गृहपृष्ठ हिन्द र प्रशान्त महासागरमा नेपालको पानी जहाज, भारतसँग छलफल सुरु

हिन्द र प्रशान्त महासागरमा नेपालको पानी जहाज, भारतसँग छलफल सुरु

Nepali Jahaj-newskarobar

समृद्धिनेपालमा जल यातायात सञ्चालनको सम्भावनाबारे नेपाल र भारतबीच सोमबार पनि छलफल हुँदैछ । जलयातायात सञ्चालनको सम्भावनाबारे कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि राजधानीमा सुरु भएको सहसचिवस्तरीय छलफलले सोमबार पनि निरन्तरता पाउने भएको हो । बैठक सोमबार नै समापन हुनेछ । जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासेका अनुसार नेपालमा पानीजहाज र नदीमा जलमार्ग सञ्चालनको सम्भावनाबारे सोमबार छलफल हुने छ । जलमार्ग सञ्चालनबारे नेपाल र भारतबीचको यो पहिलो बैठक होे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपालमा जल यातायात सञ्चालनको कामलाई अगाडि बढाउने गरी नेपाल र भारतबीच सहमति भएको थियो । सहमतिलाई कार्यान्वयनमा ल्याउन द्विपक्षीय छलफल सुरु भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको बेला हिन्द महासागरबाट नेपालमा पानी जाहज सञ्चालन गर्ने विषयमा दुई मुलुकबीच सहमति भएको थियो ।

छलफल सकरात्मक रहेको बताउँदै बेल्बासेले अहिलेसम्मको छलफल र अध्ययनबाट नेपालका नदीमा पानी जहाज सञ्चालन सम्भव देखाएको जानकारी दिए । ‘अहिलेसम्मको अध्ययनबाट नारायणी नदीमा पानी जहाज सञ्चालनको सम्भावना सबभन्दा बढी देखिएको छ,’ उनले भने, ‘जहाज सञ्चालनको लागि न्यूनतम दुई मिटर पानीको सतह हुनुपर्ने कुरा छ ।’

कोशी, गण्डकी र नारायणी नदीमा जल यातायात सञ्चालनको सम्भावनाबारे द्विपक्षीय छलफल सुरु गरिएको जानकारी दिँदै सहसचिव बेल्बासेले अहिलेसम्मको अध्ययनमा पानी जहाज सञ्चालनका लागि न्यूनतम जलस्तर देखिएको बताए ।

‘प्राविधिक रूपले नेपालमा पानी जहाज सञ्चालनको सम्भावना छ ।’ उनले थपे, ‘तर, आर्थिक रुपमा सम्भव छ÷छैन त्यो अध्ययन गर्न बाँकी नै छ ।’ नेपालमा जल यातायात सञ्चालनका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता भारतीय पक्षले दिएको जानकारी पनि उनले दिए ।
छलफलमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र जल तथा उर्जा आयोगका प्रतिनिधिको सहभागिता छ भने भारतको तर्फबाट ‘इन्ल्याण्ड वाटर–वे अथोरेटि अफ इण्डिया’ का उपाध्यक्ष प्रवीर पाण्डेको सहभागिता छ ।

छलफलमा नेपालका लागि भारतीय राजदूताबासका तीन जना कर्मचारीसहित भारतीय पक्षबाट सातजना सहभागी छन् । नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासे र भारतका जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डेले छलफलको नेतृत्व गरेका छन् ।
नेपालमा पानी जहाज सञ्चालनको सम्भावनाबारे अध्ययन गर्न जल तथा उर्जा आयोगका सहसचिव बेल्वासेको अध्यक्षतामा जल यातायात सम्भावना अध्ययन समिति गठन गरिएको छ । समितिले भारत पटनाको कालुघाट र हल्दियामा आइपुगेको पानी जहाजलाई नेपाली भूमिमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछ ।

दुई वर्ष अघि प्रधानमन्त्री ओलीकै नेतृत्वको सरकारले ल्याएको वजेटमा हिन्द र प्रशान्त महासागरमा पानी जहाज सञ्चालनका लागि आवश्यक कानूनी तथा संस्थागत तयारी गर्ने उल्लेख थियो । यसअघि २०२८ सालमा तत्कालीन सरकारले पानीजहाज किन्न तथा सञ्चालनका लागि ‘रोयल नेपाल सिपिङ कर्पोरेसन’ नामक संस्था खडा गरी प्रक्रिया अगाडि बढाएको थियो । नेपालजस्तै भूपरिवेष्ठित मुलुक मङ्गोलियासँग अहिले २६५ वटा पानीजहाज छन् ।

प्रकाशित समय ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु