गृहपृष्ठ चिनी मिल सञ्चालक राकेश अग्रवाल पक्राउ, ८ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी

चिनी मिल सञ्चालक राकेश अग्रवाल पक्राउ, ८ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी

उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई सर्लाही पठाइएको छ ।

एसएसपी कुँवरका अनुसार सर्लाहीका उखु किसानले १७ करोड दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौँमा पक्राउ गरेर जिल्ला पठाइएको हो । अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई आठ करोड रूपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको चार करोड ७० लाख गरी दुई चिनी मिलले २१ करोड ७० लाख बक्यौता रकम रहेको थियो । उक्त रकममध्येमा मंगलबार साँझसम्म अन्नपूर्णले १२ करोड ६३ लाख ७२ हजार र इन्दिराले ८३ लाख गरी रु १३ करोड ४६ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ ।

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मंसिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन सुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । उक्त सहमतिअनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगले अझै उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् । यसअघि प्रहरीले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरेको थियो । (रासस)

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु