
यूएईमा चीनमा विकास गरिएको सिनो फार्म र अमेरिकी र जर्मनी साझेदारले विकास गरेको फाइजर खोप लगाइएको छ । सिनो फार्म खोप अहिले पनि निःशुल्क उपलब्ध गराइएको अधिकारीहरुले बताएका छन् ।
यूएईमा आइतबार तीन हजार ५७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै यूएईमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ७७ हजार नाघेको छ । यूएइमा कोरोनाभाइरस संक्रमणबाट ७९२ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय ०७:०१ बजे

















