गृहपृष्ठ सिँचाइ हाम्रो मुख्य प्राथमिकता हो : गाउँपालिका अध्यक्ष राउत
सिँचाइ हाम्रो मुख्य प्राथमिकता हो : गाउँपालिका अध्यक्ष राउत
बटेश्वर गाउँपालिका धनुषा जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको कूल क्षेत्रफल ३१.६६ वर्ग किलोमिटर र जनसंख्या २१,५३० छ । लक्ष्मी निवास, भूचक्रपुर, बटेश्वर र शान्तिपुर गाविस समायोजन गरि गठन गरिएको गाउँपालिकामा पाँच वटा वडाहरु रहेका छन् । गाउँपालिकाले हालै बजेटसमेत ल्याइसकेको छ । बजेटले गाउँपालिकाको विकासलाई कसरी अघि बढाएको छ ? योजना तथा नीतिहरु के के छन् ? गाउँपालिकाको समृद्धिको मार्गचित्र के के हुनसक्छ ? सुशासन कायम गर्ने योजना कस्ता छन् ? यीनै विषयमा केन्द्रित रही बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतसँग न्युज कारोबारले गरेको कुराकानी :
बजेट ल्याउनुभयो मुख्य प्राथमिकता के रहेको छ ?
हाम्रो पहिलो प्राथमिकता सिँचाई हो । बटेश्वरमा किसानहरुको संख्या बढी भएकाले कृषिको उत्थान र विकासका लागि सिँचाईलाई हामीले मुख्य प्राथमिकता तोकेका हौं । जबसम्म सिँचाईको व्यवस्था गर्न सकिन्न तबसम्म कृषि उत्पादन र उत्पादकत्व बढाउँन सकिदैन । त्यसैले हामीले सिँचाईलाई मुख्य प्राथमिकता दिएका छौं । त्यसका लागि डिप बोरिङलाई अगाडि बढाउने भनेका छौं । यसका माध्यमबाट सिंचाईको प्रबन्ध गर्दै कृषिको विकास गर्ने हाम्रो लक्ष्य हो ।
पूर्वाधार विकासलाई कसरी अघि बढाउँने सोचमा हुनुहुन्छ ?
सिँचाईलाई मुख्य प्राथमिकता दिएका छौं । यसको अर्थ जनता र गाउँपालिकाको अन्य क्षेत्रमा आवश्यकता छैन भन्ने होइन । पूर्वधार विकास पनि प्राथमिकता नै हो । तर मुख्यतः कृषिमा आश्रित जनसंख्या बढी भएकाले हामीले त्यसैलाई प्राथमिकता दिएका हौं । पूर्वाधारकको विकास पनि हाम्रो प्राथमिकता नै हो । पूर्वाधारमा बस्तीमा नालाको निर्माण, सडक ढलान, गाउँपालिका भवन, अस्पताल, विद्यालय भवन निर्माण जस्ता भौतिक पूर्वाधार विकासलाई पनि हामीले बजेट छुट्याएका छौं ।
सिँचाई, सडक, शिक्षा, स्वास्थ्य, शिक्षा र सरसफाई मेरा पाँचवटा भिजनहरु हुन् । यीनै क्षेत्रको विकासका लागि मेरो प्रयत्न रहनेछ । यी पाँचवटा ‘स’को विकासमार्फत गाउँपालिकालाई आर्थिक वृद्धि र आर्थिक विकासको मार्गमा लैजान सकिन्छ भन्ने विश्वास छ ।
आर्थिक विकासका लागि चाँही के गर्दै हुनुहुन्छ ?
वास्तवमा म पाँच‘स’को भिजनका साथ निर्वाचित भएको हुँ । सिँचाई, सडक, शिक्षा, स्वास्थ्य, शिक्षा र सरसफाई मेरा पाँचवटा भिजनहरु हुन् । यीनै क्षेत्रको विकासका लागि मेरो प्रयत्न रहनेछ । यी पाँचवटा ‘स’को विकासमार्फत गाउँपालिकालाई आर्थिक वृद्धि र आर्थिक विकासको मार्गमा लैजान सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
अघिल्लो वर्ष तराई मधेसमा बाढी र डुवानको समस्या देखियो । यी र यस्ताखाले विपद्बाट बच्नका लागि के के पूर्वतयारी गर्नुभएको छ ?
विपद् व्यवस्थापनका लागि हामीले २५ लाख रुपैयाँ बजेट छुट्याएका छौं । विपदमा पनि खासगरी बाढीका कुराहरु छन् । नदी कटानका समस्याहरु पनि छन् । यी कुराहरु गाउँसभामा राखेर जानकारी गराइएको छ । विपद् पूर्वतयारीका क्षेत्रमा हामीले केही गर्ने प्रयास गरेका छौं । तर यो पर्याप्तहो भन्न सक्ने अवस्था छैन । निश्चित रुपमा हाम्रा पनि केही सीमाहरु छन् । उक्त सीमाभित्र रहेर काम गर्नुपर्ने भएकाले सजिलो छैन । तर, विपदको पूर्वतयारीलाई महत्व दिँदै एउटा गाउँपालिकाले २५ लाख रुपैयाँ छुट्याएको छ । यो पनि हाम्रो सामथ्र्यका दृष्टिले कम होइन । तर, अझ धेरै हुनुपथ्र्याे भन्ने कुरामा असहमति राखीरहनुपर्ने जरुरी छैन ।
नेपालमा सुशासनको अभावमा विकास र समृद्धि प्रभावित बन्दै आएको छ । गाउँपालिकाभित्र सुशासन कायम गराउँने तपाईंका योजनाहरु के के छन् ?
हो, वास्तवमा विगतमा पनि र अहिले पनि सुशासन जनताको अपेक्षाको विषय हो । तोकिएभन्दा धेरै पैसा लिने, जति रकम लियो उतिको भर्पाई नदिने, घुस नखाई काम नगर्ने, सेवाग्राहीलाई झन्झटमाथि झन्झट दिएर आफ्नो निहित स्वार्थ पूर्ति गर्न खोज्ने प्रवृत्तिको पूर्ण रुपमा अन्त्य भइसकेको छैन । हामी त्यसलाई हटाउन अग्रसर भएर लागीपरेका छौं । त्यसका लागि रसिद काट्ने जस्ता कार्य कम्प्युटराइज्ड प्रणालीबाट गर्ने, जन्मदर्ता मृत्युदर्ता जस्ता कार्य पनि कम्प्युटराइज्ड प्रणालीबाटै गर्न सुरु गरिएको छ । कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित नहुने, त्यस्तै शिक्षकहरु विद्यालयमा नआउँने, आए पनि हाजिर गरेर फर्कने जस्ता समस्या निराकरणका लागि थम्पिङको व्यवस्था गरेका छौं । ५ वटै वडामा कम्प्युटराइज्ड बिलिङ सिस्टमको विकास गरिसकेका छौं ।
सुशासनको कुरा अन्तरसम्बन्धित विषय रहेछ । कतिपय इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित, कतिपय आर्थिक विषयसँग सम्बन्धित हुने हुनाले सुशासन स्थापनाका लागि सबै क्षेत्रसँग समन्वय गरेर अघि बढ्दैछौं । जस्तो इन्जिनियरले एउटा इस्टमेट गरिदिने, त्यो वास्तविक लाग्ने रकमभन्दा बढी हुने तर इन्जिनियरले इस्टमेट तयार पारिदिएपछि कानुनसम्मत हुने स्थिति छ । ६० रुपैयाँ लाग्ने ठाउँमा पनि इन्जिनियरले १०० रुपैयाँ लाग्छ भनेपछि त्यो विधिसम्मत हुने अहिलेको स्थिति छ । त्यसैले सुशासन स्थापनाका लागि व्यवस्थित ढंगले अगाडि नबढेसम्म परिणाम नदेखिने भएकाले हामी त्यसका लागि व्यवस्थित ढंगले लाग्दैछौं ।
निर्वाचित भएर आउनु भएको १ वर्ष पुग्नै लाग्यो, यो अवधिमा के के गर्नुभयो ?
यो अवधिमा हामीले कर्मचारी अभवाको समस्या झेल्यौं । पछिल्लो समय कर्मचारी पाएका छौं । यति हुँदाहुँदै पनि बस्तीहरुमा नालाको व्यवस्था गर्ने कार्यमा केही सफलता पाएका छौं । शिक्षाको क्षेत्रमा अस्तव्यस्त रहेका १६ वटै विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरी अघि बढेका छौं । विद्यालय भर्ना अभियान सञ्चालन गर्याैं । शैक्षिक गुणस्तर बढाउन निरन्तर प्रयत्नशील छौं ।
५ वर्षका लागि जनताद्वारा निर्वाचित हुनुभएको छ, यो पाँचवर्षमा बटेश्वरलाई कहाँ पुर्याउने लक्ष्य छ ?
पाँच वर्षमा ८० प्रतिशत कृषियोग्य भूमिमा सिँचाई सुविधा पुर्याउँछु । सिँचाईको अभावले कृषकहरु छटपटाउनुपर्ने अवस्थाको अन्त्यगर्ने मेरो लक्ष्य छ । स्वास्थ्यको कुरा गर्दा मेरो कार्यकालमा प्रशुति केन्द्र र सर्पदंशउपचार सेवा सुरु गर्नेछु । हेल्थपोस्टहरुलाई स्तरीय बनाउँछु, जहाँ भवनहरु छैनन् भवन बनाउँछु । शैक्षिक गुणस्तर बढाइनेछ, विद्यालय भवनहरुको निर्माण कार्य सम्पन्न गरिनेछ । अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने कार्यको थालनी गरेका छौं । त्यसको थप विकास गरी बालबालिकाको प्रतिश्पर्धी क्षमता विकास गरिनेछ ।
प्रकाशित समय १२:१० बजे

















