गृहपृष्ठ कोरोनामुक्त बन्यो कर्णालीका सात जिल्ला
कोरोनामुक्त बन्यो कर्णालीका सात जिल्ला
कर्णाली प्रदेशका सात जिल्लामा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण शुन्य रहेको छ । प्रदेशका दश जिल्लामध्ये जाजरकोट, रुकुमपश्चिम, जुम्ला, मुगु, कालिकोट, हुम्ला र डोल्पा कोरोनामुक्त बनेको हो । तीनवटा जिल्ला सुर्खेत, दैलेख र सल्यानमा भने कोरोना भाइरसका सक्रिय संक्रमितहरु रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार सुर्खेतमा २०, दैलेखमा तीन र सल्यानमा १९ गरी प्रदेशकामा अहिले ४२ जना संक्रमित रहेका छन् । शनिबार प्रदेशभर थप दुईजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी-पीसीआर परीक्षणमा एकजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या ७ हजार ५ सय १३ जना पुगेको कँडेलले बताए ।
शनिबार नै प्रदेशका विभिन्न अस्पतालहरुमा रहेका आइसोलेसन तथा होम आइसोलेसनबाट थप सात जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेहरुको संख्या ७ हजार २ सय ९० रहेको छ । हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमणका कारण २९ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय १८:१८ बजे

















