गृहपृष्ठ २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर
२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर
नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रिडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्ड र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिनेछ ।
परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर छ । लगानी बोर्ड कार्यालयमा भएको समझदारीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ क्वाङले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र डीपीआर रिपोर्ट तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनुपर्नेछ । २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४औं बैठकले उक्त कम्पनीलाई डीपीआर रिपोर्ट तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।
प्रकाशित समय १६:४७ बजे

















