गृहपृष्ठ डा. केसीको अनसन तोडाउन छलफलमा जुट्यो सरकार
डा. केसीको अनसन तोडाउन छलफलमा जुट्यो सरकार
२५ दिनदेखि आमरण अनसनमा बसेका शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीको अनसन तोडाउन सरकार छलफलमा जुटेको छ । डा. केसीको अनसन लम्बिँदै जाँदा उनको जीवन रक्षा गर्न सरकारमाथि चौतर्फि दबाव पर्दै आएको थियो ।
मंगलबार प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. केसीको अनसन तोडाउने बारेमा छलफल गर्ने भएका छन् । त्यसका लागि उनीहरुले माथेमा कार्यदलका प्रमुख केदारभक्त माथेमासँग छलफल गर्ने भएका हुन् ।
मंगलबार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री निवासमा माथेमासँग प्रधानमन्त्री ओली र प्रचण्डले छलफल गर्न लागेको स्रोतले जानकारी दियो । माथेमाको संयोजकत्वमा चिकित्सा शिक्षा सुधारका लागि सरकारलाई सुझाव दिन कार्यदल गठन गरिएको थियो । डा. केसी सोही कार्यदलले दिएको सुझाव कार्यान्वयन गराउँउन भन्दै २५ दिनदेखि आमरण अनसनमा छन् । डा. केसीको स्वास्थ्यस्थिति खस्कँदै गएको उनका सहयोगीहरुले बताएका छन् ।
प्रकाशित समय १३:५० बजे

















