गृहपृष्ठ तीनपांग्रेमाथिको प्रतिबन्धले भरतपुर तनावग्रस्त, यसरी भयो झडप
तीनपांग्रेमाथिको प्रतिबन्धले भरतपुर तनावग्रस्त, यसरी भयो झडप
प्रहरी चाैकी अाक्रमण गर्न अाएका प्रदर्शनकारीलार्इ तितरवितर पार्न हवार्इ फायर : प्रहरी
चितवनको भरतपुरमा विद्युतीय रिक्सा चालक र प्रहरीबीच ढुंगा हानाहान भएको छ । तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि रिक्सा चालकहरु आन्दोलित बनेका हुन् । पारस बसपार्कमा भेला भएका करिब तीन सय रिक्सा सञ्चालकले सवारी अवागमन अवरुद्ध पारेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो ।
त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । उनका अनुसार प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडिको चौकीमा आक्रमणको प्रयास गरेका थिए ।
त्यसक्रममा प्रहरी चौकी अगाडि रहेको एउटा मोटरसाइकलमा उनीहरुले आगजनी गरेका छन् । त्यसपछि पुनः उनीहरु सिडिओ कार्यालयतिर अघि बढेपछि प्रदर्शनकारीविरूद्ध प्रहरीले सय राउन्डभन्दा बढी अश्रु ग्याँस प्रहार गरेको छ । एसपी राठोरका अनुसार प्रदर्शनकारीलाई तितरवितर पार्न १० राउन्ड हवार्इ फायर पनि गरिएको छ । झडपका क्रममा केही प्रदर्शनकारी र दुईजना प्रहरी घाइते भएका छन् ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाएको थियो । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, ट्रेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित समय १४:४० बजे

















