गृहपृष्ठ कान्छा मेयरको प्राथमिकतामा विकास
कान्छा मेयरको प्राथमिकतामा विकास
धनुषास्थित सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादव नेपालकै कान्छा मेयरका रुपमा चर्चित छन् । पारिवारिक राजनीतिक पृष्ठभूमिका उनी आफ्ना निर्णयका कारण बेला बेलामा चर्चामा आइरहन्छन् । मेयरको रुपमा निर्वाचित भएपछि सुविधा भन्दा विकासलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।
निर्वाचित भएपछि नगर प्रमुखहरुले सुविधाका लागि विलासी गाडी किन्न थाले पनि यादव भने आफ्नो प्राथमिकतामा सुविधा नभई विकास भएको बताउँछन् । उनी पहिले जनताका अति आवश्यक कुराहरुको परिपूर्ति गरेपछि आवश्यकताअनुसार सुविधा लिने बताउँछन् । ‘नगरभित्र अनुगमन गर्न, जनताको घरदैलोमा पुग्न सवारी साधन पनि आवश्यक नै हो,’ प्रमुख यादव भन्छन्, ‘तर, त्यो भन्दा ठूलो जनताका अति आवश्यक कुराहरुको परिपूर्ति हो । त्यसको परिपूर्ति भएपछि मात्र आफ्नो लागि सवारीसाधन किन्नु जायज ठान्छु ।’
सहिदनगर नगरपालिकालाई तीव्र विकासका साथ अगाडि बढाउने उनको सोच छ । ‘म त यो नगरपालिकालाई नम्बर १ नगरपालिका बनाउन चाहान्छु, सोही अनुरुप लागिरहेको पनि छु,’ यादव भन्छन्, ‘तर यससँगै जोडिएर अरु धेरै विषय पनि आउँछन् । त्यसैले तत्कालै अपेक्षित परिणाम नआए पनि आफ्नो कार्यलाई निरन्तरता दिइरहँदा एक दिन अवश्य सफल हुनेमा विश्वस्त छु ।’
यादवले नगरपालिकामा कृषिको आधुनिकीकरणको सुरुवात गरेको बताए । कृषिको विकासका लागि कृषक लक्षित ‘प्याकेज’ ल्याएको उनको भनाई छ । नगरपालिकाका विभिन्न वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको समेत उनले बताए । आफ्नो कार्यकालमा जनताले महशुस गर्नेगरी परिवर्तन ल्याउने चाहना रहेको उनले सुनाए ।
प्रकाशित समय १४:१२ बजे

















