गृहपृष्ठ प्रदेश २ मा २२७३ जनालाई लगाइयो कोरोनाविरुद्धको खोप

प्रदेश २ मा २२७३ जनालाई लगाइयो कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्ध खोप दिने अभियानअन्तर्गत प्रदेश २ मा दुई दिनमा दुई हजार २७३ जनालाई खोप दिइएको छ । प्रदेश २ मा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोपको सुरुवात गरेको हो । अभियानको पहिलो दिन माघ १४ गते प्रदेश २ मा ७३३ जनालाई खोप लगाइएको छ भने दोस्रो एक हजार ५४० जनालाई खोप दिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले बताए ।

माघ १४ र १५ गते धनुषामा ४९०, महोत्तरीमा २६१, सर्लाहीमा २४०, रौतहटमा १२१, बारामा १९०, पर्सामा २३१, सिरहामा ३२०, सप्तरीमा २९६ गरी २ हजार २७३ जनालाई खोप लगाइएको निर्देशनालयका निर्देशक झाले बताए । उनका अनुसार खोप लगाउनलाई प्रादेशिक अस्पताल जनकपुर, नारायणी उप–क्षेत्रीय अस्पताल वीरगञ्ज, कलैया अस्पताल, गौर अस्पताल, मलंगवा अस्पताल, जलेश्वर अस्पताल, सप्तरीका गजेन्द्रनारायण सिंह अस्पताल, प्रादेशिक प्रहरी अस्पताल र सिरहा अस्पतालमा बुथ राखि कोरोना विरुद्धको खोप लगाइएको निर्देशक झाले बताए ।

संघीय सरकारले प्रदेश सरकारलाई उपलब्ध गराएको ३४ हजार डोज एक सप्ताहमा लगाउने झाले बताए । प्रदेश २ मा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक र शव व्यवस्थापनमा खटिनेहरुलाई कोरोना विरुद्धको खोप लगाइने छ । पहिलो चरणको लागि प्रदेश २ का ३४ हजार ८०४ डोज कोरोना भ्याक्सिन प्राप्त भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक झाले बताए ।

कोभिड–१९ विरुद्धको खोप अभियानको सुरुवात प्रदेश नं २ मा माघ १५ गते ८ वटै जिल्लामा एकैसाथ सुरुवात गरिएको छ । पर्सामा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, बारामा कलैया अस्पताल, रौतहटको गौर अस्पताल, सर्लाहीको मलंगवा अस्पताल, महोत्तरीको जलेश्वर अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल, सिराहा अस्पताल, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी प्रादेशिक अस्पतालमा गरी ९ वटा अस्पतालमा खोप अभियान सुरु गरिएको हो ।

संघीय सरकारले प्रदेश २ मा ३४ हजार ८०४ थान खोप पठाएको छ । पर्सामा ४ हजार ९७१, बारामा २ हजार ३९५, रौतहटमा तीन हजार ६०९, सर्लाहीमा ४ हजार ७७२, महोत्तरीमा २ हजार १९१, धनुषामा ९ हजार १८२, सिराहामा ३ हजार ९३० र सप्तरीमा ३ हजार ७७५ थान खोप पठाइएको खोप अभियानका प्रदेश २ संयोजक डा. मदन उपाध्यायले जानकारी दिए ।

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु